टीएमएनसीले खोल्ने भयो नयाँ पार्टी

काठमाडौं साउन १८ गते । तराई मधेश राष्ट्रिय परिषद् (टीएमएनसी) ले राजनीतिक पार्टी निर्माण गर्ने भएको छ । परिषद्को बैठकले टीएमएनसीले रेखदेख गर्ने गरुरिाजनीतिक दल निर्माण गर्ने निर्णय गरेको हो ।

राजनीतिक दल निर्माणका लागि आन्तरिक गृहकार्य सुरु भएको र मंसिर महिनाभित्रै पार्टी निर्माण गरिसक्ने टीएमएनसीले जनाएको छ । देश र मधेशको रुपान्तरणका लागि टीएमएनसी मूलधारको राजनीतिमा आउनैपर्ने आवश्यकतालाई अंगिकार गर्दै पार्टी निर्माणको निर्णय भएको टीएमएनसीका संयोजक विकास ठाकुरले बताउनुभयो ।

राजनीतिक दल निर्माण गरे पनि टीएमएनसी यथावत् नै रहने ठाकुरले बताउनुभयो । यसले नयाँ निर्माण गर्न लागिएको पार्टीलाई दिशानिर्देश एवं नियन्त्रणको काम गर्ने उहाँले बताउनुभयो ।

अहिलेका सबै पुराना दलहरुको विचार र व्यवहार दुवै स्खलित भएको र उनीहरुकै सत्ता लोभ र स्वार्थका कारण समाज धरासायी बन्दै गएको र सिमान्तकृत र उत्पीडित समुदायहरुको माग र मुद्दा वर्षौंदेखि ओझेलमा रहेको ठाकुरको भनाइ छ । समय र परिस्थिति अनुसार अब सामाजिक क्षेत्रमा मात्र नभई प्रतिस्पर्धाको राजनीतीमा गएर जनताको मूल समस्याको निवारण गर्न टीएमएनसीले पार्टी निमार्ण गर्न लागेको उहाँले बताउनुभयो ।

टिएमएनसी विगत ७ वर्षदेखि मधेश र देशभित्र विभिन्न समयमा राजनीतिक र सामाजिक मुद्दाहरु उठान गर्दै विभिन्न आन्दोलनहरु गर्दै आएको छ । यसले मधेशी, जनजाति, दलित, मुस्लिम, थारु लगायतका उत्पिडीत समुदायको अवाजलाई सरकार र सरोकारवाला समक्ष राख्दै आइरहेको छ ।

हालको संविधानलाई देशका सबै समुदायलाई समेट्न नसकेको भन्दै संविधान निर्माण प्रक्रियाको विरोध, संविधानको विरोध, वहुराष्ट्रिय राज्यको माग, असोज ३ गते कालो दिन, प्रतिरोध दिवस, आरक्षण आन्दोलन, दुई नम्बर प्रदेशको नाम मध्यमधेश हुनुपर्ने माग, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचार विरोधी अभियान, मानवाधिकारको आवाज बुलन्द लगायतका गतिविधि गर्दै आएको छ ।
टीएमएनसीले यसअघि विचारधारा मिल्ने, मधेश र उत्पीडित वर्गको पीडा आत्मसात गर्ने राजनीतिक दलसँग मिलेर काम गर्ने वा नयाँ दल नै निर्माण गर्ने बताउँदै आएको थियो ।

तपाईको प्रतिक्रिया