मालिक मात्र दोषी हुन्छ त ?(फरकमत)

–सुरेशकुमार यादव
हाम्रो समाजमा धनी र गरिब बीचको खाडल यति गहिरो छ कि त्यसलाई पुर्न निकै गाह्रो छ । धनी झनझन धनी हुँदै गइरहेका छन् भने गरिब झनझन गरिब हुँदै गइरहेका छन् । राष्ट्रिय योजना आयोग पन्ध्रौ योजना आधार पत्र २०७५ अनुसार धनी र गरिब बीचको खाडल (जिनी गुणक) ०.३१ प्रतिशत रहेको देखाइएको छ । नेपालको संविधान २०७२ को धारा १६ मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको व्यवस्था सुनिश्चित गरेको छ । चाहे त्यो धनी होस् वा गरिब ।
संविधानमा मानव विकास, समाजिक न्याय र सुरक्षा, समावेशी संरक्षण, नागरिकको आधारभूत आवश्यकताको परिपूर्ति जस्ता विषयमा मार्गदर्शन गरी सुशासन, मानव अधिकार, समाजिक आर्थिक रुपान्तरण र समावेशीकरणलाई राज्य सञ्चालनको आधारका रुपमा स्थापित गरेको छ । लोकतन्त्र, मानव अधिकार, सामाजिक न्याय, समानता, आधारभूत आवश्यकताको परिपूर्ती, रोजगारीको प्रत्याभूति, कमजोर र पछाडी परेका वर्ग तथा समुदायको लागि समता, संरक्षण र आरक्षण समेतको संवैधानिक र कानुनी व्यवस्थाहरु मुलुकले अंगिकार गरिसकेको छ ।
नेपालको कुल जनसँख्याको १८.७ प्रतिशत जनता गरिबीको रेखामुनी रहेका छन् । सन् १९९६ मा करिब ४२ प्रतिशत रहेको गरिबी दर सन् २००४ मा ३०.४ र सन् २०१९ सम्मा १८.७ प्रतिशतमा झरेको देखिन्छ  । यसबाट गरिबी निवारणमा निकै प्रगति भएको अनुभूति हुन्छ, तथापि धनी र गरिबी बीचको खाडल झन फराकिलो हुँदै गइरहेको छ । गरिबी निवारण नीति, २०७६ का अनुसार भौगोलिक क्षेत्र, जाति, लिङ्ग, अपाङ्गता भएका नागरिकहरु, सिमान्तकृत वर्ग समेतका आधारमा मात्र नेपालको गरिबी फैलिएको छ । गरिबी सघनता, विषमता र गहनतालाई मनन गर्ने हो भने समाजको परिवर्तित संरचना, बदलिंदो जीवनशैली, प्रविधिमा भएको विकास तथ सोको उपयोगले गरिबीको आयाम र बुझाईमा सापेक्ष चिन्तन भित्रिएको छ । १३ औं योजनासम्म आइपुग्दा गरिबीको रेखामुनी रहेको जनसँख्याको ठूलो हिस्सा गरिबीको दुष्चक्रमा परिरहेको आङ्कलन गरिएको थियो । त्यो अझै कायमै छ ।
समाजिकको सम्पन्नता, उसको सोच, चेतना, शिक्षा, स्वास्थ्य, समाजिक संरचना आदी सबै आर्थिक सम्पन्नताले हुन्छ । गरिबी र धनी बीच जुन खाडल छ, त्यही खाडलभित्र ठूला–साना, बलिया–निर्धा, सम्पन्न–विपन्न, महिला–पुरुष, मालिक–नोकर, उच–निच, माया–घृणालगायत सबै छन् ।
ठूला माछाले साना माछालाई खान्छ । बलियाले निर्धालाई हेप्छ । मालिक दासमाथि शासन गर्छन् । शासकभन्दा शासित कमजोर हुन्छ । सानालाई ऐन ठूलालाई चयन । महिलामाथि जोर जुलुम । हाम्रो समाजमा अधिकतम सुन्ने कुरा हुन् यी । ठूला ठूलै हुन्छ, साना सानै हुन्छन् । जहिले पनि बलियाले निर्धामाथि शासन गरेका हुन्छन् । यो प्रकृतिको नियम नै हो कि ठूलाले सानामाथि शासन गर्छन् । ठूलाले भनेका कुरा सानाले मान्नुपर्ने हुन्छ । ठूलाले भनेको कुरा सत्य नै हुन्छ भनि सानाले बुझेका