आज कोदो दिवसः चार हजार वर्ष पुरानो बाली कोदो

लगभग ५ हजार वर्ष पहिले पुर्वी अफ्रिकी मुलुक इथियोपियाबाट उत्पत्ति भएको कोदो ४ हजार वर्ष अघि भारत हुँदै नेपाल भित्रिएको थियो । विश्वका २५ भन्दा बढी अफ्रिकी र एशियाली देशहरुमा यसको खेती हुने गरेको छ ।

नेपालको सन्दर्भमा कोदो मुख्य खाद्यान्न बालीहरु मध्ये चौथो नम्बरमा पर्ने बाली हो । हाम्रो देशको तराईदेखि ३ हजार मिटरको उचाइसम्म उत्पादन हुने यो बाली पौष्टिकता र पर्यावरणीय हिसाबले निकै महत्वपूर्ण मान्न सकिन्छ ।


कोदोमा क्याल्सियम, आइरन, प्रोटिन, खनिज लगायतका पौष्टिकताले युक्त औषधीय गुण भएको बाली भएकोले बालबालिका, गर्भवती, मधुमेह, रक्तचाप लगाएतका बिरामीहरुका लागि निकै उपयोगी खाद्यान्न हो। मकैमा भन्दा ३५ गुणा र गहुंमा भन्दा ८।७३ गुणा बढी क्याल्सियम कोदोमा पाइन्छ । यसैगरी चामलमा भन्दा २।३गुणा, मकैमा भन्दा ३।७ गुणा र गहुँमा भन्दा १।५ गुणा बढी फलाम तत्व पाइन्छ।

मुटु रोग, स्वासप्रश्वास, पाचन प्रणाली, क्यान्सर लगायतका रोगहरुमा लाभदायक देखिएको यो खाद्यान्न रोगप्रतिरोधात्मक क्षमता हुने र यसले मांसपेशी र हड्डीलाई समेत मजबुत बनाउने अनुसन्धानहरूले पुष्टि गरेको छ।

नेपाली जनजीवनमा कु अन्नको उपाधि पाएको कोदो गरिबको भिटामिनको रुपमा पनि लिन सकिन्छ। तर पछिल्लो समयमा पत्रु खानाका कारण स्वास्थ्यमा आएको खराबी र यसको औषधीय गुणको महत्व थाहा पाएपछि भने सम्भ्रान्त वर्ग हरूको रोजाइमा पनि कोदोका परिकारहरू पर्न थालेका छन।

अझ यसलाइ प्रवर्द्धन गर्नकालागी चाउचाउ, पाउरोटी, बिस्कुट, क्याण्डी, सातु जस्ता मुल्यश्रृखलाका आयामहरूमा जोड्दै लाने हो भने किसानले उचित मुल्य पाउने र उपभोक्ताले औषधिय गुण भएको खाद्य बस्तु प्राप्त गर्ने हुंदा व्यापक उपभोक्ता सचेतना कार्यक्रम सँगै निजी क्षेत्रसँगको सहकार्यमा तहगत सरकारहरूले कार्यान्वयन योग्य कोदो प्रवर्द्धन योजना बनाउन ढिलो गर्नुहुँदैन।

मैथलीमा मडुवा र नेवारीमा डुसीको नामले चिनिने कोदो गुरुङ, मगर, तामाङ, राइ, लिम्बूहरूको संस्कृतिसंग पनि अन्तरसम्बन्धित छ । पूर्वीय राइ–लिम्बुहरूको जुनसुकै चाडपर्व वा धार्मिक संस्कारहरूमा कोदोको जाँड रक्सी अनिवार्य छ । यसैगरी गुरुङ समुदायमा पनि मृत्युपछि गरिने संस्कारमा कोदोको रक्सी अनिवार्य छ। त्यसैले उनीहरु खाद्य सुरक्षा र संस्कृतिको जगेर्नाका खातिर पनि कोदोको खेती गर्ने र लामो समयसम्म भण्डारण गर्ने गर्दछन्।

परिवार मिलेर फुर्सदको समयमा गरिने खेती भएको हुँदा उत्पादन लागत निकै कम पर्न आउँछ। सिंचाइको आवश्यकता नपर्ने र बाली भित्र्याउँदा हिउँदको समयमा पर्ने हुनाले पशु वस्तुको आहारमा समेत टेवा पुर्याइरहेको हुन्छ।

हरेक भू–भागमा सहजै खेती गर्न सकिने कोदो समेत बर्षेनी बिदेशबाटआयात गरिनु लाजमर्दो विषय हो ।‌ भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७४र०७५ ७७र७८ सम्ममा करिव २७ करोडको कोदो आयात भएको तथ्यांक छ। सरकारी तहबाट कोदो बाली अनुसन्धान प्राथमिकतामा परेको देखिदैन जसका कारण खेतिको लागी उन्नत विउको अभावमा उत्पादन बृद्धि हुनसकेको छैन।

उपजले उचित मुल्य नपाएका कारण देशको ठूलो उत्पादन योग्य जमिनहरू बनमाराले ढाकिएको छ । भएको उपजपनी मादकपदार्थ बनाउन खपत भइरहेको र नपुग कोदो बिदेशबाट आयात भइरहेको छ। पछिल्लो समयमा सरकार र किसानको आकर्षण नगदेबाली तर्फ केन्द्रित हुदा निकट भविष्यमै खाद्य सुरक्षामा गम्भीर असर पर्ने संभावना बढ्दो छ।

