काठमाडौँ, भदौ ८ गते । सरकारले कैलालीको टीकापुर घटनाको छानविन गर्न राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा उच्चस्तरीय छानविन समिति गठन गरेको छ ।
गृह मन्त्रालयले आज गठन गरेको सो छानविन समितिको देवीराम शर्मासहित सदस्यहरुमा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिर्देशक प्रतापसिंह थापा र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी अतिरिक्त महानिर्देशक जीवन थापा, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी र गृह मन्त्रालयका सहसचिव विनोद केसी रहेका छन् । साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्री वामदेव गौतमले समिति गठन गरेको बारेमा जानकारी गराएका थिए ।
मन्त्रिपरिषद्को बैठकले कर्तव्यपालनको सिलसिलामा टीकापुरमा साहदत प्राप्त गर्नुहुने नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत तथा जवानहरुको कर्तव्यप्रति अत्यन्त उच्चतम मूल्याङ्कन गर्दै उनीहरु सबैलाई मरणोप्रान्त कायम रहेकोभन्दा एक तह बढुवा गर्ने निर्णय गरेको छ ।
केन्द्रीय सुरक्षा समितिको निर्णयबाट दङ्गा क्षेत्रको घोषणा भएको र दङ्गा क्षेत्र घोषणा भएका स्थानमा स्थानीय सुरक्षाकर्मी परिचालन गरिएको छ ।



तपाईको प्रतिक्रिया