काठमाडौँ असार १६ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका कार्यकारिणी समितिको बैठक बोलाउनु भएको छ । बबरमहलको मधेश भवनमा बोलाइएको बैठकमा अध्यक्ष ठाकुरले पछिल्लो समय हेरफेर गर्नुभएको कार्यकारिणी समितिका सदस्यहरुको उपस्थिति रहने बताइएको छ ।
पार्टीको आन्तरिक विवाद र देशको समसामयिक राजनीतिक विषयमा छलफलका लागि सो बैठक बोलाइएको हो । पुरानो कार्यकारिणी समिति अनुसार पार्टीमा उपेन्द्र यादवको बहुमत रहेको छ भने हेरफेर गरी बनाइएको समितिमा महन्थ ठाकुरको बहुमत रहेको छ ।
यद्यपी निर्वाचन आयोगले कुन कार्यकारिणी समितिलाई मान्यता दिन्छ त्यो कुरा निर्णायक हुन्छ । महन्थ ठाकुरले आफूले पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले दिएको अधिकारको आधारमा यो कार्यकारिणी समितिमा निर्णय गरेको बताउँदै आउनु भएको छ भने उपेन्द्र यादवले अध्यक्ष ठाकुरलाई बैठकले त्यस्तो कुनै अधिकार नदिएको दावी गर्दै आउनु भएको छ ।
पुरानोलाई मान्यता दियो भने महन्थ ठाकुरले नयाँ पार्टी गठन गर्नुपर्ने हुन्छ भने नयाँ हेरफेरगरिएको समितिलाई मान्यता दियो भने उपेन्द्र यादवलाई नयाँ पार्टी गठन गर्नुपर्ने हुन्छ ।
अध्यक्ष ठाकुरले हेरफेर गरेको कार्यसमितिको बैठक बस्न लागेको हो । अध्यक्ष ठाकुरले ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षका २० जनालाई हटाएर आफ्नो पक्षबाट २० जना थपेका हुन् । हेरफेर गरी कायम गरेको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।
पार्टीको अनुसशान विपरित कार्य गरेको भन्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित अन्य नेताहरुलाई पार्टीबाट निष्कासित गरी कारवाही गर्नुभएको थियो । त्यसपछि अध्यक्ष महन्थ ठाकुरले पनि उपेन्द्र यादवलाई पार्टीबाट निष्काशित गरेर कारवाही गर्नुभयो ।
आधिकारिकतामाथि दावी गर्दै अध्यक्ष उपेन्द्र यादव निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । त्यसको जवाफ निर्वाचन आयोगले महन्थ ठाकुरसाँग माग गरेको थियो । अध्यक्ष महन्थ ठाकुरले जवाफ आयोगलाई पठाउनुभयो । महन्थ ठाकुरको पत्र आयोगमा पुगेपछि दुवैजनालाई छलफलका लागि निर्वाचन आयोग बोलाएको छ । त्यसको विषयमा पनि कार्यकारिणी समितिमा छलफल हुने बताइएको छ ।


तपाईको प्रतिक्रिया