बारा,साउन ३१ गते । बारा जिल्लामा कुलोको पानी प्रयोग गर्ने विषयलाई लिएर दुई गाँउका किसान समुहबीच शनिवार झडप भएको छ ।
बाराको हरैया र करैया गाविसको गालोपट्टी, बजनी टोल र महागढीमाइ नगरपालिकाको गंजभवानीपुर, दहियार र मल्हनी गाँउका किसानबीच झडप भएको हो । झडपमा दुवै तर्फका गरी ५ जना किसान घाइते भएका छन् ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रुग्यास प्रहार गरेको छ । गालोपट्टी र बजनी टोलका किसानहरुले गंजभवानीपुरका दुई वटा एक्साभेटरमा समेत तोडफोड गरेका छन् ।
जिल्लाको काँट खोलाको पानी पसाहा भएर बग्दै गरेकोमा बर्षौदेखि बाँध बाँधेर सिचाइ गर्दै आएको संगम स्थलबाट कुलाकोे मुहान बनाएर गंजभवानीपुर, दहियार र मल्हनी गाँउका किसानले पहिलेदेखि नै आफनो खेतमा सिचाई गर्दै आएका थिए । तर, यसपाली लामो समयदेखि वर्षा नभएपछि बजनी र गालोपट्टी टोलका किसानले कुलो आफनो गाँउबाट बगेकाले पानी प्रयोग गर्न पाउनु पर्ने भन्दै बाँध बाध्ने कार्यमा गंजभवानीपुरका किसानलाई रोक्न खोजेपछि दुवै पक्षबीच झडप भएको सशस्त्र प्रहरी निरीक्षक खेमराज बोग्टीले बताए ।



तपाईको प्रतिक्रिया