चीनद्वारा मधेशमा विश्वासपात्रको खोजी

चीनले मधेशमा आफ्नो प्रभाव देखाउनका लागि विश्वासपात्रको खोजीमा लागेको छ । केही मधेशीमार्फत त्यहाँ कार्यक्रमहरु लगेपनि प्रभावकारी नभएको भन्दै कुनै नयाँ विश्वासपात्रको खोजी गर्न चीन लागि परेको छ । चीनका विभिन्न एजेन्सीहरु अहिले पुनः मधेशमा घुमफिर गर्न थालेका छन् । मधेशका विभिन्न तहका व्यक्तिहरुसँग सम्पर्क बढाउन थालेका छन् । उनीहरुले केही पहिले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतदेखि विभिन्न मन्त्रीहरुलाई समेत भेटि सकेका छन् ।

लगभग उनीहरुले प्रदेश २ का आठवटै जिल्लामा आफ्ना सम्पर्क बनाई सकेका छन् । कसैसँग गोप्य भेटिरहेका छन् भने कसैसँग खुलम खुल्ला भेटिरहेका छन् । उनीहरुले जनता समाजवादी पार्टी नेपालका साना ठूलानेतादेखि लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेतासम्म, सिके राउत नेतृत्वको जनमत पार्टीका नेतादेखि तराई मधेश राष्ट्रिय परिषदका अगुवा कार्यकर्तासम्म, मधेशी नगरिक समाजका अगुवादेखि मधेशी पत्रकारसम्मका अगुवाहरुलाई भेटि सकेका छन् । त्यसमध्ये उनीहरुले विश्वासपात्र कसलाई छान्ने अलमलमा छन् ।

त्यसैका लागि गत मंसिर १० चाइना नियन्त्रित न्युज एजेन्सी सिन्ह्वाले मधेशका केही युवा नेता, नागरिक समाजका अगुवा, वकिल, वुद्धिजिवी, विद्यार्थी तथा पत्रकारहरुलाई हात्तिसारको माया मानोर होटलमा डिनर खुवाएर छलफल गरेको थियो । २ वजेदेखि सुरु भएको कार्यक्रम साँझसम्म चलेको थियो । र, मधेशको बारेमा हरेक विषयमा छलफल भएको थियो । मधेशमा भारतको प्रभाव, पश्चिमी देशको गतिविधिहरु कस्तो छ, मधेशमा राजनीतिक अवस्था कस्तो छ, कुन दल बलियो, कुन दल कमजोर छ, त्यहाँ भारतबाट बसाई सरेको अवस्था कस्तो छ, चीनले मधेशलाई कसरी सहयोग गर्न सक्छलगायतका विषयमा छलफल भएको थियो ।

सिन्ह्वाका प्रतिनिधिले भने, मधेशमा हामी केही गर्न चाहन्छौं तर विश्वासिलो व्यक्ति भेटिएन, मधेशमा हामीले केही काम गरियौं तर अहिले त्यसको त्यसको कुनै परिणाम देखिएन, अब कुनै विश्वासिलो व्यक्ति तथा संस्था चाहिन्छ ।’ छलफलमा नेपालस्थित एजेन्सीको ब्युरो चिफ झोउ सेङपिङ उपस्थित हुनुहुन्थ्यो । चीनको बुझाईमा मधेश भारतको नियन्त्रणमा छ । भारत त्यहाँ जे भन्छ त्यही हुन्छ । त्यही भएर चीनको पनि त्यहाँ उपस्थिति हुनुपर्छ भनि चीनको बुझाई छ । तर कसरी ? चीनले उपयुक्त पात्र पाइरहेको छैन । जे पात्र भेटिएका छन् ठगेर मात्र भागेको चिनियाँहरुको अनुभव छ ।

जनता समाजवादी पार्टी नेपालका नेता शैलेन्द्र साह जतिबेला कृषि मन्त्री हुनुहुन्थ्यो, त्यतिबेला चीनले कृषिमा ठूलो लगानी गर्ने तयारी गरेको थियो । सप्तरीलगायत अन्य ठाउँमा डेरी क्षेत्रमा ठूलै लगानी गर्ने सोच बनाएको थियो तर त्यहाँ कुरा नमिलेपछि अहिले त्यो प्रोजेक्ट त्यतिकै स्थगित छ । अहिले सोही पार्टीबाट विजय यादव कृषि मन्त्री बन्नुभएको छ । चिनियाँ एजेन्टहरुबाट अहिले उहाँमाथि सो प्रोजेक्टका लागि दवाव दिइरहनु भएको छ । यस्तै प्रोजेक्टहरु मधेशमा लान खोजेको छ तर सफल भइरहेको छैन ।

मंसिर १० गतेको कार्यक्रममा सहभागीमध्ये कसैले चीन मधेशमा जानुपर्छ, उसले पनि त्यहाँ काम गर्नुपर्छ जोड दिएका थिए भने कतिपयले मधेशमा चीनलाई गाह्रो हुन्छ, भारतलाई चिढाएर त्यहाँ काम गर्न सकिदैन भनि सुझाव दिएका थिए । कसैले विश्वासपात्र खोज्नुभन्दा पहिले चीनले राजनीति रुपमा मधेशी जनताको मन जित्नुपर्छ । मधेशमा जे समस्या छ, जेका लागि त्यहाँ संघर्ष भइरहेको छ, त्यसमा चीनको के धारणा छ, खुलेर आउनुपर्छ भनि भनेका थिए । मधेशको समस्यालाई लिएर भारतले पटक पटक बोलेको छ, विज्ञप्ति निकालेर नै मधेशको मागलाई समर्थन गरेको छ तर आजसम्म चीनले केही बोलेको छैन ।

मधेश आन्दोलनलाई भारतले खुलेर समर्थन गर्यो, त्यसले गर्दा नेपालमाथि नाकाबन्दी पनि लाग्यो तर चीन केही बोलेन बरु मधेशलाई दवाउने राज्यलाई चीनले साथ दियो भन्ने कुरा पनि त्यहाँ उठ्यो । त्यति मात्र होइन, मधेश भारतको मात्र होइन, चीनको पनि चीनले पनि त्यहाँ लगानी गर्न पाउनुपर्छ, मधेशीलाई शिक्षा, स्वास्थ्य र रोजगार चाहिन्छ यदि चीनले दिन चाहेको छ भने हामी स्वागत गर्न चाहन्छौसम्मको कुरा पनि त्यो छलफलमा उठेको छ ।

बैठकमा उठेको कुरा कदापी बाहिर जानु हुँदैन भनि चिनियाँहरुले पटक पटक आग्रह गरेका थिए । नेपालको तर्फबा सृष्टि काफ्लेले सो कार्यक्रमको समन्वय गर्नुभएको थियो । उहाँले यो छलफललाई बाहिर नलैजाने पटक पटक आग्रह गनुभएको बैठकमा सहभागी एक युवाले बताउनुभयो । ती युवाका अनुसार चीनले मधेशमा भारतको प्रभाव कम होस् भनि चाहेको छ । चीनले त्यहाँ शिक्षा, स्वास्थ्यमा लगानी गर्न चाहेको छ । त्यसका लागि उपयुक्त समय र उपयुक्त पात्रको खोजीमा चीन लागेको छ । कार्यक्रममा तराई मधेश राष्ट्रिय परिषदका अध्यक्ष विकास ठाकुर, जनमत पार्टीका नेता समाजिक अभियन्ता विनय पजियार, लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं कलाकार डा.अभाष लाभ, मधेश नागरिक समाजका अध्यक्ष गणेश मण्डललगायतका युवा नेता तथा अभियनताहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया