अब निर्वाध कुद्ने भयो दूध बोक्ने गाडी

काठमाडौँ असार २ गते । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध ढुवानी गर्ने गाडीलाई आज लोगो प्रदान गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीबाट गत चैत १२ गते अनावरण भएको लोगो चार महिनापछि गाडीमा प्रयोग हुने भएको छ । बन्द हड्ताल तथा बन्दीबन्दी जस्तो समयमा बाटो घाटो कसैले रोकटोक नगरोस् भनेर बोर्डले एउटा लोगो बनाएको छ । सो लोगो गाडीमा लगाएपछि जुनसुकै बेला, जुनसुकै अवस्थामा सञ्चालन गर्न सकिने भएको छ ।

बोर्डले आज दूध विकास संस्थानका १५ वटा र हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टरका पाँचवटा गाडीलाई सो लोगो प्रदान गरेको बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले बताउनुभयो । यो लोगो लगाई सकेपछि कही, कतै कुनै पनि अवस्थामा रोकटोक नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, एम्बुलेन्स जस्तै अब निर्वाध रुपमा दूध तथा दुग्धजन्य पदार्थ बोक्ने गाडी गुड्नेछन् ।’


दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिन्ह (लोगो) प्रयोग गर्ने सम्बन्धी कार्यबिधि, २०७७ बमोजिम बोर्डमा प्राप्त भएका आवेदन सम्बन्धमा बोर्डबाट आवश्यक परीक्षण पश्चात वोर्डको जेठ ३० को निर्णय बमोजिम दुग्ध विकास सस्थान र हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेकादूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिन्ह (लोगो) उपलब्ध गराउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

सोहि अनुसार आज दुग्ध विकास संस्थान, केन्द्रीय कार्यालय लैनचौरमा एक कार्यक्रम आयोजना गरी औपचारिक रुपमा दुग्ध विकास संस्थानका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनहरुमा प्रतीक चिन्ह (लोगो) वितरण गरिएको उहाँले बताउनुभयो ।
नेपाल सरकारले दूध ढुवानीलाई अत्यावश्यक सेवामा राखेको र यस्ता सवारी साधनलाई पहिचान खुल्ने गरी प्रतीक चिन्ह प्रदान गरिएको हुँदा प्रतीक चिन्ह अंकित सवारी साधनलाई अत्यावश्यकीय सवारी साधनको रुपमा बिना अवरोध सञ्चालनमा सहयोग गरिएमा दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम रही उपभोक्ताको गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ उपभोग गर्ने हक सनुश्चित हुने विश्वास लिईएको उहाँले बताउनुभयो ।

यसको कार्यान्वयनमा सबै सरोकारबालाहरुको सक्रिय सहयोगको अपेक्षा गरिएको बोर्डले जनाएको छ ।


किन आवश्यक ?
कृषकहरुबाट उत्पादित दूधलाई प्रशोधन, भण्डारण तथा वजारीकरण गर्दा दूधमा पाईने सम्पूर्ण पौष्टिकतत्वहरुको संरक्षण गर्न दूधलाई चिसो तापक्रम (४⁰सेन्टिग्रेड) कायम हुने गरी राख्नु पर्ने हुन्छ ।

तसर्थ किसानको गोठमा उत्पादित दूधलाई सकेसम्म छिटो चिस्यान केन्द्रमा पुर्याउन पर्ने हुन्छ । चिस्यान केन्द्रमा जम्मा भएको दूधलाई चिसो तापक्रम कायम हुने गरी उपयुक्त ढुवानीको साधनबाट प्रशोधन केन्द्र तथा प्रशोधित दूध तथा दुग्ध पदार्थलाई विक्री वितरण केन्द्रसम्म पुर्याउन पर्ने हुन्छ । यस क्रममा हुने ढुवानीमा कुनै रोकावट भएमा दूधको तापक्रम कायम राख्न नसकिने र यसबाट दूधको गुणस्तरमा ह्रास हुन्छ ।


दूध ढुवानीको संवेदनशिलतालाई मध्यनजर गर्दै बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई पहिचान गरी निर्वाध सञ्चालनको लागि प्रतीक चिन्ह (लोगो) सहित सञ्चालनको अवधारणा ल्याएको छ ।

प्रतीक चिन्ह (लोगो) अनुमोदन गरी दूधतथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिन्ह (लोगो) प्रयोग गर्ने सम्वन्धी कार्यबिधि समेत स्वीकृत गरिसकेको छ ।

लोगो वितरण कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित सचिव डा. विमल कुमार निर्मल, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादव,दुग्ध विकास सस्थानका अध्यक्ष बाबुराम पाण्डे,दुग्ध विकास संस्थानका महाप्रवन्धक रुद्र प्रसाद पौडेल लगायत मन्त्रालय, बोर्ड तथा संस्थानका पदाधिकारीहरुको उपस्थिती थियो।

तपाईको प्रतिक्रिया