महंत ठाकुरलाई चिट्ठी

माफ गर्नु दा यो प्रतिगमन हो !
“और सब भूल गए हर्फ सदाकत लिखना
रह गया काम हमारा ही बगावत लिखना’

कुर्सी जोगिने ओलीको, पार्टी फुट्ने भो मधेशीको ! कहीं नभाको जात्रा अहिले भइरहेछ मधेशमा ! कस्तो रसायन रहेछ मधेशीको, थुकले टाँसिएको कागजझैं कमजोर !

बेला बेलामा एउटा आश पलाउँदो रैछ, लौ है अब त केही हुन्छ ! तर सब भ्रम, सब मृगमरिचिका ! जहाँ एकता ह्रदयबाट हैन बाध्यतावश हुन्छ त्यहाँ यस्तै हुन्छ । जहाँ मेल हुंदैन दिलको, त्यहाँ खेल हुन्छ । तरलता नै मधेशी राजनीतिको चरम सत्य हो । मधेश बाहिर बाहिरबाट मात्र दह्रो देखिन्छ, भित्रबाट खोक्रो भइसकेको छ । संकटका बेला जातिवादी विद्रूप । पढ़े लेखेकाहरु पनि अहिले अकस्मात बाहुन भर्सेस यादव या यादव भर्सेस बाहुन रंगमा रंगिसकेका छन् ।

जातीयताको बिहारी छनक बढिरहेको चिन्ता हिजोमात्र एक यादव मित्रले मसँग व्यक्त गर्नु भो । उहाँको वेदना के छ भने उपेन्द्रको अनुसर हेरिसकियो, महन्थ राजेन्द्र झनै खोक्रा ! मधेशमा सबथोक छ, मधेशमा केही छैन ! ।

यसो बाहिरबाट हेर्दा मधेशी किंगमेकर ! हो, परिस्थिति त यस्तै बन्यो या भनौ चतुरे ओलीको हठ र मुर्ख्याईले आयो । ओली दुई तिहाई बाट ९३ मा झरे । कहाँ त दुईओटा पाइलटको उत्साही कुरा, कहाँ एक एकमतका लागि कडा संघर्ष ! किन बिग्रिस मङगले आफ्नै ढंगले । पार्टीभित्र पार्टी, सांघुरो सर्कल । सांघुरो सोच । भजन मण्डली चाहिने, भजन मण्डलीमै रमाइरहने ।

पार्टी बाहिर समेत डा.गोविंद केसी, कुलमान घिसिङ जस्ता मानिस ओलीलाई नचाहिने ! घनश्याम भूसाल, गोकर्ण बिष्टहरु नचाहिने गोकुलहरु चाहिने ! दुनियाँको कुनचाहिं पार्टीमा विरोधी हुदैनन ? बाजपेयीकै बेला थिएनन बिरोधी बलराज मधोकहरु, सोनियाको काँग्रेसमा त गुलाम नबी आजाददेखि कपिल सिब्बलका २२ भाईले छुट्टै लाइन लिए खोई त सोनियाले कारबाई गरेको ? हो, नेपाली कांग्रेसमा गिरिजा कोइरालाले सम्हालन जानेनन तर बीपीको पालामा कति गाह्रो थियो ! गणेशमान जस्ता भोकल मानिसलाईपनि बीपीले फ्रस्ट्रेट हुन दिएनन, सम्मानै दिएर मिलाएर लगे ।

ओलीमा भने अति व्यक्तिवादी सोच छ, पार्टी चलाउन सक्ने मानिस हैनन ओली । उनले पार्टीको अर्थ नै बुझेका छैनन् । उनलाई मात्र पावर, हर हालतमा पावर चाहियो । त्यसका लागि उनी कुनै हदसम्म जान सक्छन् । गएपनि । अख्तियार, सम्पत्ति शुद्धिकरण, लोकसेवा, निर्वाचन आयोग सबै कब्जा, अदालतमा पनि सेटिंग तैपनि उनको सरकार जाने स्थिति आयो । केही त मजबुरी होला आफ्नै पार्टीका सांसदहरु विश्वास मतमा अनुपस्थित रहे ।

