Khadya Bibhag

जाँदाजाँदै मन्त्री पद्मा अर्यालले बोल्नुभयो यी १० झुठ

काठमाडौ जेठ २५ गते । कृषि तथा पशुन्छी विकास मन्त्रालयका निवर्तमान मन्त्री पद्मा अर्याल मन्त्री पद छाड्दा छाड्दै १० वटा झुट बोलेर जानु भएको छ ।

कृषि मन्त्रालयले जेठ २३ गते उहाँको विदाई तथा सम्मानको अवसरमा राखेको कार्यक्रममा उहाँले आफू मन्त्रालयमा १६० दिन बसेर काम गर्दा मुख्य उपलब्धीहरु प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गरेको उपलब्धीहरुको बारेमा अहिले मन्त्रालयभरि चर्चा छ ।

मन्त्रालयका एकजना सहसचिवले भन्नुभयो, पाँच महिनासम्म गफ दिएर मन्त्रालय चलाउनु भएको मन्त्री जाँदा जाँदै पनि ठूलै गफ दिएर जानुभयो । पाँच महिनामा एउटा सिन्को भाँच्न नसक्नु भएमा उहाँले अरुले गरेका सबै कामलाई आफूले नै गरेको जस्तो भनेर जानुभयो ।’
न नीति छ, न निर्देशन छ, न कार्यविधि छ, नकुनै निर्णय छ आफूलाई जे जे मन लाग्यो अरुको काममा पोलिस लगाउँदै चम्काउदै आफूले गरेको जस्तै प्रचार गरेर जानु भएको चर्चा मन्त्रालयभरी छ । ती सहसचिवले भन्नुभयो, मन्त्री अर्यालले नीतिगत एउटा पनि काम गरेको छ भने देखाई दियोस् आजै यो जागिर छाडेर हिड्छु ।’

मन्त्रीको नीजि सचिवालयबाट प्राप्त १० वटा मुख्य मुख्य उपलव्धिहरूको यसरी विश्लेषण गर्दाः

१.उखु किसानको आन्दोलन व्यवस्थापन र समस्या समाधानको लागि पहिलो हप्ता नै पहल गरी आन्दोलित उखु कृषकहरू फिर्ता गराउन पहल ।
उखु किसानलाई रकम दिलाउने काम उद्योग मन्त्रालयले गर्यो जसमा गृहमन्त्रालयको मुख्य भूमिका रह्यो । तर निवर्तमान मन्त्री अर्याले किसानको भुक्तानी आफैले मात्र दिलएको सन्देश दिएर जानुभयो । पहिल भनेको पत्र लेखेर मात्र हुँदैन । यस्तो थुप्र्रै पत्र घनश्याम भूसाल मन्त्री भएको बेलामा पनि लेखेर जानुभएको थियो । बरु मन्त्रालयकै तथ्यांक नै हेर्ने हो भने पद्मा अर्यालभन्दा बढी घनश्याम भुसालको प्रयास धेरै देखिन्छ । यसका लागि उहाँले त्यतिबेला गृहमन्त्रीदेखि प्रधानमन्त्रीसँग झगडा गर्नुभएको थियो । तर अहिले आएर पद्मा अर्यालले आफ्नो पहलबाट यी सब सम्भव भएको भन्नुहुन्छ ।

२.भन्सार नाकाहरूमा Nepal National Single Window System बाट क्वारेन्टाइन सेवा संचालन आरम्भ ।
भन्सार नाकामा रहेका क्वारेन्टाइनहरु सेवाहरुलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने काम विगत चार पाँच वर्षदेखि हुँदै आइरहेको थियो । कतिपय ठाउँमा काम पनि सुरु भएको थियो तर व्यवस्थित थिएन । पद्मा अर्यालले त्यसलाई सफा सुग्धर गर्दै व्यवस्थित गरेर सञ्चालनमा ल्याउनु भएको मात्र हो । उहाँको पालामा भएको होइन ।

३.कालीमाटी बजारमा कृषकहरूको बजार सुनिश्चितताको लागि होल्डिङ्ग यार्ड व्यवस्था ।
कालीमाटी फलफुल तथा तरकारी बजारमा किसानका लागि छुट्टै स्टल बनाउने माग धेरै पहिलादेखि हुँदै आइरहेको थियो । त्यसका लागि किसानले आन्दोलनसम्म गरेको थियो । अरु मन्त्रीको पालामा पनि किसानका लागि छुट्टै स्टल बनाउने कुरा उठेको थियो तर अरुले गर्न नसकेको काम पदमा अर्यालले गर्नुभयो । यो एउटा काम उहाँको पालामा भएको मन्त्रालय पदाधिकारीहरु बताउनुुहुन्छ ।

