Khadya Bibhag

आन्दोलनका नाममा हिंसा फैलाउन खोज्नेबाट सजग रहनुपर्ने

बाँके, भदौं २२ गते । आन्दोलनका नाममा समाजमा सामाजिक सद्भाव र हिंसा फैलाउन खोज्नेबाट सजग रहनुपर्ने सुझाव दिइएको छ ।
स्थानीय शान्ति समिति बाँकेको  आयोजनामा आज नेपालगञ्जमा भएको शान्ति र सदभावका लागि स्थानीय शान्ति समितिका सदस्यहरुको भूमिका विषयक छलफल कार्यक्रममा गाविस स्तरीय शान्ति समिति बसुदेवपुरका संयोजक वफाती वेहनाले साम्प्रदायिक हिंसाको कुनै सिमा नभएको बताउदै आन्दोलनकारीले आफ्ना माग उठान गर्दा  अरुको अधिकारको पनि ख्याल राख्नुपर्ने बताउनुभयो ।
 यसैगरी गाविस स्तरीय स्थानीय शान्ति समितिमा रहेका नौवस्ताकी माया बिक, लालबहादुर बुढा, चिसापानीका पुनितविक्रम, शमशेरगञ्जका बासु शर्मा, विष्णु रोका लगायतले गलतप्रचार र सूचनाले समाजमा द्वैष उत्पन्न गरी सदभाव खलबलिने भन्दै समयमै सबैपक्ष सचेत हुनुपर्ने सझुाव दिनुभएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले समाजमा वैमनष्यता फैलाएर कसैलाई फाइदा नपुग्ने बताउदै पछिल्लो समय सदभाव विरोधी भावनाले व्यापकता पाएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका एसपी बसन्त पन्तले जनताको शान्ति सुरक्षाको लागि प्रहरी भएको र प्रहरीसँग नडराएर सहकार्य गर्न सबैमा आग्रह गर्दै जातीयताको नाममा अफवाह फैलाउदाँ त्यसको ज्वालाले कोहीपनि बाँकी नरहने बताउदै शान्ति समितिले गाँउमा मध्यस्थकर्ताको काम गर्नुपर्ने सुझाव दिनुभयो ।
गैसस महासङ्घका बरिष्ठ केन्द्रीय उपाध्यक्ष गोपालनाथ योगीले हिंसात्मक आन्दोलनमा जान नहुने बताउनुभयो । स्थानीय शान्ति समितिका संयोजक कृष्णमान श्रेष्ठले सामाजिक सदभाव कायम राख्न गाविस स्तरीय शान्ति समितिले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया