सिरहा साउन १६ गते । नेपाली काँग्रेसका नेता प्रदीप गिरिले सबैले आत्मसम्मान महसुस गर्ने संविधान बन्न नसके मुलुकको लागि दुर्भाग्य हुने बताउनुभएको छ ।
एक कार्यक्रममा सहभागी हुन गृह जिल्ला सिरहाको लहान आइपुग्नुभएका सभासद् गिरिले आज सञ्चारकर्मीसँग कुरा गर्दै सबै नेपालीले ग्रहण गर्न सक्ने संविधान निर्माण नभए त्यस्तो संविधानको स्थायित्व नहुने र मुलुकमा अनिष्ट हुने बताउनुभयो ।
नयाँ संविधानको मस्यौदामा मधेसी, दलित, आदिवासी जनजाति, मुस्लिम र महिलाको अधिकारको सुनिश्चितता हुने आधार नदेखिएकाले आफूले संविधानसभामै मस्यौदाप्रति आपत्ति जनाएको उल्लेख गर्दै उहाँले जनताबाट आएका सुझावलाई समेटिएर सबै नेपालीले अधिकारको अनुभूति हुन सक्ने संविधान बनाइनुपर्ने बताउनुभयो ।
संविधान नबन्दै असन्तुष्टी उठिरहका बेला जनताको अभिमतलाई नसमेटिएर जबर्जस्ती संविधान बनाई त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुने टिप्पणी गर्दै संविधानसभाभित्रैबाट सङ्घीय राज्यको सीमाङ्कन र नामाङ्कन गरिनु उचित हुने बताउनुभयो ।
राज्यको पहुँचबाट टाढा रहेका दलित, मधेसी, मुस्लिमलगायतको अधिकारलाई अब बन्ने संविधानले समेटिन नसके मुलुक ठूलो दुर्घटनामा फस्ने भएकाले त्यसतर्फ राजनीतिक दलका नेताले ध्यान दिनुपर्ने बताउनुभयो ।



तपाईको प्रतिक्रिया