हुन्छन् तर म यहाँ ठूलाले सानामाथि गर्ने शासन, शोषण, दमनको कुरा गरेको होइन, सानाबाट पनि ठूला पिडित भएका हुन्छन् । कमिलाले पनि हात्तीलाई लखेटेका हुन्छन्, कहिले काही मुसाको घराबन्दीमा बिरालाहरु पनि परेका हुन्छन् । सर्पले पनि बकुलोलाई घाँटी थिचेर मारेका हुन्छन् अर्थात गलती ठूलाबाट मात्र होइन, सानाबाट पनि भएका हुन्छन् । भूल धनीले मात्र होइन, गरिबले पनि गरेका हुन्छन् ।
त्यसैले यहाँ एउटा भनाई सान्दर्भिक छ, ‘सभी अमीर बुरे नहीं होते और सभी गरीब अच्छे नहीं होते’ अर्थात सबै धनी, ठूला, शासक, बलिया, मलिकहरु खराब हुँदैनन्, सबै गरीब, निर्धा, कमजोर, साना, दास राम्रा हुँदैनन् । गलती सानाबाट पनि भइरहेका हुन्छन् । भूल सानाबाट पनि भइरहेका हुन्छन् । बदमाशी गरिबले पनि गरेका हुन्छन् तर दोष सबै मालिकमाथि जान्छन् । कुनै कारखानामा मजदुरले आन्दोलन गरे भने त्यहाँ दोष ती मजदुरको हुँदैन, गल्ती ती शासक वा मालिकको नै देखाइ रहेका हुन्छन् । काम गर्ने समय मजदुरबाट लाख गलती भइरहेका हुन्छन् । कतिपय अवस्थामा मालिकले गाली गरिरहेका हुन्छन्, कराई रहेका हुन्छन् र कतिपय अवस्थामा त्यसलाई नजरअन्दाज पनि गरेका हुन्छन् तर मालिकले एउटा गल्ती गरे भने मजदुर सडकमा आउँछन् । नारा लगाउँछन्, हड्ताल गर्छन् र त्यहाँ सबैलाई विश्वास दिलाउँछन् कि गलती सिर्फ मालिकले मात्र गरेका छन्, शोषण अत्याचार सिर्फ मालिकले गरेका छन् ।
त्यहाँ मजदुरको कुरा मात्र सुन्छन् । मालिकको कुरा कसैले सुन्दैनन् । मालिकको पिडा कसैले महसुस गरेको हुँदैन । उ भित्रभित्र रोइरहेका हुन्छन् तर त्यो आँसु कसैले देखेका हुँदैन । तर त्यस अवस्थामा पनि मजदुरले मालिकलाई झुक्काउन लगाउँछन् । के महिलाले हिंसा गर्दैनन्, पुरुषले मात्र हिंसा गर्छन् ? महिलाले पुरुषमाथि दमन गर्दैनन्, पुरुषले मात्र दमन गर्छन् ? दमन, हिंसा पुरुषमाथि पनि हुन्छ तर उ सहेर बस्छन्, महिला सडकमा आउँछन् । महिलाको अवाज समाजले चाँडै सुन्छन् र पुरुषलाई तत्कालै दोषी करार दिन्छन् । मंसिर ९ गते अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाएको छ । यो अभियान १६ दिनसम्म चले । महिलामाथि यतिका हिंसा भयो कि अन्तराष्ट्रिय दिवसकै रुपमा मनाउन थाल्यो तर महिलाद्वारा पुरुषमाथि हुने हिंसाको कही चर्चा पनि हुँदैनन् ।
हिंसा पुरुषमाथि पनि हुन्छ, दमन मालिकमाथि हुन्छ, दुरव्यवहार ठूलामाथि पनि हुन्छ, अन्याय शासकमाथि पनि हुन्छ तर त्यो कुरा कसैले पत्याई दिँदैन । र, कतिपय अवस्थामा यी कुराहरु बाहिर पनि ल्याउन चाहदैनन् । कुनै महिलाले पुरुष वा आफ्नै श्रीमानलाई कुटपिट गरेका छन् भने ती पुरुष वा श्रीमानले भरसक त्यसलाई बाहिर ल्याउन चाहदैनन् । र बाहिर ल्याउदैनन् पनि । तर पुरुष वा श्रीमानले महिला वा श्रीमतीलाई कुटे भने चारघर त्यतिबेला नै हल्ला हुन्छ । कुनै घरको नोकरले मालिकलाई पिटेका छन् भने ती मालिकले कुरा बाहिर ल्याउँदैनन् । तर मालिकले नोकरलाई कुटेका छन् भने तत्काल बाहिर कुरा आउँछन् ।
