काठमाडौँ, साउन १७ गते । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालसँग सञ्चार क्षेत्रमा कार्यरत पत्रकार, कर्मचारी र कामदारको लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिकलाई लागू गर्न अनुरोध गरिएको छ ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष पोषण केसीको नेतृत्वमा गएको समितिका पदाधिकारीहरुले मन्त्री डा रिजाललाई भेटेर सो अनुरोध गर्नुभएको हो ।
समितिले सञ्चार क्षेत्रमा कार्यरत पत्रकारका लागि न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० सिफारिस गरेको छ । अन्य कर्मचारी र कामदारका हकमा भने समितिले न्यूनतम रु १४ हजार ४०० निर्धारण गर्न सिफारिस गरेको छ ।
यस्तै, सञ्चार प्रतिष्ठानका पत्रकारका लागि रु १४ हजार १०० र त्यस्ता प्रतिष्ठानका कर्मचारी तथा कामदारको हकमा रु १२ हजार ५०० न्यूनतम पारिश्रमिक सिफारिस गरिएको छ । स्ट्रिन्जरको हकमा भने साविकको दरमा ५० प्रतिशत वृद्धिको सिफारिस गरिएको छ ।
सो अवसरमा मन्त्री डा रिजालले समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिकसम्बन्धी सुझावलाई लागू गर्न मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।
समितिबाट सिफारिस भएका न्यूनतम पारिश्रमिक लागू गर्न सबै सञ्चार माध्यम र सरोकारवाला सबैसँग छलफल कार्य गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो, “यसमा मन्त्रालयको पूर्ण सहयोग हुन्छ ।”
नवनियुक्त अध्यक्ष केसीले समितिको आगामी कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।
सो अवसरमा सञ्चार मन्त्रालयका सहसचिव एवम् समितिका सदस्य कविराज खनाल, सूचना विभागका महानिर्देशक तथा समितिका सदस्य–सचिव लक्ष्मीविलास कोइराला, समितिका सदस्यहरु निर्मला आचार्य, निमबहादुर बुढाथोकी, इफ्तखार हसन, खड्कबहादुर विष्ट र लीलाबल्लभ घिमिरे सहभागी हुनुहुन्थ्यो ।



तपाईको प्रतिक्रिया