Khadya Bibhag

मैथिली भाषा–साहित्य विकास कोषबाट स्रष्टा पुरस्कृत

काठमाडौँ, असार २७ गते । मैथिली भाषा–साहित्य विकास कोषले मैथिली भाषा–साहित्य, कला–संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान दिने स्रष्टा एवम् संस्थाहरुलाई नगद पुरस्कारसहित आज सम्मान गरेको छ ।

कोषले यस वर्षको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबाट जनकपुरधामको रामानन्द युवा क्लबलाई नगद रु दुई लाखसहित सम्मान गरेकोे छ ।

यस्तै, क्रमशः नगद रु एक लाख राशिको विद्यापति मैथिली भाषा साहित्य अनुसन्धान पुरस्कारबाट डा वासुदेव लाल दास, अनुवाद पुरस्कार धीरेन्द्र पे्रमर्षी (सिराहा), पाण्डुलिपी पुरस्कार सिराहाका चन्द्रशेखर लाल शेखर र सिराहाकै श्याम सुन्दर यादवलाई कला संस्कृति पुरस्कारबाट सम्मान गरिएको छ ।

त्यसैगरी, अघिल्लो आर्थिक वर्ष २०७०\\०७१ मा प्राविधिक कारणले रोकिएको पुरस्कार पनि आजै वितरण गरिएको छ । रु दुई लाख राशिको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार जनकपुरका डा रेवती रमण लाललाई प्रदान गरिएको छ ।

नगद रु एक लाखसहित पुरस्कृत हुनेमा क्रमशः कला संस्कृति पुरस्कार, राम सोभित राउत  (धनुषा), अनुसन्धान पुरस्कार डा सुनीलकुमार झा (सप्तरी), अनुवाद पुरस्कार गङ्गा प्रसाद अकेला र पाण्डुलिपी पुरस्कार काशीकान्त झा (धनुषा) लाई प्रदान गरिएको कोषका अध्यक्ष प्रा परमेश्वर कापडिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

स्रष्टा एवम् संस्थाहरुको उच्च मूल्याङ्कन र प्रोत्साहन स्वरुप सरकारद्वारा रु एक करोडको अक्षयकोष कायम गरी त्यसको व्याजबाट प्रतिवर्ष रु छ लाखका पाँचवटा पुरस्कार वितरण गर्ने प्रावधान छ ।

प्राविधिक कारणले गत आवमा रोकिएर यस आर्थिक वर्षमा कोषले जम्मा १२ लाखका दशवटा पुरस्कार प्रदान गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज आयोजित एक समारोहकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपाशुर शेर्पाले उक्त पुरस्कारहरु वितरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया