परासी, ७ असोज । नवलपरासीमा स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणाको समयावधि आगामी असोज १४ गतेसम्मका लागि थप गरेको छ ।
यसअगावैको समय सकिएपछि आज बसेको सुरक्षा समितिको बैठकले निषेधित क्षेत्र घोषणाको समय असोज १४ गते राति १० बजेसम्मका लागि थप गरेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताउनुभयो ।
यो सातौँ पटकको समय थप हो । प्रशासनले पूर्व पश्चिम लोकमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका टिसिएन चोकदेखि सुनवलसम्मको पूर्व पश्चिम राजमार्ग र परासीदेखि सुनवल चोकसहित दायाँबायाँ ५०० मिटर क्षेत्र, साथै परासी मनरी हुलासी सडकखण्डको रामग्राम नगरपालिकाको सीमा सेतो पुलदेखि बन्जिराया चोक हुँदै बाइपास चोकको दक्षिण भागबाहेक सम्पूर्ण नगरपालिका क्षेत्रभित्रको इलाकालाई निषेधित क्षेत्र घोषणा गर्दै आएको छ ।
नवलपरासीमा संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण करिब ४० दिनदेखि जिल्लाको सदरमुकाम परासीसहित दक्षिण क्षेत्रमा यातायात, उद्योग व्यवसाय, शैक्षिक संस्था, वित्तीय संस्था बन्द हँुदै आएका छन् । रासस



तपाईको प्रतिक्रिया