रौतहट, जेठ २९ गते । विगत एकसातादेखि पानी नपरेका कारण धानको बीउ खेतमै मर्न थालेको छ ।
पानी नपरेपछि सुक्खा ब्याडमा बीउ खेतमै नष्ट हुन थालेको कृषकले गुनासो गरेका छन् । यो वर्ष ढिलो गरी वर्षा हुँदा भर्खरैमात्र कृषकले धानको ब्याड राखेका थिए ।
वाग्मती सिँचाइ आयोजनाले यो वर्ष रौतहटतर्फको नहर प्रणालीमा पानी नछाडेका कारण सिञ्चित हुने जमिनका कृषकसमेत धुले बीउ राख्न बाध्य भएका छन् ।
मौसम पूर्वानुमान शाखाले केही दिनपछि मात्र वर्षा हुने जनाएका कारण वर्षा भएमात्र धानको ब्याडमा केही हदमा राहत हुने पीडित किसानले बताएका छन् ।
जिल्ला कृषि विकास कार्यालय रौतहटका अनुसार जिल्लामा ५८ हजार ४४० हेक्टर कुल खेतीयोग्य जग्गा रहे तापनि ३९ हजार ३०० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
रौतहटमा धानखेतीका लागि एक हजार ९६५ मेट्रिक टन धानको बीउको आवश्यकता रहेको उक्त कार्यालयले जनाएको छ ।
पानी नपर्दा रौतहटका अधिकांश गाविसका अधिकांश कृषकले यो वर्ष धुले ब्याड राखेका छन् । पर्याप्तमात्रामा पानी नपर्दा धुले ब्याडलाई बढी असर गरेको बताइएको छ ।
“पानी नपरेर यो वर्ष ढिलो धानको ब्याड राख्नुप¥यो, त्यसमा पनि पानी नपर्दा बीउ नै मर्न लाग्यो”, चन्द्रपुर नगरपालिका–१२ बेतौनाका किसान एकराज पोखरेलले बताउनुभयो ।



तपाईको प्रतिक्रिया