‘अपवित्र सम्बन्ध धेरै टिकाउ हुँदैन’ बुढापकाले त्यति भनेको होइन । त्यसैले कुनै पनि सम्बन्ध बनाउनुभन्दा पहिले सातपटक मात्र होइन, सयपटक विचार गर्नुपर्छ भनि बुढापाकाको भनाई छ । यदि हतारमा सम्बन्ध बनाउनुभयो भने सुरुको दिन दुई चार महिना रमाईलो हुन्छ त्यसपछिका दिनहरु भयावह हुने निश्चित छ । त्यस्तै भएको छ, जनता समाजवाद पार्टी नेपालको अवस्था । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलाएर जसपा बनाएको एक वर्ष पनि भएको छैन ।
तर डिभोर्सको अवस्थामा अर्थात विछोडको अवस्थामा पुगेको छ । नयाँ बेहुला–बेहुली जस्तो एकीकरणको सुरुको दिनमा खुबै रमाइलो भयो, चर्चा पनि भयो । तर विस्तारै विस्तारै सम्बन्धमा दरार पर्दै गयो अहिले त्यो पार्टीको अवस्था यस्तो भयो कि एक अर्कासँग डिभोर्स मागिरहेको छ । तर डिभोर्समा कोही पनि हस्ताक्षर गर्न चाहेका छैनन् । अर्थात डिभोर्सको अवजस कसैले लिन चाहेका छैनन ।
जसपा नेपालमा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने कि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समर्थन गर्ने विषयमा जसपामा विवाद उत्पन्न भएको छ । अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्माको पक्षमा हुनुहुन्छ भने अध्यक्ष उपेन्द्र यादव प्रचण्डको पक्षमा रहनु भएको छ । त्यसअघि पार्टी समायोजनका विषयलाई लिएर नेताहरुको बीचमा ठाकठुक परेको थियो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई कुनै पनि हालतमा समर्थन गर्न सकिदैन भन्दै आउनु भएको छ ।
अध्यक्ष भट्टराईले केपी ओलीलाई भष्मासुर भन्दै जति छिटो सरकारबाट विदाई गर्नुपर्छ भन्दै समाजिक सञ्जालमा लेख्दै आउनु भएको छ । यता जसपा नेपाल अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुको माग जसले पूरा गर्छन् उसैलाई समर्थन गर्ने भन्दै प्रधानमन्त्री अोलीसँग नियमित छलफल गर्दै आउनु भएको छ ।
यसअघि ओलीको नेतृत्वमा सरकार बन्दा उपेन्द्र यादव त्यसमा सहभागी हुन मिल्ने तर आज ओलीले जसपा नेपालको सम्पूर्ण माग पुरा गर्न तयार हुनुभएको छ, सबै माग पुरा गर्दियो भने उहाँलाई समर्थन गर्न किन मिल्दैन ? उपेन्द्र यादवको यही बानीले गर्दा पार्टी पटक पटक विभाजन भएका छन्, आफूले गर्दा ठिक अरुले गर्दा बेठिक, उहाँको यही अडान रह्यो भने जसपा नेपाल विभाजन हुन्छ ।’ भनि ठाकुर पक्षका नेताहरुले भन्दै आएका छन् ।
सन् २००९ मा प्रचण्डलाई प्रधानमन्त्री बनाउने कि माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने विषयमा पार्टीभित्र विजयकुमार गच्छदारसँग विवाद हुँदा पार्टी विभाजन भएको थियो । उपेन्द्र यादव प्रचण्डको पक्षमा हुनुहुन्थ्यो भने विजयकुमार गच्छदार माधवकुमार गच्छदारको पक्षमा हुनुहुन्थ्यो । यस्तै पक्ष विपक्षका कारण तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल विभाजन भएको थियो । त्यसपछि पनि सरकारको समर्थनकै विषयमा कसलाई समर्थन गर्ने नगर्ने विषयमा विवाद हुदै गर्दा जेपी गुप्ता पनि पार्टी विभाजन गर्नुभएको थियो । पछिल्लो समय पनि रेणु यादवको नेतृत्वमा पार्टी विभाजन हुन गइरहेको थियो । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा अोलीले सबै तारतम्य मिलाई सक्नु भएको थियो । उपेन्द्र यादवले राताराता बैशाख १० गते तत्कालिन राजपा नेपालसँग एकीकरण गरेपछि उहाँको पार्टी जोगिएको थियो । त्यही एकीकरणका लागि पार्टी विभाजनबाट जोगिएको थियो ।
अहिले फेरि उपेन्द्र यादव र महन्थ ठाकुरले बुद्धि पुर्याएन भने पार्टी विभाजन निश्चित छ । उपेन्द्र यादवले पनि केपी अोलीलाई समर्थन गर्नुपर्छ वा सो प्रकृयामा मौन बस्दिनुपर्छ, यस्तो गर्दा मात्र पार्टी विभाजनबाट रोकिन्छ । नत्र उपेन्द्र यादव आफ्नो अडानमा कायमै रहे भने पार्टी विभाजन हुने निश्चित छ ।
या महन्थ ठाकुरले पनि जसपा विभाजन हुनबाट रोक्न ओलीलाई समर्थन दिने अडान त्याग्नुपर्छ ।
जसपा नेपालका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले जसपा कुनै पनि हालतमा विभाजन नहुने दावी गर्नुभएको छ । उहाँले भन्नुभयो, प्रधानमन्त्री ओली विगतका भन्दा अहिले मधेशप्रति सकारात्मक हुनुभएको छ, जसपलाई ओली होइन, ओलीलाई जसपा चाहिएको जस्तो अवस्था सृजना भएको छ, मधेशको माग पुरा गराउन जसपा नेपालमा एकमत छ, पार्टी विभाजन गर्ने जस्ता घृणित काम कसैबाट हुँदैन ।’
जसपा नेपालमा ३४ जना सांसद रहेका छन् ।
तत्कालिन समाजवादी पार्टीका १७ र राजपा नेपालका १७ जना सांसद रहेका छन् । तर जब पार्टी विभाजन हुने अवस्था आउँछन् अनि तत्कालिन समाजवादी पार्टीका आठजना सांसदले महन्थ ठाकुरलाई साथ दिने तयारी अवस्थामा छन् । त्यसमध्ये एकदुई जना यताउति हुनसक्छ तर अरु बाँकी अहिलेसम्म संगठित अवस्थामा नै छन् । उपेन्द्र यादव र डा.बाबुराम भट्टराई जसपा नेपालका सांसदहरुलाई बोलाएर कभिन्स गर्ने प्रयास गरिरहेका छन् ।


तपाईको प्रतिक्रिया