कारोना र नयाँ वर्ष (सम्पादकीय_

नयाँ वर्ष आउन लाग्दा सबैमा हर्ष, खुशी छल्किन्छन् । मानौ वर्षभरिको पीडा एकदिनमा विर्सिदिने जस्तो । वर्षभरि जे जस्तो वितियो, अबको वर्ष अलि राम्रो होस्, उन्नती, प्रगती होस् भनि सबैको चाहना हुन्छ । नयाँ वर्षमा काम गर्नका लागि आआफ्नो क्यालेण्डर तयार गर्छन् र सोही क्यालेण्डर अनुसार आफूलाई हिडाउँछन् । त्यसमा कतिपको चाहना पुरा हुन्छ, कतिपयको हुँदैन । तर नयाँ वर्षको इन्तजार सबैलाई हुन्छन् । नेपालीका लागि दुईटा नयाँ वर्ष सुखद रहेन । नेपालीहरुले त्यसलाई खुलेर मनाउन सकेनन् ।

विश्वभरी फैलिएको कोरोना महामारीका कारण जनता आक्रान्त छ । खुशीले चाँडपर्व पनि मनाउन सकेको छैनन् । खुशीले रमाउन पनि सकेका छैनन् । कोरोनाको पहिलो लहरबाट अक्रान्त जनता केही दिन त्यसबाट राहत पाए पनि पुन दोस्रो लहर सुरु भएको छ । यसपालीको भाइरस पहिलो लहरको भन्दा खतरनाक रहेको समाचार सबै ठाउँबाट आइरहेका छन् । पहिलो कोरोनाको महामारीभन्दा यो कोरोना महामारीमा बढी सतर्क रहनुपर्न अवस्था देखिएको छ । पहिलाको तुलनामा बढी संक्रमित हुन थालेका छन् । मृत्युदर पनि पहिलाको भन्दा बढी छन् । भारतमा कोरोनाको महामारी व्यापक हुँदै गएपछि यसको असर नेपालमा पनि पर्न थालेको छ ।

नेपालबाट रोजगारीका लागि भारत गएकाहरु नेपाल फर्किन थालेका छन् । उनीहरुलाई विना टेस्ट नेपाल छिराउँदैछन् । यसले गर्दा नेपालमा झन जोखिम बढ्ने खतरा छ । कतिपय नेपालीहरु कोरोना पोजेटिभ पनि छन् तर उनीहरुलाई त्यतिकै गाउँ पठाइ रहेका छन् । जसले गर्दा नेपालमा पनि भयावह अवस्था नहुने भन्न सकिदैन । हालसम्म नेपालमा लकडाउन गर्ने अवस्था छैन तर सीमामा कडाई गर्नेदेखि लिएर गाउँ तथा शहरमा सतर्कता अपनाउन आवश्यक देखिन्छ । नेपाल सरकारले कोरोना नियन्त्रणका लागि अहिलेदेखि पहल गरिएन भने विकराल अवस्था हुनसक्दैन भनि भन्न सकिदैन । गत वर्ष चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । त्यतिबेलासम्म कोरोना भाइरस समुदायमा फैलिसकेको थियो ।
कोरोनाको पहिलो लहर चलि नै रहेको थियो । खोपको व्यवस्था भइरहेको थियो । पहिलो चरणको खोप लगाइ सकेका छन् । कतिपयले दोस्रो चरणको खोप पनि लगाएका छन् । सर्व साधारणलाई पनि खोप दिने कुरा सरकारले गरिरहेको छ । यसै अवस्थामा कोरोनाको दोस्रो लहर सुरु भइसकेको छ । नयाँ वर्ष पनि त्यति सुखद हुने अवस्था देखिएको छैन । यो सम्पादकीय तयार गरिरहँदासम्म सरकारले लकडाउन गरेको छैन । लकडाउन गरिएन भने स्वास्थ्य मापदण्ड अपनाएर मनाउन सकिन्छ । यदि लकडाउन भयो भने घरमै चित्त बुझाउनुपर्छ ।
यो महामारीलाई सबैजनाले मिलेर परास्त गर्न सकियौं भने अगामी दिनमा मज्जाले नयाँ वर्ष परिवार इष्टमित्रसँग मिलेर मनाउन सक्छौं । स्वस्थ रहियौं भने नयाँ वर्ष पटक पटक आउँछ तर स्वस्थ नै रहेनौ भने यी नयाँ वर्षको कुनै अर्थ रहदैन ।

त्यसैले नयाँ वर्ष आयो भन्दैमा जथाभावी भिडभाड, भेटघाट, भोजभतेर, पाटी, पिकनिक नगरौं । यो केरोनामा जति दुरी बनाएर राख्न सक्छौं, त्यति नै त्यसबाट जोगिन सक्छौं, कोरोनाबाट बच्ने एक मात्र उपाय भनेको दुरी नै हो । एक आपसमा जति दुरी बनाएर राख्न सकिन्छ, त्यति नै कोरोना महामारीबाट बच्ने सम्भावना हुन्छ । यो कोरोना रोग नै यस्तो रोग हो जसमा आफन्तसँग समेत दुरी बनाएर बस्नुपर्ने हुन्छ । हुन त सबै रोगबाट बच्नका लागि पूर्व सावधानी अपनाउनु पर्नेहुन्छ तर कोरोना रोगमा सबभन्दा बढी समाधानी अपनाउनुपर्ने हुन्छ ।

सरकारले आफ्नो काम गरिरहन्छ तर जनताले आफ्नो सुरक्षाको ख्याल आफैले गर्नुपर्छ । सरकारको काम हो समन्वय गर्ने, व्यवस्थापन गर्ने तर त्यसको पालन गर्ने काम जनताको नै हो । राज्यले भेडा बाख्रा जस्तो जतिखेर पनि डण्डा देखाएर अनुशासनमा ल्याउन सकिदैन । जनताले पनि अनुशासन मान्नुपर्ने हुन्छ । कतिपय अवस्थामा कस्तो देखिएको छ भने भारतबाट सीमा नाका हुँदै आउनेलाई त्यही नाकामा स्वाव चेक जाँच गर्ने, निगेटिभ आयो भने जान दिने, पोजेटिभ आयो भने त्यही आइसोलेशनमा राख्ने । त्यसरी आइसोलेशनमा राख्न थालेपछि चोर बाटोबाट सीमा नाका पार गर्न थाले । स्वास्थ्य चेक जाँच गर्न ठाउँ हुँदै आउनै छाडे । यो दोष सरकारको त होइन नि ? सुरक्षाकर्मी नाकाको चोरबाटोसम्ममा कुरेर बस्ने कुरा पनि हुँदैन । त्यसैले जनता पनि जागरुक र सचेत हुनु आवश्यक छ । सबै सचेत, रहौं सुरक्षित रहौं नयाँ वर्ष २०७८ को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ।

तपाईको प्रतिक्रिया