एमालेको दुर्भाग्य मधेसी नेताका लागि सौभाग्य बन्यो । तर यो सौभाग्य दुर्भाग्यमा पुग्ने तय नै छ । सजपा महन्थ र उपेन्द्र बीचको द्वन्दमा फुटको संघारमा छ । मधेशी नेताहरुको दशा पञ्चतन्त्रमा वर्णित भारुण्ड पक्षीको कथामा परिणत हुन लागेको छ जसको दुई मुख थियो र पेट एउटै । र एउटाको हठले अन्ततः दुइटै समाप्त भए । म अहिलेपनि महन्थ ठाकुरलाई सम्मान गर्दछु । उनको सादगी र निस्पृहताले, खास गरी लोकतन्त्र प्रतिको असंदिग्ध आस्थाका कारण । तर अब लागेको छ, उनी यू टर्न भएका छन् । लोकतन्त्र उनको फस्ट लभ रहेन ।

दिल्लीको जालमा उनी नराम्ररी फसेका छन् । यो त हिंदुस्तान टाइम्समा भारतका पूर्व राजदूत रणजीत रेको आलेखबाट छर्लंग छ , भारतको ओली नीति गलत छ । तर ठाकुरजीहरु जबरदस्ती ओलीको काँध थाप्न तम्तयार हुनहुन्छ । र पापलाई महिमा मंडित गर्दे लोकतन्त्र ठहर्याउनुहुन्छ । ऋषि धमलासंगको ताजा कुराकानीमा उहाँ जनतामा जान प्रतिगमन हो त भनि उल्टै प्रश्न गर्नुहुन्छ । (ओलीलाई) काम गर्न दिएको छैन… निर्वाचन संविधानले दिएको अधिकार हो भनी बकम्फुसे तर्क अघि सार्दै ओलीको बचाउ गर्नुभएको छ ।
महन्थ दाजु, चुनाव त राजा ज्ञानेन्द्रले पनि घोषणा गरेका थिए । त्यो पनि जनतामा जाने उपक्रम थियो होला नि त ! तपाईंको पार्टीले त धोती लाई दियो नि उतिबेला ज्ञानेन्द्रको उर्दीलाई ! अभिलेख किन तपाईंको यति फेरियो ? सबै र सधै चुनाव लोकतान्त्रिक न हुनसक्छ । चुनाव घोषणा पछिको मोटिभ के हो त्यसको आधारमा मात्र औचित्य अनौचित्य छुट्याइउनुपर्छ । यो त स्पष्ट छ, निर्वाचन अहिले नै जरुरी थिएन । ४० अर्ब रुपैया कोभिड कार्यभारमा लगाइएको भए शायद यस्तो बिकराल र बीभत्स स्थिति आउने थिएन । संवैधानिक रुपमा पनि एक, यो सरकारको विकल्प थियो ।

दोस्रो, कोभिडको चरम मारबीच लाशै लाश, देश नै शमशान बनेको बेला प्रथम प्राथमिकता निर्वाचन तोक्नु, जनताको ज्यानभन्दा आफ्नो कुर्सीको चिन्तालाई माथि राख्नु बिलकुलै स्वार्थी सोच थियो, हो । तपाईंहरु दिल्लीको दलदलमा फस्नु भो । आजै मेरो कुराकानी भाको छ मधेशका बरिष्ठ नेता खुशीलाल मण्डलसँग । भन्दै हुनुहन्थ्यो, “दिल्ली का स्वार्थ विफल हो गया । दिल्ली ओली सरकार को नहीं बचा पाएगी । संसद पुनःः स्थापना होगा ।’ यो पनि भन्नुभो, ‘महन्थ ठाकुर नेता नहीं बन सके, अनुयायी ही बने रहें । … गजेंद्र नारायण का भी भारत से सम्बंध था लेकिन वह सम्बंध राजनीतिक था ।’

