काठमाडौँ असार २७ गते । एमालेले गठन गरेको कार्यदलको छलफल जारी रहेकै बेला पार्टीले स्थायी कमिटीको बैठक बोलाएको छ । आज साँझ ४ बजे बस्ने गरी बैठक बोलाइएको छ ।
सहमति पत्रमा आजै हस्ताक्षर हुने भनिएको थियो तर माधव पक्षले मस्यौदाको केही बुँदामा असहमति जनाएपछि सहमतिको वतावरण विग्रिने अवस्थामा पुगेपछि अोली पक्षको स्थायी कमिटीको बैठक बस्न लागेको हो ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज बिहान ९ बजेदेखि कार्यदलको बैठक बसिरहेको छ । कार्यदलमा भएको सहमतिलाई भाषिक रूपमा मिलाएर हस्ताक्षर गरिने कार्यदलका सदस्यहरूले बताएका छन् । कार्यदलको बैठकअघि माधव नेपाल पक्षका सदस्यहरूले नेता नेपालको घरमा पुगेर उहाँसँग परामर्श गर्नुभएको थियो ।
नेता नेपालले अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा प्रभावित गर्ने गरी कुनै सम्झौता नगर्ने अडान लिएको स्रोतको दावी छ । कार्यदलले अदालती मुद्दा प्रभावित नहुनेगरी सहमतिको मस्यौदा गरेको कार्यदलका एक सदस्यले जानकारी दिनुभयो । बैठकमा प्रवेश गर्नुअघि नेताहरूले आजै हस्ताक्षर हुने बताउनु भएको थियो ।


तपाईको प्रतिक्रिया