Khadya Bibhag

कपाल पाल्नु तथा मुन्द्रा लगाउनु व्यक्तिको स्वतन्त्रता: सर्वोच्च

काठमाडौँ, भादौं १७/ सर्वोच्च अदालतले लामो कपाल पाल्नु तथा मुन्द्रा लगाउने व्यक्तिको स्वतन्त्रता भएको फैसला गरेको छ ।

सर्वोच्च अदालतले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समेतका नाममा कुनैपनि व्यक्तिलाई लामो कपाल भएकै आधारमा पक्राउ गर्न वा पक्राउ परेको कुनै व्यक्तिलाई निजको आत्मसम्मानमा धक्का पुग्ने गरी कपाल काट्ने, जुगाँ काट्ने, मुन्द्रा झिक्न लगाउने लगायतको निन्दनीय व्यवहार नगर्नु नगराउनु भनी परामादेशको आदेश जारी गरेको हो ।

२०६९ फागुन १५ गते देखि केहि दिन महानगरीय प्रहरी परिसर काठमाण्डौले १५०० भन्दा बढि युवाहरुलाई पक्राउ गरी उनीहरुको कपाल, दारी, जुगाँ काट्ने, मुन्द्रा फुकाल्ने लगायतको कार्य गरेको थियो ।

सो कार्य नेपालको अन्तरिम संबिधान, २०६३ को धारा १२ र १३ ले प्रत्येक नेपाली नागरिकलाई प्रदान गरेको स्वतन्त्रता एवम् समानताको हक विपरित रहेको भन्दै ल स्टुडेन्टस् सोसाईटीको तर्फवाट अधिवक्ता सुभाष लामिछाने र विकल्प राजभण्डारीले संयुक्त रुपमा उक्त रिट निवेदन दर्ता गराएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय र महानगरीय प्रहरी परिसर काठमाण्डौको विरुद्ध दायर सो रिट निवेदन माथि अन्तिम फैसला गर्दै प्रधान न्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओम प्रकाश मिश्रको संयुक्त ईजलासले आज उक्त आदेश जारी गरेको हो ।

तपाईको प्रतिक्रिया