कारखानामा काम गर्ने मजदुर होस् वा घरमा काम गर्ने नोकर, कार्यालयमा काम गर्ने कार्यालय सहयोगी वा तल्लो तहका कर्मचारी, रिक्सा चालक होस् वा ट्याक्सी ड्राइभर, बस कन्डक्टर होस् वा समान उठाउने कुली, हिंसक उनीहरु पनि हुन्छन् । गाडीका खलासीलाई तपाई हामी सबैले झेलेका छौं । कार्यालयमा काम गर्ने कार्यालय सहयोगी (पियन) को तेबर हामी सबैले देखेका छौं । खेतमा धान रोप्ने खेतला, हलो जोत्ने हली, धान काटने मजदुरबाट पीडित नभएका सायदै कुनै किसान होला । एउटा सानो उदाहारण यहाँ दिन चाहन्छु, अहिले धान काट्ने समय हो । ठूला किसानले अहिले धान काट्ने मजदुर पाइरहेका छैनन् । पाए पनि उनीहरुले मालिक (किसान) सँग उल्टै डिमाण्ड गरेका हुन्छन् ‘हामी धान काट्न त जान्छौं तर धान र पराल खेतबाट उठाई दिँदैनौं, ट्याक्टरमा ढुवानी गर्नुपर्छ ।’
अब तपाई धान कटाउनुस् या नकटाउनुस् तपाईको मर्जी । बाध्य भएर कटाउनै पर्छ । धान काट्न गएपछि खेतमा सबभन्दा राम्रो धान कहाँ फलेको छ त्यहाँबाट आफ्नो बोइन (पारिश्रमिक) का लागि राख्छन् । आफ्नो बोइनको बोझ यस्तो बाँध्छन् कि दुई जनाले उठ्दैन, तीन जनाले उठाउनुपर्छ । तर मालिक (किसान) को बोझ यस्तो हुन्छ कि एकजनाले आफै उठाउन सक्छ । यो जुल्म, अपराध मालिकको सामुनेमा भइरहेका हुन्छन् तर उसले केही भन्न सक्दैन । मालिकले केही बोले भने त्यहाँ उनीहरु मुखमुखै लाग्छन् । बाध्य भएर उनीहरुलाई मनमर्जी गर्न दिन्छन् । यस्ता थुप्रै उदाहरणहरु छन्, ड्राइभरले आफ्नै मालिकलाई कुटेको कुरा पनि बाहिर नआएको होइन । कार्यालय सहयोगीले आफ्ना हाकिमलाई कुटेको कुरा बाहिर नआएको होइन ।
मजदुरले हड्तालको धम्की दिएर मालिकसँग ब्लेकमेलिङ नगरेको होइन । कुनै महिलाले आफ्नो यौवनको गलत फाइदा उठाउँदै पुरुषसँग ब्लेकमेलिङ् नगरेका होइन, महिलाले पुरुषलाई बजारमा बदनाम गराई दिने धम्की नदिएको होइन । यी सबै कुरा दिन दिनै भइरहेका हुन्छन् । सबैको आँखाका अगाडि भइरहेका हुन्छन् तर दोष सबै मालिकलाई, दोष सबै ठूलालाई, दोष सबै धनीलाई, दोष सबै पुरुषलाई । कुनै साइकलबालाले कुनै कारलाई ठोक्कर हाने पनि दोषी कारवाला नै हुन्छ । नोकरले गल्ती गरेपछि मालिकले पिटेपछि समाजले भन्छ, मालिकले नोकरमाथि दमन गरे । श्रीमतीले गल्ती गर्दा श्रीमानले सम्झाउन खाजे भने समाजले भन्छ, महिलामाथि हिंसा भयो । मधेशतिर एउटा भनाई छ, (श्रमिक वा मजदुरले भन्ने गरेका हुन्छन्) ‘तु कटबे पेट मे हम कटबौ खेत मे’ अर्थात तिमीले मेरो पेटमा लात हान्यौ भने म तिम्रो काम राम्रोसँग गर्दिन् ।
तर अन्त्यमा, मैले मालिकले दमन गर्नुपर्छ । सबै मजदुर, श्रमिक, महिला, नोकर, दास गलत हुन्छन् भन्न खोजेको होइन । मालिकले शोषण गर्दैनन्, पुरुषले शोषण गर्दैनन् भन्न खोजेको होइन तर मेरो एउटा मात्र प्रश्न छ, मालिक मात्र दोषी हुन्छन् त ?

तपाईको प्रतिक्रिया