प्रधानमन्त्री समेत रहनु भएका शेरबहादुर देउवाले २७३३ मत ल्याएर पार्टीको सभापतिमा मंसिर २९ गते विहान विजय हुनुभयो । उहाँको प्रतिस्पर्धी डा.शेखरप्रसाद कोइराला १८५५ मत ल्याएर पराजित हुनुभयो । मधेशबाट सभापतिका लागि उम्मेदवारी दिनु भएका विमलेन्द्र निधि पहिलो चरणमा पराजय भएपनि दोस्रो चरणमा देउवाकै शरणमा जानुभयो । त्यसले गर्दा निधिको आलोचना भइरहेको छ । मधेशले काँग्रेसलाई सबैथोक दियो, काँग्रेसले मधेशलाई के दियो यतिखेर प्रश्न तेर्सिएको छ ।
मधेशीको मत चाहिने तर उसलाई अधिकार दिन नचाहने काँग्रेस कस्तो पार्टी हो भनि प्रश्न गर्न थालेका छन् । काँग्रेस पार्टीको इतिहासमा पहिलो पटक मधेशको एकजना छोराले सभापतिका लागि आँट गर्नुभएको थियो तर काँग्रेसले त्यसलाई स्विकार गरेन । र विमलेन्द्र निधिलाई शेरबहादुर देउवाले समर्थन गर्न बाध्य पार्नुभयो । त्यही विमलेन्द्र निधिले आफ्नो गुटमा विद्रोह गरि देउवाको विरुद्ध सभापतिमा उम्मेदवारी दिनु भएको थियो । देउवाको विरोध गर्दै भाषणा गर्नुभएको थियो । तर दोस्रो चरणको चुनावमा देउवालाई समर्थन गर्न बाध्य हुनुभयो । के मधेशी सधैको अरुकै पिछलग्गु बन्ने हो त भनि प्रश्न उठ्न थालेको छ ।
पार्टीमा लगानीको हिसाबले विमलेन्द्र निधि कसैभन्दा कम छैन । विमलेन्द्र निधिको बुवाको पनि त्यस्तै लगानी थियो । विमलेन्द्र निधिले बाल्यकाल, युवकाल, बयस्ककाल सबै पार्टीलाई दिनु भएको छ तर त्यसको मूल्यांकन गरेको देख्दा काँग्रेसले मधेशबाट लिन जानेको छ तर दिन चाहेको छैन भनि पुष्टि भएको छ । चार हजार ६८१ मतदातामध्ये विमलेन्द्र निधिले २५० मत मात्र पाउनुभयो । यसले छुट्याउन सकिन्छ मधेशलाई हेर्ने काँग्रेसको नजरिया कस्तो छ ।
काँग्रेसले मधेशलाई कसरी हेरेको छ, कसरी बुझेको महाधिवेशनमा आएको परिणामले पुष्टि गरेको छ । मधेशले काँग्रेसलाई चारजना प्रधानमन्त्री दिएको छ । बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र सुशिल कोइराला मधेशकै मतबाट जितेर आएपछि प्रधानमन्त्री बन्नुभएको हो । २०१५ सालमा मोरगंको क्षेत्र नम्बर ३२ बाट निर्वाचित भएपछि बीपी कोइराला प्रधानमन्त्री बन्नु भएको थियो । २०४८ मा मोरङ क्षेत्र नम्बर १ र सुनसरी क्षेत्र नम्बर ३ बाट विजयी भएपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुभएको थियो । २०५६ मा पर्साको क्षेत्र नम्बर १ कृष्णप्रसाद भट्टराई चुनाव जितेर प्रधानमन्त्री बन्नु भएको थियो भने २०७० बाँकेको क्षेत्र नम्बर ३ बाट सुशील कोइरालाले चुनाव जितेर प्रधानमन्त्री बन्नु भएको थियो । यसरी मधेशी जनताले चारचारजना प्रधानमन्त्री काँग्रेसलाई दिएको छ तर काँग्रेसले मधेशीलाई जहिले बुढी औला देखाएको छ ।
मधेशका एकजना नेताले पार्टीको सभापति बन्न खोज्दा पार्टीले स्वीकार गरेन । मधेशले जबजब काँग्रेसलाई साथ दिएको छ, सडकदेखि सदन र सरकारसम्म बलियो भएको छ, देशमाथि शासन गरेको छ । मधेशले साथ नदिँदा कमजोर भएको छ । चाहे काँग्रेसले दुई तिहाइ बहुमतको सरकार बनाउँदा होस् वा अन्तिम सरकार बनाउँदा होस् हरेक समय मधेशले मात्र साथ दिएको छ । २०४६ को जनआन्दोलनपछि भएको चुनावमा काँग्रेसलाई मधेशबाट बलियो बनाएको थियो । कुल २०५ निर्वाचन क्षेत्रमध्ये ८३ सिट तराई–मधेसमा थिए । तीमध्ये ४७ सिट काँग्रेसले हात पारेको थियो । २०५१ मा भएको मध्यावधि निर्वाचनमा तराईका ८३ निर्वाचन क्षेत्रमध्ये ३८ वटा सीट काँग्रेसले हात पारेको थियो त्यतिबेला त्यसलाई सन्तोषजनक नै मानेको थियो । २०५६ मा भएको निर्वाचनमा मधेशका ८३ सीटमध्ये ५८ सिट काँग्रेसले हात पारेको थियो ।
२०६५ मा भएको संविधानसभा चुनावमा मधेशबाट काँग्रेसले राम्रो नतिजा हासिल गर्न सकेको थिएन । कारण थियो मधेश आन्दोलन । मधेश आन्दोलन तथा भर्खरभर्खर माओवादी शान्ति प्रकृयामा आएको थियो । त्यसको असर सिधै काँग्रेसलाई पर्यो । २४० वटा क्षेत्रमध्ये मधेशमा ११६ वटा क्षेत्र थिए । त्यसमध्ये काँग्रेसले १६ वटा सीट मात्र जित्न सकेको थियो । २०७० मा भएको दोस्रो संविधानसभा चुनावमा मधेशले खुलेर साथ दिएको थियो । ११६ सीटमध्ये काँग्रेसले ४१ सीटमा विजय हासिल गरेको थियो । २०७४ मा भएको प्रतिनिधिसभा चुनावमा १६५ क्षेत्रमध्ये २३ सीट मात्र जितेको थियो । त्यसमध्ये १६ सिट मधेशले मात्र दिएको थियो ।
यहाँसम्म कि हरेक आन्दोलन मधेशबाट सुरु भएको हो । पार्टीका हरेक शीर्ष नेता मधेशमै सेल्टर लिएर बस्नुहुन्थ्यो । भारतको बर्गेनियाँमा भएको पार्टी सम्मेलनले २००७ को क्रान्ति गर्ने निर्णय भएको थियो । त्यो सम्मेलन सफल पार्ने काम मधेशी नेताहरुबाट नै भएको थियो । विमलेन्द्र निधिका बुवा महेन्द्रनारायण निधि र रामनारायण मिश्रले त्यो सम्मेलन सफल पार्नका लागि दिनरात एक गर्नुभएको थियो । बर्गेनियाँमा सम्मेलन भएपनि त्यहाँ चाहिने सामाग्री र जनशक्तिहरु सबै मधेशबाट नै लगिएको थियो ।
त्यहाँको सम्मेलनबाट २००७ सालको क्रान्ति गर्ने निर्णय गरेपछि काँग्रेसले पहिलो आक्रमण वीरगञ्जमा गरेको थियो । काँग्रेसले यो पनि विर्सिनु हुँदैन कि प्रजातन्त्रमाथि कु गर्ने तत्कालिन राजामाथी बम प्रहार गर्ने व्यक्ति मधेशकै थिए । काँग्रेसले २००७ सालमा क्रान्ति गरेर ल्याएको प्रजातन्त्रलाई २०१७ मा मास्ने तत्कालिन राजा महेन्द्र शाहमाथि बम प्रहार गर्ने काँग्रेसका नेता दुर्गानन्द झा हुनुहुन्थ्यो । झालाई मृत्युदण्ड दिइयो । नेपालमा ब्राह्मण समुदायबाट मृत्युदण्ड पाउने झा पहिलो व्यक्ति हुनुहुन्थ्यो । उहाँलाई मृत्युदण्ड दिनका लागि तत्कालिन सरकारले आफ्नो नीति नै संशोधन गरेको थियो ।
