Khadya Bibhag

हतारको प्रेमले मनिषालाई धोका

राजविराज । सप्तरीको कञ्चनरुप नगरापालिका वडा नम्वर–९ कि १९ वर्षिया मनिषा (नाम परिवर्तन) र सिरहाको जिरोमाइल नजिक घर भएका २२ वर्षीया आर्यन चौधरी बीच ६ महिना अघि प्रेम सम्बन्ध विस्तार भएको थियो ।
उनीहरु बीच मोबाइलबाट कुराकानी हुँदै प्रेम गहिरिँदै गयो । आर्यनले तिमीलाई म धेरै माया गर्छु, म तिमीसँग बिहे गर्छु भन्दै प्रेम सम्बन्धलाई प्रगाढ बनाउँदै गए । शुरुमा मनिषाले आर्यनको प्रेस प्रस्तावप्रति खासै वास्ता गरिनन् । तर आर्यनले पीछा नछाडेपछि उनको प्रेमजालमा फँसे । अन्ततः मनिषाको मन जित्न सफल भए ।
कहिले आर्यन मनिषासँग भेट्न जान्थे भने कहिले मनिषाले आर्यनसँग भेट्न आउथिन् । हुँदा–हुँदै छोटो समयमा उनीहरु बीच यतिसम्म सम्बन्ध प्रगाढ भयो कि शारिरीक सम्बन्धसम्म पुग्यो ।
उनीहरुले एक–अर्कालाई औधी माया गर्न थाले । सँगै बाँच्ने सँगै मर्ने कसम खान थाले । उनीहरु जीवनका नयाँ नयाँ सपना बुन्न थाले । कलिलो उमेरका उनीहरु सपनाका संसारमा रमाउन थाले । समय बितेको पतै भएन ।
आर्यनसँगको उठबसले गर्दा मनिषाको पेटमा गर्भ रहन गयो । गर्भवत्ती भएपछि उनीहरुको टाउकामा चिन्ता थपियो । मनिषाले आफ्नो पेटमा गर्भ रहन गएको छ, अब के गरुँ ? भन्ने प्रश्न आर्यनलाई गरे । आर्यनले भने दुई महिनाको गर्भलाई तुहाइदिने जवाफ दिए । तर मनिषाले भने गर्भ तुहाउनुभन्दा पनि बिहे नै गर्दा राम्रो हुने प्रति जवाफ दिए । यद्यपी त्यहाँ मनिषाको केही जोर चलेन ।
पहिला गर्भ तुहाउने अनि त्यसपछि विवाहको बारेमा सोच्ने अडान आर्यनले राखे । र, त्यसमा मनिषालाई कन्भिन्स गर्न सफल पनि भए । मनिष गर्भ तुहान राजी भए र आर्यनको योजना मुताविक उनीहरु विराटनगरमा गर्भ तुहाउने सहमतिमा पुगे ।
जेठ ५ गते मङ्गलवार मनिषालाई उनले बोलाएर साथमै ल्याएको औषधी खुवाए । औषधी खुवाएपछि मनिषालाई रक्तश्राव हुन शुरु भयो । त्यसपछि घर पुर्याउने क्रममा सुन्दरी खोलाको पुल नजिक बस्न लगाएर पिसाब फेर्ने बहानामा आर्यन टाप कसे । अत्यधिक रक्तश्राव र पीडाले गर्दा मनिषा बेहोस भइन् । बेहोसी अवस्थामा रहेकी युवतीलाई प्रहरी चौकी ठेलियाबाट खटिएको टोलीले स्थानीय धर्मेश्वर अस्पताल पुर्याए ।
उपचारार्थ मनिषाको अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ । अस्पतालमा उपचार पश्चात शनिवार मनिषालाई परिवारजनको जिम्मा लगाइएको जनाइएको छ । यता फरार रहेका युवाको खोजतलास भइरहेको प्रहरी चौकी ठेलियाका असई बलम श्रेष्ठले जानकारी दिए ।
अब उनीहरुको प्रेम कसरी अगाडि बढ्छ त्यो त मनिषा र आर्यनबीचको अर्को भेटले मात्र संम्भव हुन्छ ।

तपाईको प्रतिक्रिया