किसानको नाममा राजनीति (सम्पादकीय)

अहिल तराई मधेशमा किसानको नाममा आन्दोलन चलि रहेको छ । पुस ६ गते सिरहाको औरही गाउँपालिको गोदाममा राखिएको गहुँको बीउ किसानले लुटेर लगेपछि आन्दोलन सुरु भएको हो । गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले गहुँको बीउ लुटेकामध्ये केही किसानमाथि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभयो । त्यसपछि प्रहरीले एकजनालाई गिरफ्तार गरेको थियो । त्यसको विरोधमा किसानहरुले आन्दोलन चर्कायो । औरही गाउँपालिकाको हुलाकी राजमार्गमा रहेको आन्दोलन महेन्द्रराजमार्गमा पुग्यो ।

आन्दोलन विस्तारै विस्तार हुँदै गयो । आन्दोलन सप्तरी, धनुषा, रौतहट महोत्तरी, बारा, रुपन्देही कपिलवस्तुलगायतका जिल्लामा पुग्यो । सुरुमा आन्दोलन हुँदा किसानको आन्दोलन जस्तै थियो । कुनै राजनीतिक गन्ध देखिएको थिएन । तर आन्दोलनप्रति जनमत पार्टी कार्यकर्ताको विशेष रुची थियो । विस्तारै त्यसमा सिके राउत नेतृत्वको जनमत पार्टीको संलग्नता देखिन थाल्यो । औरही गाउँपालिकाबाट सुरु भएको आन्दोलनबाट नै जनमत पार्टीका नेताहरुको संलग्नता देखिन थालेको थियो । तर प्रत्यक्ष संलग्नता देखिएको थिएन । जनमत पार्टीको झण्डा र ब्यानर पनि प्रयोग भइरहेको थिएन ।

तीन चार दिनपछि खुलेर ब्यानरसहित जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु देखिन थाले । नेता तथा कार्यकर्ताहरुले नारा जलुस लगाउन थाले । किसानको शान्तिपूर्ण आन्दोलन हिंसात्मक हुन थाल्यो । सिरहामा एकदिनका लागि आमहड्ताल सुरु गरेको थियो । आन्दोलन चर्किदै गएपछि प्रहरीले गिरफ्तार गरिएका एकजना किसानलाई रिहा ग्यो । मुद्दा पनि फिर्ता भयो तर जनमत पार्टीले आन्दोलन फिर्ता लिएन । जेका लागि आन्दोलन सुरु भएको थियो । त्यो माग पुरा भएपनि थप माग राखेर आन्दोलनलाई जारी नै राख्यो । आन्दोलनलाई चर्काउनका लागि जनमत पार्टीले केही कसर बाँकी राखेन ।

किसानको आन्दोलनलाई पुरै राजनीतिक रंग दियो । तोडफोड, आगजनी सुरु भयो । ठाउँ ठाउँमा प्रहरीसँग झडप हुन थाल्यो । आन्दोलनकारीहरुलाई गोली पनि लाग्यो । थुप्रै घाइते पनि भए । आन्दोलनमा किसानभन्दा बढी पार्टीका नेता तथा कार्यकताहरुको सहभागित हुन थाले । किसानको भेषमा जनमत पार्टीका कार्यकर्ता तथा नेताहरु सडकमा देखिन थाले । जनमत पार्टीले किसानका लागि उठाएका माग सबै ठिक छन्, त्यसमा कुनै दुईमत छैन । किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर, सिंचाईको व्यवस्था गर, नसके सिंचाई विजुली निशुल्क गर, हावाहुरी र वर्षाले भएको बालीनाली क्षति वापत राहत देउ, किसान कार्डको व्यवस्था गर, उखु किसानको बक्यौता रकम भुक्तानी गर, समयमा मल र बीउ उपलब्ध गराउ आदी । यी माग गलत हुन् भनि कसैले भनेका छैनन् तर माग पुरा गराउने बाटो गलत छ । एकातिर जनमत पार्टीको झण्डा र ब्यानर हुन्छ भने अर्कोतिर सोही पार्टीका नेताहरुले यो विशुद्ध किसानको आन्दोलन हो भन्छन् ।

देशमा किसानलाई त्यतिकै कमजोर दृष्टिले हेरेको छ । त्यसमा पनि त्यसलाई राजनीतिक रंग दियो भने त्यो कहिले सफल हुँदैन । किसानको बुँइ चढेर सत्ता प्राप्तिको लक्ष्य राख्नु अपराध नै हुन्छ तर अहिलेको किसान आन्दोलनमा त्यस्तै देखिएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले राजनीतिमा उहाँले विभिन्न प्रयोगहरु गरिसक्नु भएको छ । र, यो पनि उहाँको एउटा प्रयोग नै हो । उहाँले जसरी यो मुद्दालाई उठाउनु भएको छ त्यो कहिले पुरा हुँदैन । हुनसक्छ यो आन्दोलनले अगामी निर्वाचनमा दुई चारवटा सिट आउला, संगठन बन्ला तर किसानको माग पुरा हुँदैन । विगतमा पनि विभिन्न दलले किसानको मुद्दालाई मुख्य मुद्दा बनाएर आन्दोलन गरे तर त्यसमा सफल भएको छैन ।

भारतमा भर्खर किसान आन्दोलन सफल भएको छ । त्यहाँ किसानले ठूलो सफलता हात पारेको छ । भाजपा जस्तो दललाई घुँडा टेक्न लगायो । त्यत्रो शक्तिशाली प्रधानमन्त्री नरेन्द्र मोदीलाई झुक्न लगायो । यदि त्यो आन्दोलनलाई कुनै दलले नेतृत्व गरेको भए किसानको माग पुरा हुने थिएन । त्यो किसान आन्दोलनलाई कतिपय दलले राजनीतिक रंग दिन खोजेपनि आन्दोलनकारीले त्यसलाई अस्विकार गरे । आफ्नो बलमा आन्दोलन सफल पारे । हुनसक्छ कुनै दल विशेषको ब्याकअप होला तर देखिने गरी कुनै दल थिएन । तर यहाँ सिके राउत नेतृत्वको जनमत पार्टी खुलेर किसानको मुद्दा बाकेर आन्दोलन गरिरहेका छन् । एउटा दलले गरेको आन्दोलन सफल नभएको इतिहास छ । तर सिके राउतले किसान आन्दोलनको आडमा सिंहदरवार पस्न चाहन्छन् ।

तपाईको प्रतिक्रिया