यति लेखेपछि कसैले प्रश्न गर्ला कि उपेन्द्र यादवको पनि त दोहरो मानदण्ड छ । ओली सरकारको सत्ता सुख भोगमा उहाँ अब्बल नै हुनुभयो । हो, उपेन्द्र यादवले पनि ओलीको विरोधमा ठूलठूल्ला कुरा गर्न सुहाउंदैन तर हामी जो कतै साइड लागेका छैनौ, भन्ने साहस राख्दछौं कि दुइटा गलती मिलेर एउटा सत्य हुनसक्दैन ।

महन्थहरुको ठूलो गल्ती के छ भने आज ठूला दुखले आर्ज्याको लोकतन्त्र ओलीटिक्सको लहडमा समाप्तिको संघारमा छ । ओली जोगिनुमा दिल्लीको स्वार्थ छ, तर मधेश र मधेशीको के स्वार्थ छ ? दिल्ली र बेइजिंगको लडाईं छ नेपालमा, हाम्रो के छ ? हामीले के पायौं या पाउने हो ? केही अदद मंत्री र सन्त्रीबाहेक ?? एकाध सहमतिबाहेक ?

यो नागरिकताका बारेमा जो भयो राम्रो भयो तर अहिले जसरी ढोल पिटिदैं छ महान उपलब्धिको त्यो कति सही छ ? हलो अडकाएर गोरु चुट्ने को हुन ? कसले गर्दा आजसम्म ढिलाई भाको हो ? त्यो ढिलाई या अवरोध कहाँबाट भइराखेको थियो ? जो मधेशीले आज ओलीमा जुन त्राणदाता मसीहाको छवि देखाउने कोशिश गरिराखेका छन् के तिनले भन्न सक्छन् ,ओली जुन बेला कम्फÞर्टेबल मेजोरिटीमा थिए , सबथोक गर्न सक्थे, किन केही गरेनन ? …
मधेशीलाई सत्ता हैन प्रभुसत्ता चाहिएको हो भने ओलीको सट्टा जजसलाई सत्ता चाहिएको थियो वा छ मधेशीले डटेर मांग गर्नसक्थ्यो, सिर ठाडो पारेर । दयाको भीक मागेर हैन । .. तर लाग्दछ, यो स्क्रिप्ट पहिले लेखि सकिएको थियो । गजेन्द्र बाबुका पालादेखि दिल्लीका लागि मधेशीहरु चरणका धूलोभन्दा बढ़ी छैनन् ।

आजपनि मधेशी नेताहरु दिल्लीका बंधुवा मजदूर हुन् । त्यसैले सिक्वेंस हैन यो डर्टी सिक्वेंस हो । प्रश्न देउवा, माधव, सुशील, प्रचण्डका बारे पनि उठ्दछ, उठ्नै पर्दछ । (अहिलेपनि एमाले स्कुलका एक पुराना नेता भीम रावलले छाँद हालेको छन् नागरिकता विषयमा, यो एमाले स्कुलिंगको कमाल हो) तथापि आजको प्रश्न ओली भर्सेज देउबा, माधव ,प्रचंड हैनन अहिलेको प्रश्न हो नेपालमा लोकतन्त्र रहन्छ कि रहदैन ? अलिकता पनि जे सम्भावना छ अँध्यारोबाट उज्यालोतर्फ जाने, लोकतंत्रमार्फत समतामूलक, स्वाभिमानी र समावेशी नेपालको नेपालमा लोकतन्त्रको भविष्यमाथि सबभन्दा ठूलो खडग ओलीले खड़ा गरिदिएका छन् । तिनका मतियार भएका छन् मधेशी नेताहरु । ठाकुर दा माफ गर्नु होला यो प्रतिगमन हो ।

(सीताराम अग्रहरीको फेसबुकबाट)

तपाईको प्रतिक्रिया