Khadya Bibhag

मलमास आज रातिदेखि सुरु हुँदैछ

काठमाडौं, असार १ – धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास आज राति ११:२३ बजेदेखि सुरु हुँदैछ । मलमासभर शुभकार्य गर्न नहुने धार्मिक मान्यता पनि छ । अधिकमास यही असार ३१ गते बिहीबार बिहान ६:२२ बजेसम्म कायम रहने छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार सौर्यमान र चन्द्रमानबीच हुने अन्तरका कारण प्रत्येक ३२ महिना १६ दिन ४ घडी पछि मलमास पर्छ । 

सौर्यमानअन्तर्गत ३ सय ६५ दिनको एक वर्ष र चन्द्रमानअन्तर्गत ३ सय ५४ दिनको एक वर्ष हुने भएकाले प्रत्येक १२ महिनामा ११ दिनको अन्तर पर्ने उनले बताए । यसरी ३२ महिना १६ दिन ४ घडीपछि थपिने एक महिना अधिकमास अर्थात् मलमासका रुपमा रहने र किंवदन्तीअनुसार अन्य समयमा १२ महिनाको अधिपति अरुण, सूर्य, भानु नाममा सूर्य रहने तर अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेका र यस्को अधिपत्य स्वयम् भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ ।
 मलमासमा भगवान् नारायणको पूजा, पुरुषोत्तम महात्म्य सुन्ने र दान गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थहरूमा उल्लेख छ । \’मलमासमा शुभकार्य गर्नुहुँदैन र यो कालमा साइत पनि हुँदैनन् । त्यसैले महिनाभर विवाह, व्रतबन्धजस्ता शुभकार्य गरिँदैन । दैनिक रूपमा गरिने स्नान, ध्यान, सन्ध्या, काज किरिया गर्न छेकथुन हुँदैन,\’ अध्यक्ष गौतमले भने ।
विवाह पछिको पहिलो वा विवाह गरेको वर्षमा पर्ने मलमासमा पतिको घरमा श्रीमती बसेमा सासूलाई कष्ट हुने, पतिपत्नीको संसर्गबाट गर्भधारण भई जन्मने शिशु रोगी हुने, पतिलाई कष्ट हुने धर्मग्रन्थमा उल्लेख गरिएकाले नवविवाहिताले मलमास बार्नुपर्ने मान्यता रहेको उनले बताए । यसैबीच, पुरुषोत्तम महिनाको अवसर पारी कृष्ण सञ्जीवनी तुलसी सेवा समिति, राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति, सनातन धर्म सेवा समिति, नेपाल तथा आर्य समाजको संयुक्त आयोजनामा भूकम्पमा ज्यान गुमाएकाको मुक्तिको कामना गर्दै पुरुषोत्तम अनुष्ठान हुने भएको छ ।

तपाईको प्रतिक्रिया