४.सार्क क्षेत्रमा नै पहिलोपटक देशभरिकै माटोको डिजिटल नक्सा सार्वजनिकीकरण र प्रयोग ।
माटोको गुणस्तर मापणका लागि डिजिटल म्याप बनाउने काम नार्कले तीन चार वर्ष पहिलदेखि सुरु गरेको थियो । त्यसका लागि एउटा छुट्टै टिम बनाएर डिजिटल म्यापिङ्का लागि नमुना संकलन गर्दै कामहरु भइरहेको थियो । सबै जिल्लाको नमूना पनि संकलन भएको थिएन । काम भइ नै रहेको थियो तर मन्त्री अर्याललाई उद्घाटन गर्न हतार थियो अधुरो म्यापिङ्लाई उहाँले प्रधानमन्त्रीबाट उद्घाटन गर्न लगाउनुभयो । अहिले त्यो म्यापिङ्को अवस्था कस्तो छ त्यो खोलेर हेर्दा हुन्छ । अहिलेसम्म त्यसलाई कसरी सञ्चालन गर्ने कार्यविधि पनि बनेको छैन । तर मन्त्रीलाई काम देखाउने हतारो भएको कारणले डिजिटल म्याप सार्वजनिक गर्नुभयो ।

५.सम्माननीय प्रधानमन्त्रीज्यूबाट किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ ।
निवर्तमान कृषि मन्त्री अर्यालले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीबाट किसान सूचीकरण राष्ट्रिय अभियान शुभारम्भ गराउनु भयो तर त्यो अभियानको अवस्था कस्तो छ त्यो कसैबाट लुकेको छैन । किसान सूचीकरण अभियान धेरै पहिलाबट सुरु भएपनि त्यसले पूर्णता पाएको थिएनन् । किसानको विवरण संकलनका लागि प्रदेशमा तालिम चलिरहेकै थियो । प्रदेशमा तालिम सकेपछि स्थानीय तहमा तालिम हुन्थ्यो र त्यहाँ तालिम सकेपछि मात्र विवरण संकलनको काम सुरु हुन्थ्यो तर यी सबै प्रकृयामा रहेकै अवस्थामा अभियान सुभारम्भ भयो भन्दै प्रधानमन्त्री अ‍ोलीबाट उद्घाटन गर्न लगाउनुभयो ।

अहिले त्यो अभियानको अवस्था कस्तो छ कुनै स्थानीय तहमा फोन गरेर सोध्दा हुन्छ, मन्त्रालयका ती अधिकारीले भन्नुभयो, कुनै पनि ठाउँमा सूचीकरणको अभियान सुरु भएको छैन, अहिले थुप्रै काम बाँकी छ ।’ यहाँसम्म कि यत्रो तामझामका साथ अभियान सुरु भयो तर त्यसलाई वजेटले सम्बोधन गरेको छैन ।

६.सम्माननीय प्रधानमन्त्रीज्यूबाट पशुपन्छीजन्य उत्पादनहरू अण्डा, कुखुराको मासु र पाउडर दुधमा आत्मनिर्भरताको घोषणा ।
सबभन्दा बढी हाँसको काम त उहााले अण्डठा, कुखुराको मासु र पाउडर दुधमा आत्मनिर्भरको घोषणा गरेर गर्नुभयो । तथ्यांक नै भन्छ, अण्डाबाहेक कुनैमा आत्मनिर्भर नै छैन । देशमा दैनिक आठ लाख केजी दैनिक उत्पादन हुन्छ त्यसमध्ये पाँच साढे पाँचलाख उपत्यकामा मात्र खपत हुन्छ अब अनुमान गर्नुस् तीन लाखले मात्र उपत्यकाबाहेक अरु ठाउँमा पुग्छ त ? तथ्यांकले नै भन्छ पुग्दैन । यो कोरोनाको समयमा विक्रि नभएको कुखुराको मासु पर्याप्त देखेर फलाफाल देखेर त्यसलाई नै आत्मनिर्भर भनेर मन्त्रीले घोषणा गर्नुभएको छ । त्यस्तै धुलो दूधमा पनि गर्नु भएको छ । धुलो दुध नेपाली डेरीबालालाई नै पुग्दैन ।

