Khadya Bibhag

मधेशी र थारुसँग तत्काल वार्ता गर्न दबाव,अजय चौरसिया

काठमाडौं भदैँ १५ गते ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले संविधान निर्माण प्रक्रिया स्थगित गरेर आन्दोलनरत मधेशी र थारु नेतृत्वसँग तत्काल वार्ता गर्न नेपाली कांग्रेसलाई दबाब दिएका छन् । नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा मंगलवार सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै कांग्रेस नेता चौरसियाले चौतर्फी असन्तुष्टिका बीच बलपूर्वक जारी हुने संविधान देशहितमा नहुने सुझाव दिँदै मधेशमा प्रहरी दमन बन्द गरी वार्ता मार्फत् राजनीतिक निकास निकाल्न कांग्रेस नेतृत्वलाई दबाब दिएका हुन् ।
वर्षौदेखि राज्यको मूलधारबाट बंचित रहेका मधेशी, जनजाति, थारु, दलितलाई संविधान निर्माण प्रक्रियाबाट अलग राखिएकोले जनता सडकमा उत्रेको जिकिर गर्दै पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता चौरसियाले मधेश आन्दोलनलाई राजनीतिक निकास नदिइए मुलुक ठूलो संकटमा फस्ने चेतावनी समेत दिए । नेता चौरसियाले संविधानको प्रारम्भिक मस्यौदा र ६ प्रदेशको सीमांकन मधेशी, जनजाति र थारुको पक्षमा नरहेकोले सबैलाई स्वीकार्य हुने संविधान जारी गर्न नेतृत्वपंक्तिलाई सुझाएका छन् । संविधानसभामा सबैभन्दा ठूलो दलको हैसियतले असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्ने दायित्व नेपाली कांग्रेसको भएकोले मधेशको सडकमा बलिरहेको आगो निभाउन ढिलाई गर्न नहुने उनले सुझाव दिए । कांग्रेस बैठकमा नेता अजय चौरसियासँगै अधिकांश केन्द्रीय सदस्यहरुले हतारको संविधान लेखन प्रक्रिया रोकेर आन्दोलनकारीसँग वार्ता गर्न दबाब दिएका छन् ।
मधेश÷थरुहट आन्दोलनमा ज्यान गुमाएका सहीद दुःख एवं श्रद्धाञ्जली व्यक्त गर्दै उनले मृतकलाई सहीद घोषणा, आश्रित परिवारलाई उचित क्षतिपूर्ति र आन्दोलनका घाइतेहरुलाई तत्काल औषधोपचार गराउन सरकार माग गरेका छन् ।

तपाईको प्रतिक्रिया