Khadya Bibhag

मधेशमा आन्दोलनलाई सशक्त बनाउन सम्पूर्ण शक्ति मिलाउने तयारी

काठमाडौ, ४ असोज । संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेसी र थारुहरुको माग संबोधन गर्ने गरी संविधान संसोधनको लागि सरकारले छुट्टै टीम बनाए आफू वार्ताका लागि तयार रहेको बताएका छन् ।
अध्यक्ष झाले आज पत्रकार सम्मेलनको आयोजना गरी आफूहरु वार्ता विरोधी होइन तर त्यसको वतावरण बनाउने काम सरकारको रहेको बताए । नयाँ संविधानमा अन्तिम समयसम्म पनि माग संवोधन हुने आशामा रहेका मधेसी जनताहरु संविधान जारी भएपछि निराश भएको भन्दै माग संबोधन गर्ने तत्काल गम्भीर नभए परिणाम भयावह हुने चेतावनी दिँदै उनले मधेशमा रहेका अन्य दल तथा संगठनसँग मिलेर आन्दोलनलाई सशक्त बनाउने बताए ।
यो संविधानले मधेसको समस्या समाधान गर्न सकेन । अरु आन्दोलनरत शक्तिहरुसँग मिलेर थप आन्दोलनको घोषणा गर्छौ, उनले भने, यस विषयमा अन्य दलहरुसँग कुराकानी भइरहेको छ ।
अध्यक्ष झाले मुलुकको आधा हिस्सा आन्दोलनमा रहेको बेला प्रधानमन्त्री न्यूयोर्क जानु उचित नहुने भन्दै मधेसीहरुको माग संबोधन गरेर मात्र जान सुझाव दिए ।
लोक दलका अध्यक्ष कौशलकुमार सिंहले मधेस जलिरहेको बेला नयाँ संविधानको स्वागत गर्दा मधेसमा द्धन्द र विभाजनको विजारोपण गर्ने भन्दै अल्पमतको कुरालाई सम्मान गरेर मात्रै लोकतन्त्र सबल बनाउन सकिने बताए ।
उनले लाशमाथि चढेर आएको संविधान टिकाउ नहुने भन्दै यस्तो संविधानले द्धन्द र अस्तिरता मात्रै बढाउने दावी गरे ।
पत्रकार सम्मेलनमा मोर्चाले संविधानमा रहेका असहमति सार्वजनिक गरेको थियो । जसअनुसार संघीयताको स्वरुप र अधिकारको बाडफाड अन्यायपूर्ण रुपमा रहेको, प्रदेशको सीमा र अधिकार स्थापित मान्यता विपरित रहेको, सुरक्षा निकायलाई एकात्मक राखिएको, न्यायपालिका र सबै आयोग एकात्मक रहेको, प्रदेशलाई बोधार्थ अड्डा बनाईएको, समावेशी समानुपातिक जनप्रतिनिधित्व नभएको, मधेस विद्रोहको अपमान गरिएको, नागरिकता सम्बन्धी ब्यवस्था पश्चगामि रहेको दावी गरिएको छ ।

तपाईको प्रतिक्रिया