त्यति मात्र होइन, काँग्रेस पार्टीको चारवटा महाधिवेशन भारतको प्रवासमा भएपनि पाँचौं महाधिवेशन मधेशको जनकपुरमा र छैठो अधिवेशन वीरगञ्जमा भएको थियो भने सातौ अधिवेशन विराटनगरमा भएको थियो । जनकपुरमा भएको पाँचौ महाधिवेशनको व्यवस्थापनका लागि महेन्द्रनारायण निधिकै संयोजकत्वमा समिति बनेको थियो । र त्यो महाधिवेशन तामझामका साथ सम्पन्न भएको थियो ।
काँग्रेसीहरुले भन्ने गरेका छन् कि पार्टीले मधेशलाई राष्ट्रपति दियो । काँग्रेसका सहमहामन्त्री पदमा पुगि सक्नु भएका डा. रामवरण यादव गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्नुभएको थियो । तर कस्तो अवस्थामा बन्नुभयो त्यो कुरा कसैकोबाट लुकेको छैन । उहाँलाई काँग्रेसले बनाएको होइन, परस्थितिजन्य उहाँ राष्ट्रपति बन्नुभयो । यदि परस्थिति ठिक भएको भए गिरिजाप्रसाद कोइराला आफै राष्ट्रपति बन्नुहुन्थ्यो तर त्यतिबेला गठबन्धन नै यस्तो बन्यो कि रामवरणलाई हराउनका लागि राष्ट्रपतिमा उम्मेदवारी दिन लगाइएको थियो । २००७ सालको क्रान्तिपछि बनेको सरकारमा पहिलोपटक मधेशीले इन्ट्री पाएका थिए । त्यतिबेला भद्रकाली मिश्र मन्त्री बन्नुभएको थियो । परशुनारायण चौधरी २०१६ सालको मन्त्रीमण्डलमा मन्त्री बन्नुभएको थियो । महेन्द्रनारायण निधि काँग्रेसको महामन्त्रीसम्म बन्न पाउनु भएको थियो । कृष्णप्रसाद भट्टराईले उहाँलाई प्रधानमन्त्री बनाउन खोज्नु भएको थियो तर गिरिजाप्रसाद कोइरालाले स्विकार गर्नुभएको थिएन ।
महन्थ ठाकुर, चित्रलेखा यादव र सीतादेवी यादव काँग्रेसको कोषाध्यक्षसम्म पुग्नुभयो । मधेशप्रति काँग्रेस सकारात्मक नरहेको भन्दै महन्थ ठाकुरले पार्टी छाडेर नै हिड्नुभयो् । गिरिजा प्रसाद कोइरालका विश्वास पात्र जेपी गुप्ता पनि पार्टी छाडेर हिडिसक्नु भएको छ । काँग्रेसका पुरानो नेतामध्येका शरतसिंह भण्डारी पनि काँग्रेस पार्टी उहिले छाडि सक्नु भएको थियो । विजयकुमार गच्छदार पार्टी छाडेर हिडेपनि पछि पुनः सो पार्टीमा जानुभयो । अहिले उहाँ उपसभापतिमा चुनाव लड्नु भएको छ । काँग्रेसले उहाँलाई कति पत्याउँछु त्यो परिणाम आउनै बाँकी छ ।
विमलेन्द्र निधि पराजित भएर देउवाको शरणमा जानुभयो भने अझै छजना मधेशी पदाधिकारीमा उम्मेदवारी दिनुभएको छ । त्यसको परिणाम आउन बाँकी छ । काँग्रेसका मधेशी नेताहरु खुल्लामा उम्मेदारी दिनु भएको छैन । उहाँहरु कुनै नकुनै आरक्षण कोटामा नै उम्मेदवारी दिनुभएको छ । काँग्रेसले नेतृत्व चयनका लागि महाधिवशन सम्पन्न गरेको छ । सभापतिबाहेक अन्य पदाधिकारी तथा सदस्यहरुको परिणाम आउन बाँकी छ । नीति अधिवेशन गर्न बाँकी छ । मधेशको सम्बन्धमा काँग्रेसले ठोस नीति बनाउनेमा काँग्रेसका मधेशी नेताहरु विश्वस्त देखिन्छ ।


तपाईको प्रतिक्रिया