भारतबाट ल्याएर काम चलाइरहेका छन् तर मन्त्री आर्यालले धुलो दुधमा आत्मनिर्भर रहेको घोषणा गर्नुभयो । नेपालको धुलो दुध कुनै पनि पसल वा डिपार्टमेन्टल स्टोरमा पाउँदैन । आमउपभोक्ताले नेपालको धुलो दुध कस्तो हुन्छ आजसम्म हेर्न पाएको छैन खान त धेरै टाढााको कुरा हो तर मन्त्री अर्यालले देशलाई आत्मनिर्भर नै घोषणा गर्नुभयो । कोरोनाको लकडाउनमा विक्रि नभएका दूधको धुलो दुध बनाएर भण्डारमा राखिएको छ । खपत नभएको कारण बढी देखिएको हो । बन्दाबन्दी हटेपछि यस्तै अवस्था रहदैन । त्यसपछि धुलो कुखुराको दानालाई पुर्याउन सक्दैन मानवको लागि धेरै टाढाको कुरा हो तर यी कुराको तयारी नगरीकन त्यतिकै उहाँले घोषणा गर्नुभयो ।

७.स्वदेशमा नै रासायनिक मल कारखाना स्थापनाको लागि बजेट विनियोजन ।
यो सबैलाई थाह भएकै कुरा हो, रसायनिक मलका लागि धेरै पहिलादेखि नेपालमा प्रयास हुँदै आइरहेको थियो । विभिन्न समिति तथा कार्यदल बनाएर अध्ययन भएको हो । घनश्याम भुसाल मन्त्री भएको बेला तत्कालिन कृषि सचिव राजेन्द्र भारीको नेतृत्वमा कार्यदल गठन भएको थियो । सो कार्यदलले प्रधानमन्त्री अ‍ोलीलाई बुझाउनु भएको प्रतिवेदनका आधारमा अर्थमन्त्रीको संयोजकत्वमा अर्को कार्यदल पनि गठन भएको थियो । सो कार्यदलको अध्ययन प्रतिवेदनका आधारमा कारखाना खोल्ने कुरा अगाडि बढेको हो तर तर पदमा अर्यालले यी सबै काम आफ्नो पालामा भएको र कारखाना खोल्नका लागि वजेट विनियोजन गरिएको उहाँले भन्नुभएको छ ।

८.इतिहासमै पहिलोपटक उत्तरी नाकाबाट रासायनिक मल आयातको सुरुवात ।
चीनबाट मल ल्याउने प्रकृया घनश्याम भुसालकै पालामा भएको हो । सल्ट ट्रेडिङ् कर्पोरेशनका एक अधिकारीले भने, घनश्याम भुसाल मन्त्री भएको बेला नै यसको प्रकृया सुरु भएको थियो । पछि मितेरी पुलको समस्या पनि भयो । के के झन्झट झेल्दै, मिलाउँदै आएपछि बल्ल पदमा अर्यालको पालामा टेन्डर भयो ।’ सबै काम अर्का मन्त्रीको पाला भयो उहाँ आएपछि मात्र टेन्डर गरी चार हजार टन युरिया मल आयो तर निवर्टमान मन्त्री अर्याल भन्नु हुन्छ मेरै पालामा चीनबाट म आयात भयो ।

९.इजरायल सरकारको सहयोगमा सवै प्रदेशका एक एक वटा सरकारी फार्म केन्द्रलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्न बजेट विनियोजन ।
यो सन्टेर अफ एक्सिलेन्सको पनि पहिलाकै मन्त्रीको पालामा सबै कुराहरु मिलिसकेको थियो । पदमा अर्याल आएपछि इजराइली सरकारसँग एग्रीमेन्ट मात्र भएको हो ।

१०.नेपाल सरकार र भारत सरकारबीच रासायनिक मलको आयातको लागि सरकार सरकार (न् तय न् ) प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्वाट स्वीकृति प्राप्त ।
भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने कुरा यसअघिका दुईटा मन्त्रीको कार्यकालमा पनि सुरु भएको थियो । पटकपटक कागजात आदान प्रदान पनि भएको थियो । बीचमा भारत र नेपालबीच सम्बन्ध विग्रिएको कारण प्रकृया रोकिएको थियो । घनश्याम भुसाल मन्त्री भएर आएपछि प्रकृया पुनः सुरु भएको थियो । सोही प्रकृया अन्तर्गत क्यविनेटसम्म पुगेको हो । हो, यो कुरा सही हो कि पदमा आर्याल मन्त्री भएको बेला जीटुजी प्रकृयाका लागि अगाडि बढ्न मन्त्रीपरिषद्ले सैद्धान्तिक सहमती दिएको हो ।

तपाईको प्रतिक्रिया