गृहमन्त्रालयमा महेन्द्रको रजाइँ

गृहमन्त्रालयका मन्त्री हुनुहुन्छ, बालकृष्ण खाण । उहाँ देउवा गुटबाट गृहमन्त्री बन्नुभएको हो तर उहाँको मन्त्रालय कसले ह्याण्डिल गरिरहेका छन् ती कुरा धेरैलाई थाह नहुनसक्छ । गृहमन्त्री खाण पार्टीभित्र आफैमा शक्तिशाली नेता हुनुहुन्छ र प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वास पात्र । पार्टीका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाको पक्षमा पार्टीमा होस् या सरकारमा उहाँको वकालत गर्ने, माहोला बनाउने काम रमेश लेखक, डा.प्रकाशशरण महत, एनपी साउद, सुरेन्द्र पाण्डे, सीता गुरुङ, शंकर भण्डारी, चीनकाजी श्रेष्ठ, भीष्मराज आङदाम्बे, महेश चौरासिया, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, डा.डिला संग्रौला, पार्वती डिसी चौधरी, महेन्द्र यादव, अजय चौरासिया, किरण गिरीसहित खाण पनि पर्नुहुन्छ । त्यसमध्ये सबभन्दा नजिकका र विश्वासपात्र खाण हुनुहुन्छ ।

देउवा गुटमा शाक्तिशाली नेता भएका कारणले उहाँले पनि आफ्ना केही नेताहरु बनाइ रहनु भएको छ । त्यसमध्ये हुनुहुन्छ काँग्रेस पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादव । महेन्द्र यादव धनुषा जिल्लाका भएपनि उहाँको सम्बन्ध निधिभन्दा बालकृष्ण खाणसँग छ । महेन्द्रको कुरा जति खाणसँग मिल्छ, त्यति देउवा र निधिसँग मिल्दैन । महेन्द्र पनि देउवा पक्षकै नेता हुनुहुन्छ । उहाँ पनि एकपटक मन्त्री बन्नुभएको हो । अहिले उहाँ मन्त्री नबनेपनि गृहमन्त्रालयमा उहाँकै हालिमुहाली चल्छ । गृहमन्त्री खाणको सचिवालयमा हुनुहुन्न तर सचिवालयका सदस्य जस्तै उहाँले मन्त्री खाण र उहाँको मन्त्रालय सम्हाल्दै आउनु भएको छ ।

महेन्द्र यादवलाई मन्त्री क्वाटर पुल्चोकमा कि गृहमन्त्रालयमा भेट्न सकिन्छ । गृहमन्त्रालयका छायाँ मन्त्री महेन्द्र यादव नै हुनुहुन्छ, गृहमन्त्रालयका एक कर्मचारी भन्नुभयो, गृहमन्त्रालयमा कसैको चल्छ भने त्यो हो महेन्द्र यादव । बेलाबेलामा गृहमन्त्रीको जस्तै निर्देशन पनि दिने गर्नुहुन्छ ।’ महेन्द्र यादव निधिको साथमा त्यति देखिनु हुन्न तर गृहमन्त्रीको दायाँ बायाँ उहाँ नै हुन्छन् । कात्तिक २२ गते जनकपुरमा लगेर गृहमन्त्री खाणलाई भव्य स्वागत गर्न लगाउनुभयो । यी सबै कुराको व्यवस्थापन महेन्द्र यादवले गर्नु भएको थियो । कार्यबाहक प्रधानमन्त्री भएको बेला गृहमन्त्री खाण पशुपति दर्शनका लागि पुग्नु भएको थियो । त्यहाँ महेन्द्र यादव पनि देखिनु भएको थियो । अर्थात महेन्द्र यादवलाई खाणको साथमा प्राय देखिने गरेका छन् ।

तपाईको प्रतिक्रिया