Khadya Bibhag

एमाओवादीले गरे भारतको बारेमा यस्तो निर्णय (जस्ताको त्यस्तै)

 यो बैठक दशकौं पछिको अथक संघर्षको परिणामका रुपमा नेपाली जनताले संविधानसभाबाट संविधान घोषणा गरेपछि हाम्रो छिमेकी मित्र राष्ट्र भारतको यस सम्बन्धी दृष्टिकोण, प्रतिक्रिया र भूमिकालाई अनपेक्षित एवं अस्वाभाविक मान्दै त्यस प्रति दुःख प्रकट गर्दछ ।
संविधानमा हाम्रो पार्टीका कतिपय विषयहरुमा मतभेदहरु छन् र त्यसलाई संविधानसभामा दर्ज पनि गरेका छौं । आन्दोलनकारी शक्तिहरु र उत्पीडित जनता तथा वर्गका जायज मुद्दाहरु वार्ता, सहमति र राजनैतिक सम्बोधनको माध्यमबाट समाधान गर्नुपर्दछ भन्ने पक्षमा हामी गम्भीर छौं । त्यसका निम्ति सक्रिय पहल पनि गरिरहेका छौं ।
तर यो हाम्रो देशको आन्तरिक मामिला हो र कमीकमजोरीहरु सच्याउने  जिम्मेवारी पनि हामी नेपालीहरु कै हो । छिमेकी मित्र राष्ट्रबाट यसमा दखल दिई, हस्तक्षेप गर्ने, जटिलता थप गर्ने कार्यको अपेक्षा असल सम्बन्ध चाहने छिमेकी मित्रले गर्न सक्दैन ।
हामीले पनि त्यस प्रकारको भूमिकाको अपेक्षा नगर्नु स्वाभाविक थियो । तर केही समय यता छिमेकी मित्रराष्ट्र भारतबाट दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति मै प्रतिकूल प्रभाव पर्न जाने गरी सवारी साधन आवागमनमा अवरोध उत्पन्न हुने, अघोषित नाकाबन्दी जस्तो व्यवहार सीमा क्षेत्रमा देखिएकोले भारत र भारतीय जनताको सँधै हित चाहने नेपाली जनतालाई ठूलो चोट पुग्न गएको छ ।
यसप्रकारको व्यवहारले नेपाल भारत सम्बन्ध सुदृढ पार्न सकारात्मक योगदान पु¥याउने छैन । यो केन्द्रीय समितिको बैठक यसतर्फ भारत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ र मित्रवत् एवं सद्भावपूर्ण व्यवहारको अपेक्षा गर्दछ । नेपाली जनताले नेपाल बारे गर्ने निर्णयलाई हाम्रा सबै मित्रहरुले सम्मान गर्नेछन् भन्ने अपेक्षा यो बैठक गर्दछ । यो बैठक नेपाल सरकारलाई अविलम्ब कुटनीतिक पहलद्वारा समस्या समाधान गर्न र परिस्थितिलाई सहज बनाउन अनुरोध गर्दछ ।

तपाईको प्रतिक्रिया