एक किलो चामलले ३ जनालाई पुग्छ भने त्यति नै मात्राको कोदोको खोले बाट ६ जना मान्छे सजिलै अघाउन सक्छन । दशकौंसम्म पुर्नउत्पादनशिल क्षमता नष्ट नहुने र भण्डारण गर्दा घुन पुतली नलाग्ने बाली भएकोले बिषेश परिस्थितिमा पनि भोकमरीबाट बचाउने अत्यन्तै महत्वपूर्ण बाली भएकैले आजपनी समुदायका एकाध किसानहरूले यसलाइ दुःखको मानोको रूपमा संरक्षण भण्डारण गरररहेका छन ।

अहिलेसम्म यतिधेरै बहुआयामिक गुण भएको रैथाने बालिको पेटेन्ट राइटको समेत दावी गरिएको छैन । यदि यही अवस्था रहने हो भने भोलि कोदो खेति गर्नपनी अरूदेशसंग स्विकृत लिनु नपर्ला भन्न सकिन्न । यसको संरक्षण प्रवर्द्धन गर्नुपर्ने सरकारी निकाय हरूको प्राथमिकतामा नपर्नु र परेपनि कागजमा मात्र सिमित हुनु गम्भीर भूल हो।

हामी हरेक दिनजसो विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय दिवसहरू मनाउने गर्छौं । हाम्रो आफ्नो आवश्यकता र औचित्यताको आधारमा यस्ता दिबसहरूलाइ घटाउने वा थप्ने पनि गर्न सकिन्छ। बढ्दो जनसंख्याको खाद्य र पोषण सुरक्षा, जलवायु अनुकूलित बाली र औषधिय गुणभएको खाद्यवस्तु हुनुका नाताले कोदोलाई प्रवर्द्धन गर्न ढिलो गरिनुहुँदैन।

यसैगरी कोदो खेतीले वर्षाको भेलबाट माटो संरक्षण गरी पर्यावरणीय सुरक्षामा दिएको योगदान र अधिकांश आदिवासी जनजातिहरूको मौलिक संस्कृतिसँग जोडिएको हुनालेपनी हाम्रो राष्ट्रिय बाली कोदोको बिषेश दिन पहिचान गरी राज्यद्वारा नै दिवस घोषणा गरिनु जरुरी छ । उच्च पहाडमा जेठदेखि असार, मध्य पहाडमा असारदेखि साउन, तराई र भित्री मधेसमा साउनदेखि भदौ दोस्रो हप्तासम्म यसको खेती हुने भएको हुँदा श्रावण १५ गतेका दिन नै यो दिवश मनाउनु उपयुक्त हुने देखिन्छ।

असार १५ गतेलाई दहीचिउरा खाने र धान दिवस मनाउने प्रचलन रहे जसरी श्रावण १५ लाई खिर खाने र कोदो दिवस मनाउने निर्णय गर्दा हाम्रो संस्कृति परम्परालाइ पनि बल पुग्नेछ। साउन १५ गते संघीय सरकारबाट राष्ट्रिय दिवसको रुपमा घोषणा गर्ने र हरेक पालिका तहहरुमा यो दिवसलाई कोदोको महत्वबारे प्रकाश पर्नका साथै यसको परिकारहरूको प्रवर्द्धन गर्नु बान्छनिय हुनेछ। सरकारले आ ब ०७८÷०७९ को बजेट वक्तव्यमा आगामी ३ बर्ष भित्र ‌ गहुं, मकै, कोदो, फापरमा आत्मनिर्भर हुने घोषणा गरेको छ।सरकारले लिएको नीतिलाई सफल पार्नका लागि पनि यो दिवश कोशेढुंगा हुनसक्नेछ।

अनौपचारिकरुपमा हजारौ वर्षदेखि श्रावण १५ लाई खिर खाने पर्वको रुपमा मानाउंदै आएको र यस बर्षबाट राष्ट्रिय दुग्ध विकास बोर्डले यसलाई औपचारिक रूप दिएको छ। यसैगरी किसान स्तरबाट अनौपचारिक रूपमा श्रावण १५ गते मनाइदै आइएको कोदो दिवसलाई औपचारीकता प्रदानगरि बहुआयामिक गुण भएको कोदोलाइ‌ प्रवर्द्धन गर्न सरकारसमक्ष पैरवी गर्ने उद्देश्यले राष्ट्रिय कृषक समूह महासंघ नेपालले २०७३ सालदेखि यो दिवस मनाउन सुरु गरेको हो ।

किसान उपभोक्त सरकार र सरोकारवाला हरूको संयुक्त सहकार्यमा बहुआयामिक गुणकारी कोदोको संरक्षण र प्रबर्द्धनमा लाग्न अब ढिलो गरिनु हुँदैन।

(लेखक अधिकारी खाद्य का लागि कृषि अभियानका संयोजक तथा राष्ट्रिय कृषक समुह महासंघ नेपालको संस्थापक अध्यक्ष हुनुहुन्छ)

 

तपाईको प्रतिक्रिया