नेपालमा सबभन्दा बढी महिला हिंसा र उत्पीडनका घटना मधेशमा हुने गरेको आमबुझाइ छ । त्यसका लागि मधेश र मधेशी समाज बदनाम पनि छन् । तर हालै गरिएको एउटा अध्ययनले अर्कै तथ्य उजागर गरेको छ । त्यस अध्ययनअनुसार समग्र र तुलनात्मक रुपमा मधेशमा भन्दा पहाडी भूभागमा बढी मात्रामा महिला हिंसा र उत्पीडनका घटना हुने गरेको पाइएको छ ।
नेपाल मधेश फाउन्डेशनका लागि अध्येता शीला शर्माले गरेको अध्ययनअनुसार महिलामाथि लाग्ने बोक्सी आरोपका घटना, महिला तथा बालबालिका बेचबिखन, पुरुषद्वारा गरिने बहुविवाह, महिलाद्वारा गरिने आत्महत्याका घटना मधेशका जिल्लामा भन्दा बढी पहाडमा देखिएको छ ।
तीन महिने अध्ययन प्रतिवेदनका अनुसार फागुन, चैत्र र वैशाख महिनामा ४६ प्रतिशत महिला बेखबिखनका घटना पहाडी जिल्लामा भएको तथ्य पाइएको हो ।
प्रतिवेदनमा ५४ प्रतिशत महिला बेचबिखनका घटना मधेशका जिल्लामा घटित भएको देखाइए पनि भारततर्फ बेच्न लग्ने दलाल र बेचिने महिला तथा बालबालिकामध्ये कोही पनि मधेशी समुदायका छैनन् ।
ती महिला तथा बालबालिकालाई भारततर्फ लैजाँदै गर्दा प्रहरी तथा महिला अधिकारकर्मीद्वारा समातिएर ती घटना मधेशका जिल्लामा सार्वजनिक भएको र पीडित व्यक्तिका नाम तथा ठेगाना सञ्चारमाध्यममा उल्लेख नभएकाले ती सबै घटना तराईमा घटित भएको भनेर प्रतिवेदनमा उल्लेख गर्न बाध्य भएको अध्येता शर्माले बताइन् ।
मधेशी समुदायमा सोचेभन्दा कम किन ?
यस्तै, घरेलु हिंसाका घटना मधेशका २० जिल्लामा विगत तीन महिनामा ६० प्रतिशत र बलात्कार र बलात्कार प्रयासजस्ता यौनजन्य हिंसाका ५० प्रतिशत घटना मधेशमै घटित भएको उल्लेख छ ।
घरेलु हिंसाको प्रतिशत ६० र यौनहिंसाको अनुपात ५० प्रतिशत देखाइए पनि यही तथ्यांकले मधेशी समुदायमा तुलनात्मक रुपमा ती घटना सोचेभन्दा कम घटित हुने गरेको काठमाडौंको एक दैनिक पत्रिकामा कार्यरत पत्रकार सुरेश यादव बताउँछन् ।
‘मधेशको कुल जनसंख्यामा उत्तरबाट बसाइँ सरेका पहाडी समुदायको ३८÷४० प्रतिशत हिस्सेदारी छ । यसर्थ तराईका २० जिल्लाका जनसंख्याको सामुदायिक बनोटले पनि मधेशी समुदायका महिलामाथि ५० प्रतिशतभन्दा कम मात्रामा घरेलु तथा यौन हिंसाका घटना हुने गरेको प्रमाणित गर्दछ,’ पत्रकार यादवको तर्क छ ।
अझ चाखलाग्दो तथ्य महिलामाथि लाग्ने बोक्सीको आरोपसम्बन्धी घटनाको तथ्यांकमा फेला परेको छ । हुन त बोक्सीसम्बन्धी घटनाका लागि मधेश र मधेशी समाजलाई नै उर्वर भूमि मानिँदै आएको छ । तर त्यस अध्ययनअनुसार विगत ३ महिनामा बोक्सीसम्बन्धी जम्मा ७ वटा घटना पत्रपत्रिकामार्फत सार्वजनिक भएको थियो । ती घटनामध्ये एउटा घटना मात्रै नवलपरासी नामक मधेशको जिल्लामा घटित भएको थियो । तर त्यो घटनाका पीडित र पीडिक दुवै जना पनि गैरमधेशी अर्थात् पहाडी समुदायका व्यक्ति थिए ।
यस्तै, महिलामाथि हुने सामाजिक हिंसाका घटना ती तीन महिनामा कुल ५ वटा घटित भएका छन् । तीमध्ये एउटा मात्रै मधेशका जिल्लामा घटित भएको प्रतिवेदनले जनाएको छ ।
बहुविवाहमा मधेशीभन्दा पहाडी अघि
दाइजोसम्बन्धी हिंसामा मधेशी अघि
यस्तै, पुरुषले गर्ने बहुविवाहका घटना तराईको मधेशी समुदायमा भन्दा पहाडी समुदायमा बढी हुने गरेको पाइएको छ । फागुन, चैत्र र वैशाख गरी ३ महिनामा जम्मा ५ वटा बहुविवाहका घटना पत्रपत्रिकामार्फत् सार्वजनिक भएकोमा ४ वटा घटना पहाडका जिल्लामा घटित भएको प्रतिवेदनले उल्लेख गरेको छ ।
यस्तै, महिलाद्वारा गरिने आत्महत्याका घटना पनि मधेशमा भन्दा पहाडमा बढी पाइएको छ । गत तीन महिनामा ४ जना महिलाले आत्महत्या गरेकोमा ३ वटा घटना पहाडमा र एउटा मात्र तराईमा घटित भएको पाइएको अध्ययनमा देखिएको छ ।
महिला हिंसासम्बन्धी घटनालाई विभिन्न नौ विधामा वर्गीकृत गरी गरिएको अध्ययनअनुसार महिला–हत्याको घटना पहाडमा भन्दा बढी मधेशमा पाइएको छ । दाइजो तथा दहेज कुप्रथाका कारण मधेशमा महिला–हत्या तुलनात्मक रुपका बढी हुने गरेको मधेश अध्येताहरुको बुझाइ छ ।
इसमता



तपाईको प्रतिक्रिया