Khadya Bibhag

पार्टीमा घुसपैठ गराएपछि समायोजनमा लफडा

गत बैशाख १० गते तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच एकीकरण भइ जनता समाजवादी पार्टी नेपाल बनेको थियो तर पार्टीमा अझै समायोजन हुन सकेको छैन । जसपा नेपालले आफैले जारी गरेको समायोजन निर्देशिका अनुसार पार्टीको समायोजन नगर्ने भएको छ ।

समायोजनका लागि पटक पटक तिथि मिति घोषणा गरेपनि एक आधा ठाउँबाहेक कहीँ कतै समायोजन हुनसकेको छैन । समायोजनका लागि प्रदेश, जिल्ला, स्थानीय तह धेरै ठाउँमा प्रयास भयो तर अधिकाँश ठाउँमा विवाद भयो । धेरै ठाउँमा समानन्तर कमिटीहरु गठन गर्न सुरु भयो । यसरी विवाद हुन थालेपछि अब केन्द्रबाट नै त्यसलाई सुल्झाउने भन्दै समायोजनका सम्पूर्ण काम अहिले स्थगित गरिएको छ । सुरुमा पार्टीले तयार पारेको निर्देशन अनुसार समायोजन गर्ने भनि प्रदेश, जिल्ला तथा स्थानीय स्तरमा सर्कुलर पठायो त्यसले समायोजन नहुने देखेपछि अर्को सर्कुलर पठायो जसमा कही पनि सहमति हुनसकेन जताततै विवाद नै भयो ।

त्यसपछि जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवका सहमतिमा एउटा अर्को सर्कुलर गयो । जसमा चुनावमा पूर्व राजपा र पूर्व समाजवादी पार्टीलाई आएको मतको आधारमा पार्टी समायोजन गर्ने उल्लेख थियो । तर त्यसले झन झन्झट उत्पन्न गरायो । सो सर्कुलरमाथि केन्द्रमा पनि तत्कालिन राजपा नेपालका नेताहरुले टिप्पणी गर्न थाल्नुभयो । अन्त्यमा त्यो सर्कुलरको आधारमा पनि समायोजन भएन । केन्द्रले नै समायेजन टुगों लगाउने दुवै दलके बीचमा सहमति भयो ।

अब जिल्ला जिल्लाबाट दुवै पार्टीको नामावली संकलन गरेर केन्द्रबाट नै समायोजन प्रकृया टुगों लगाउने तयारी भइरहेको छ । पार्टी एकीकरण भएको ११ महिना भन्दा बढी भइसक्यो तर अझै पार्टीको समायोजन टुगों लगाउने छैन । जसपा नेपालका कार्यकारिणी सदस्य रेणु यादवले जिल्ला, प्रदेश तथा स्थानीय तहमा समायोजनको प्रकृया टुगों लगाउन सर्कुलर गरेपनि अपेक्षा अनुसार काम नभएको स्वीकार गर्नुभयो ।

अधिकाँश ठाउँमा पूर्व राजपा नेपालका नेताहरुले बखेडा झिकेको कारण समायोजनमा ढिलाई भइरहेको बताउनुभयो । राजपा नेपालको प्रत्येक कमिटी तथा तहमा छजना अध्यक्ष भएको कारण समायोजन प्रकृया टुगों लगाउन समस्या भएको बताउँदै उहाँले भन्नुभयो, ‘समाजवादी पार्टीको एउटा अध्यक्ष हुन्छ तर राजपा नेपालको छजना अध्यक्ष हुन्छन् त्यहाँ एकीकृत पार्टीको अध्यक्ष कसलाई बनाउने समस्या अधिकाँश ठाउँमा देखिएकाछन् त्यसले गर्दा समायोजन प्रकृया अगाडि बढाउन समस्या भइरहेको छ ।’

एकीकरण भएको तीन महिनाभित्र समायोजन टुगों लगाउने निर्णय गरेको थियो । तर समायोजनका लागि पटक पटक मिति तोक्यो, सर्कुलर जारी भयो तर समायोजन हुन सकेको छैन । मंंसिरमसान्तभित्र समायोजन टुगों लगाउने सर्कुलर गरेको थियो तर त्यो समय पनि खेर गइसक्यो तर हालसम्म टुगों लागेको छैन । सरकारलाई सहयोग गर्ने विषयमा पार्टीभित्र मनमुटाव सुरु भएदेखि जिल्लामा अलिअलि भइरहेको समायोजन प्रकृया पनि स्थगित भएको छ ।

पूर्व समाजवादी पार्टीका नेताहरुले जसपा नेपालका कारण समायोजन प्रकृया अवरोध भइरहेको आरोप लगाएका छन् भने पूर्व राजपा नेपालका नेताहरुले समाजवादी पार्टीलाई आरोप लगाइरहेका छन् । एक अर्कालाई आरोप लगाउँदै समायोजन प्रकृयालाई अवरोध गरेका छन् । आफ्नो पूर्व पार्टीभित्रको समायोजन प्रकृया टुगों लगाउनका लागि अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी सदस्य जितेन्द्र सोनलको संयोजकत्वमा छुट्टै कार्यदल बनाउनु भएको छ ।

छ दल मिलेर बनेको राजपा नेपालभित्रको आन्तरिक विवाद मिलाउने त्यसपछि मात्र समाजवादी पार्टीसँग समायोजन गर्ने उद्देश्यका साथ जसपा नेपालका कार्यकारिणी सदस्य जितेन्द्र सोनलको संयोजकत्वमा कार्यदल गठन भएको हो । सो कार्यदलले आफ्नो काम पनि सुरु गरिसकेको छ । पूर्व राजपा नेपालका भातृ संगठन, जिल्ला, प्रदेश तथा स्थानीय तहका संगठनलाई एकीकृत तथा सुसंगठित गरेर मात्र समाजवादी पार्टीसँग एकीकरणको प्रकृया अगाडी बढाउने भएको छ ।

छवटा दल मिलेर राजपा नेपाल बनेको थियो । राजपा नेपालभित्रै समायोजन टुगों लागेको थिएन । राजपा नेपालभित्र समायोजनको टुगों नलागेका कारण अहिले समाजवादी पार्टीसँग समायोजनसँग समस्या भइरहेको छ । राजपा नेपालको जिल्ला जिल्लामा ६–६ वटा जिल्ला अध्यक्ष रहेका छन् । अन्य कतिपय भातृ संगठनमा पनि त्यही अवस्था रहेको छ । त्यसलाई टुगों लगाएर मात्र समायोजन प्रकृया अगाडि बढने पार्टीका कार्यकारिणी समिति सदस्य केशव झाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया