सुरुङ्गा -झापा_, १२ साउन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सबैले अपनत्व ग्रहण गर्नसक्ने संविधान निर्माणका लागि मस्यौदाको पुनःलेखन गर्नुपर्ने बताउनुभएको छ ।
आज झापाको बिर्तामोडमा आयोजित पत्रकारसम्मेलनमा उहाँले अहिलेकै मस्यौदालाई संविधानका रुपमा जारी गरिए आफूहरुलाई त्यो मान्य नहुने धारणा राख्नुभयो । अध्यक्ष यादवले संविधानमा प्रादेशिक स्वायत्तता सहितको सङ्घीयता, पहिचान, समावेशिता, गणतन्त्र र धर्म निरपेक्षका साथै विभेद अन्त्यको ग्यारेन्टी गरिनुपर्छ भन्नुभयो । “संविधानको अहिलेको मस्यौदा विगतका सहमति, संविधानसभाको भावना र प्रक्रिया विपरीत आउनुका साथै प्रतिगमनकारी छ”, अध्यक्ष यादवले भन्नुभयो ।
संविधानसभाबाटै संविधान जारी गरिनुपर्ने धारणा राख्दै अध्यक्ष यादवले भन्नुभयो, “संविधानसभाको नियमावली र प्रक्रियालाई अलग राखेर दलका केही नेताले प्रधानमन्त्री र राष्ट्रपति बन्ने होडमा संविधानका अन्तरवस्तु नै नटुङ्ग्याई संविधान लेखन किस्तामा गरे त्यो जनतालाई मान्य हुँदैन ।”
एक फरक प्रसङ्गमा उहाँले धर्म निरपेक्षता २०६२÷६३ को जनआन्दोलनबाट स्थापित भइसकेकाले त्यो परिवर्तन नहुने बताउनुभयो ।



तपाईको प्रतिक्रिया