Khadya Bibhag

सिँचाइ कुलोमा क्षति हुँदा रु दुई करोडभन्दा बढीको नोक्सानी

विराटनगर, ३१ वैशाख । विनाशकारी भूकम्पका कारण ओखलढुङ्गा र सोलुखुम्बुका एक दर्जनभन्दा बढी सिँचाइ कुलोमा क्षति हुँदा रु दुई करोडभन्दा बढीको नोक्सानी भएको छ ।

पूर्वाञ्चल सिँचाइ सव–डिभिजन विकास कार्यालय–५अन्तर्गत ओखलढुङ्गामा रु एक करोड ४१ लाख र सोलुखुम्बुमा रु ७८ लाखसमेत गरी दुई करोड १९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको सो कार्यालयले जनाएको छ ।

ओखलढुङ्गास्थित विभिन्न १७ वटा पक्की कुलोमा क्षति र कुलोको संरक्षणका लागि निर्माण गरिएका पर्खाल कतिपय ठाउँमा भत्किएको तथा चर्किएको, स–साना पोखरीका साथै कार्यालयको स्टोर भवनमा समेत क्षति पुगेको सो कार्यालयका इन्जिनियर आनन्दकुमार झाले जानकारी गराउनुभएको छ ।

सिँचाइको कुलोमा क्षति पुगेपछि कटुन्जे, हरपुर, बेतेनी, श्रीपुरप्राच्या, फूलबारी र गमलटारलगायत क्षेत्रका ५५० हेक्टर सिँचाइ क्षेत्र प्रभावित भएको उहाँले बताउनुभयो । सोलुखुम्बुमा सिँचाइ कार्यालय र निर्माण गरिएका कार्यमा समेत क्षति पुगेको सो कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया