Khadya Bibhag

सहसम्पादक मृत फेला

गाईघाट, १५ चैत । उदयपुर जिल्लाबाट प्रकाशित हुने बरुवा राष्ट्रिय दैनिकका सहसम्पादक तथा प्रेस चौतारी नेपाल उदयपुरका सचिव सचिन भट्टराई सुनसरीको इटहरीस्थित नेपाली सेनाको पृतना अगाडिको सडकमा मृत फेला परेका छन् ।

दिदीको घरबाट भेटघाट गरेर इटहरीस्थित सिम्रीक होटलमा बसेका भट्टराई शुक्रबार राति नै होटलबाट दुई किलोमिटर पर इटहरीस्थित नेपाली सेनाको पृतना अगाडिको सडकमा मृत फेला परेको इटहरी प्रहरीलाई उदृत गर्दै प्रेस चौतारी नेपाल उदयपुरले जनाएको छ ।

बुधबार गाईघाटबाट इटहरीस्थित दिदीको घरमा गएका भट्टराई चार दिनसम्म घरमा नआएपछि खोजी जारी रहेको थियो । भट्टराई बुधबार गाईघाटका आफ्नै मामा राजेन्द्र पराजुलीसँग दिदीको घरमा गएको बताइएको छ ।

यसैबीच, भट्टराईको हत्यामा संलग्नता हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले उनका मामा राजेन्द्रलाई नियन्त्रणमा लिएको छ । राजेन्द्र इटहरीबाट दुई दिन अगाडि नै गाईघाट फर्केको र मृतक भट्टराईको मोबाइल पनि साथै लिएर आएको कारण हत्यामा राजेन्द्रको संलग्नता हुन सक्ने प्रहरीको आशङ्का छ ।

पक्राउ परेका राजेन्द्रले भने भट्टराई र आफू इटहरीस्थित सिम्रीक होटलमा सँगै बसेको र १३ गते राति नै होटलबाट भट्टराई आफैँ बेपत्ता भएको प्रहरीलाई बयान दिएका छन् ।

मृतक भट्टराई विराटनगरबाट प्रकाशित हुने औजार दैनिक र उज्यालो अनलाइनमा समेत आबद्ध थिए ।

दोषीमाथि कारबाहीको माग

यसैबीच, नेपाल पत्रकार महासङ्घ उदयपुर शाखाले पत्रकार भट्टराईको विभत्स र सुनियोजित हत्या भएको हुनसक्ने भन्दै हत्यामा संलग्नमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ ।

शाखाका अध्यक्ष कुशलबाबु बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै कुनै गिरोहबाट पत्रकार भट्टराईको हत्या गरेको हुनसक्ने भएकाले राज्यले तुरुन्त अपराधीलाई कडाभन्दा कारबाही गर्न माग गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया