स्कूल पढ्दा पनि समयमा पैसा नदिँदा परीक्षामा प्रवेशपत्र नदिएको घटना धेरै छन् गणपैतसँग । अरुअरु विद्यार्थीले प्रवेश पत्र लिएर परीक्षा दिन जान्थे, गणपैत स्कूलको अफिसमा शिक्षकको अगाडि निरिह भएर उभिरहनु हुन्थ्यो ।

कुनै कारणले मानिस अपाङ्गता नै व्यहोर्नु पर्यो भने आफूलाई समाजको सबभन्दा कमजोर मानिस ठानेर आफू भित्रका सबै सम्भावनाहरुलाई कुण्ठित पारेर बस्ने गर्छन् । तर हाम्रै समाजमा यस्ता पनि संघर्षशिल अपांगता भएका व्यक्तिहरु छन्, जसले असक्तताका बाबजुद पनि सामान्य मानिस भन्दा बढी सक्रिय जीवन जिउने मात्र होइन बरु कतिपय सपांग व्यक्तिका लागी पनि प्रेरणाका स्रोत बनेका छन् र आफूलाई आदर्श व्यक्तिको रुपमा स्थापित गर्न सफल भएका छन् ।
यस्तै एक उदाहरणीय व्यक्ति हुनुहुन्छ, सिरहा अर्नामा गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय गणपैत यादव । गणपैत यादव शारीरिक रुपमा अपाङ्ग हुनुहुन्छ तर उहाँसँग ज्ञानको भण्डार छ । अध्यात्मिक सोच, प्राविधिक ज्ञानका धनी गणपैत समाजका लागि एउटा उदाहरण पात्र बन्नु भएको छ जो समान्य व्यक्तिका लागि पनि एउटा शिक्षा बनेको छ । उहाँ अपाङ्ग भएपछि जीवन यति मात्र हो भनि सोचेर निराश नभएको होइन । कतपय अवस्थामा त उहाँलाई आफ्नो जीवनदेखि आफैलाई घृणा लाग्थ्यो ।
कसरी बन्नुभयो अपाङ्ग ?
तर उहाँ हिम्मत कहिले हार्नुभएन । घरपरिवार तथा आफन्तको सहयोगले उहाँ अगाडि बढ्नु भयो र आज एक सफल व्यक्तिको रुपमा परिचित हुनु भएको छ । मधेश प्रदेशमा पर्ने अर्नामा गाउँपालिकाका रामलोचन यादवको कान्छो छोराको रुपमा २०३६ बैशाख १५ गते गणपैत यादवको जन्म भएको थियो । उहाँ जन्मदा स्वस्थ्य जन्मनु भएको थियो अर्थात सपाङ्ग नै जन्मनु भएको थियो । तर चार वर्षको हुँदा उहाँलाई अचानक ज्वरो आयो । त्यो ज्वरो निको भइरहेको थिएन । विभिन्न डाक्टरहरु कहाँ ज्वरोको उपचार हुन्थ्यो तर निको हुँदैन्थ्यो ।
त्यो ज्वरो एक महिनासम्म रह्यो । एकदिन बुवा रामलोचन यादवले छोरा गणपैतलाई लिएर उपचारका लागि सिरहाकै लड्कन्हा डाक्टर कहाँ जानुभयो । त्यहाँ रहेको क्लिनिकमा डा.उमाकान्त झाले गणपैतको उपचार गर्न सुरु गर्नुभयो । विभिन्न परीक्षणहरु भयो । ती परीक्षण तथा उपचारबाट गणपैतलाई दायाँ खुट्टामा पोलियो भएको ठहर भयो । डाक्टर झाले पोलियोको उपचार सम्भव छैन । यसलाई राम्रोसँग हेरचाह गर्नु, माया सद्भाव राख्नु होला भनेर डाक्टर झाले रामलोचनलाई घर फर्काउनु भएको थियो । रामलोचन यादवले निराश भएर आफ्नो छोरालाई लिएर घर फर्किनु भयो । तर उहाँले हिम्मत र आश मार्नु भएको थिएन ।
साँस रहेसम्म आश रहन्छ भन्ने जस्तो रामलोचन यादवले आफ्नो छोराको उपचारका लागि कुनै कसर बाँकी राख्नु भएन । जसले जहाँ जे भन्थे त्यही लग्नु हुन्थ्यो । धामी झाँक्रिलाई समेत देखाउनु भयो । गाउँको वैद्यदेखि लिएर अन्य घरेलु उपचारहरु गराउनु हुन्थ्यो । उहाँमा आफ्नो छोरा निको हुन्छ कि भनि आश जिवित नै थियो । उहाँले आफ्नो गाउँमा औषधी पसल सञ्चालन गर्नु भएका अशोककुमार सिंह कहाँ पनि लग्नुभयो । अशोकले पनि गणपैतको उपचार गर्नुभयो । तर त्यहाँबाट पनि निको भएन तर केही सुधार अवश्य भएको थियो । पाँच वर्षको हुँदा पनि हिड्दा गणपैत लड्नु हुन्थ्यो । राम्रोसँग हिडडुल गर्न सक्नु हुन्थेन । अशोकले उपचार गरेपछि गणपैतको खुट्टा नचलेपनि उहाँ एउटै खुट्टाको बलमा हिडडुल गर्न थाल्नुभयो ।
उहाँ चार कक्षादेखि नै जहिले पनि दोस्रो स्थान ल्याउनु हुन्थ्यो, अर्थात आफ्नो कक्षाको उहाँ ‘सेकेण्ड ब्योय’ हुनुहुन्थ्यो । गणपैतलाई पढाई प्रति आफ्नै काकाका छोरा चन्देश्वर यादवले प्रोत्साहित गर्नु भएको थियो ।

हिनता र आत्मबल
हिडेको देखेर कतिपय साथीहरुले जिस्काउथे । कतिपयले त उहाँ हिडेको नक्कल पनि गर्थे त्यसले गणपैतलाई कहिले काही पीडा हुन्थ्यो । एकान्तमा रुन्थे पनि तर उहाँको परिवारले दिएको मायाले ती सबै पीडा बिर्साइ दिन्थ्यो । तर उहाँ ती साथीहरुलाई केही गरेर देखाई दिने आत्मबल पनि मिल्थ्यो त्यसबाट । उहाँले भन्नुभयो, ‘साथी भाइले जिस्काएर पीडा दिए पनि मेरो आमा बुवा तथा परिवारको जुन माया ममाथि थियो त्यसले ती सबै पिडा बिर्साइ दिन्थ्यो । मलाई परिवारबाट कहिले कुनै किसिमको भेदभाव भएन ।’
अपाङ्ग भएको कारण केही गर्न सक्दिन, खेती किसानी, विजनेश व्यपार केही पनि आफूबाट सम्भव छैन भनि सोच गणपैतमा आएको थियो । बाँच्नका लागि, यो समाजका लागि, आफ्नो परिवारका लागि केही नकेही गर्नुपर्छ भनि सोच गणपैतमा आएको थियो । केही गरेर देखाउनुपर्छ भनि सोच गणपैतमा आएको थियो । आमा–बुवा, दाजु भाइ हुँदा त यो समाजले यो नजरले हेर्छ भने आमा–बुवा बितेपछि, दाजु भाइ पनि बुढो भएपछि त झन यो समाजले आफूलाई गिज्याउँछ, त्यही भएर अहिले नै केही गर्नुपर्छ भनि उहाँलाई लागेको थियो । र, डाक्टर पढ्ने सपना लिएर काठमाडौँसम्म पुग्नुभयो । उहाँको घरको आर्थिक अवस्थाले उहाँलाई डाक्टरी पढ्ने इजाजत दिइरहेको थिएन तैपनि उहाँले काठमाडौँमा ट्युशन पढाएर भएपनि डाक्टरी पढ्ने आँट लिएर काठमाडौँसम्म पुग्नुभयो ।
शिक्षा
मध्यम किसान परिवारमा जन्मेका गणपैतको पढाई गाउँकै विद्यालय जनकल्याण माध्यमिक विद्यालय गौरीपुरबाट शुभारम्भ भएको थियो । गणपैत शारिरीक रुपले अपाङ् भएपनि पढाईमा अब्बल हुनुहुन्थ्यो । उहाँ चार कक्षादेखि नै जहिले पनि दोस्रो स्थान ल्याउनु हुन्थ्यो, अर्थात आफ्नो कक्षाको उहाँ ‘सेकेण्ड ब्योय’ हुनुहुन्थ्यो । गणपैतलाई पढाई प्रति आफ्नै काकाका छोरा चन्देश्वर यादवले प्रोत्साहित गर्नु भएको थियो । चन्देश्वर पनि जनकल्याण माविका शिक्षक हुनुहुन्थ्यो । उहाँले बेलाबेलामा गणपैतलाई हौसला दिइरहनु भएको कारणले शिक्षालाई निरन्तरता दिन सफल हुनुभयो ।
गणपैतले कम्प्युटरको नाम मात्र सुन्नु भएको थियो तर आँखाले कहिले देख्नु भएको थियो । उहाँलाई कम्प्युटरको तालिम लिने हुटहुटी जाग्यो ।
गणपैतले पढाई लेखाइमा आफ्ना दाजु धनपैत यादव र मनपैत यादवबाट पनि त्यतिकै सहयोग पाउनु भएको थियो । धनपैत र मनपैत आफै धेरै पढ्न सक्नु भएन तर भाइ गणपैतलाई पढाईबाट कहिले बन्चित गर्नुभएन । क्षमताले भ्याएसम्म सहयोग गर्नुभयो । धनपैत आफै एसएलसीसम्म मात्र पढ्नु भयो अहिले उहाँ राजनीतिमा हुनुहुन्छ । चार नम्बर वडाको अध्यक्ष हुनुहुन्छ । मनपैत १२ कक्षा मात्रै पढ्नुभयो । उहाँ अहिले खेती किसानीमा हुनुहुन्छ । एकपटक भाइको पढाइ खर्चका लागि वैदेशिक रोजगारीमा पनि जानुभएको थियो । जहिले पनि धनपैत र मनपैतले गणपैतलाई हौसला नै दिनुहुन्थ्यो । उहाँहरुले आफ्नो भाइ गणपैतलाई अपाङ्ग भएको एहसास कहिले हुन दिनु भएन ।
गणपैत २०५२ सालमा द्धितिय श्रेणीबाट एसएलसी. पास गर्नुभयो । अरु सपाङ विद्यार्थी जस्तै उच्च शिक्षा वा एसएलसीपछि थप पढ्ने इच्छा गणपैतको पनि थियो । के पढ्ने भनि घरमा सल्लाह भयो । त्यतिबेला गाविसमा एउटा पत्र आयो कि अपाङ भएकालाई नेपाल अपाङ्ग संघले कम्प्युटरको तालिम दिनेछ । गणपैतका लागि यो जस्तो अर्को कुनै मौका आउनेबाला थिएन । गणपैतले कम्प्युटरको नाम मात्र सुन्नु भएको थियो तर आँखाले कहिले देख्नु भएको थियो । उहाँलाई कम्प्युटरको तालिम लिने हुटहुटी जाग्यो । त्यो बेला सबैका लागि कम्प्युटर नयाँ नै थियो ।
उहाँले कम्प्युटर पढ्ने चाहना व्यक्त गर्नुभयो । त्यसपछि उहाँ घरकै सल्लाहमा कम्प्युटर तालिमका लागी जनकपुरस्थित नेपाल अपाङ्ग संघमा भर्ना हुनुभयो । त्यहाँ बसेर उहाँले कम्प्युटरको तालिम लिन थाल्नुभयो । सानैदेखि पढ्नमा तेज गणपैत कम्प्युटरमा पनि रामै्र गरिरहनु भएको थियो । उहाँको सिकाइ र टाइलेन्टको त्यहाँ पनि प्रसंसा हुन्थ्यो ।
कम्प्युटर तालिममा सहभागी भएकाहरु मध्ये गणपैत मिहिनेती हुनुहुन्थ्यो । हरेक महिनाको आन्तगरिक परीक्षामा उहाँ कम्प्युटरमा प्रथम हुनुहुन्थ्यो । जसका कारण संस्थाका अध्यक्ष शिवचन्द्र साहले उहाँसँग निकै प्रभावित हुनुभएको थियो । र उहाँले संघमै कम्प्युटर प्रशिक्षकको रुपमा उहाँलाई रोजगारी दिनु भयो ।
मेडिकलको तयारीका लागि बागजारमा कोचिङ्ग पढ्नु हुन्थ्यो । गाडी भाडा बचाउनका लागि उहाँ जहिले पनि कुपण्डोलबाट हिडेर बागबजार जानु हुन्थ्यो र आउनु हुन्थ्यो ।
त्यति मात्र होइन, उहाँले कम्प्युटरको तालिमसँगसँगै राराब क्याम्पस जनकपुरमा आईएससी समेत अध्ययन शुरु गर्नु भयो । उहाँ जागिरसँगसँगै पढाईलाई पनि निरन्तरता दिनुभयो । तर उहाँले आईएससी. पास गर्न सक्नु भएन । उहाँ भन्नुहुन्छ, ‘मेरो घरको आर्थिक अवस्था राम्रो थिएन, साइन्स पढ्न मेहनतका साथै खर्च पनि हुँदो रहेछ । ट्युशन पढ्नुदेखि लिएर कापी किताब, क्याम्पसको फीलगायतका खर्च तिर्ने क्षमता मेरो घरको थिएन, त्यही भएर पढाई राम्रो भएन र पास गर्न सकिएन ।’
आमा–बुवा तथा दाजुहरुले पैसा नदिने कहिले भन्नुभएन तर जहिले अभाव हुन्थ्यो, उहाँहरु पैसाको व्यवस्था गर्दा गर्दै यहाँ धेरै कुराको अभाव महसुस हुन्थ्यो, ट्युशन छुट्थ्यो, क्याम्पसको फि समयमा तिर्न सकिदैन्थ्यो । उहाँले भन्नुभयो, ‘धान चामल बेचेर नै पैसाको व्यवस्था हुन्थ्यो, वा कसैसँग ऋण सापटले नै व्यवस्था हुन्थ्यो तर विस्तारै व्यवस्था हुन्थ्यो, त्यसले मलाई निकै पिडा हुन्थ्यो कहिले काही आफै एक्लै रुन्थे ।’
स्कूल पढ्दा पनि समयमा पैसा नदिँदा परीक्षामा प्रवेशपत्र नदिएको घटना धेरै छन् गणपैतसँग । अरुअरु विद्यार्थीले प्रवेश पत्र लिएर परीक्षा दिन जान्थे, गणपैत स्कूलको अफिसमा शिक्षकको अगाडि निरिह भएर उभिरहनु हुन्थ्यो । शिक्षकलाई दाया लागेपछि भोली जसरी पनि परीक्षा फि ल्याउनु है भनेर प्रवेशपत्र दिन्थ्यो । आँखाको आँसु पुछ्दै गणपैत परीक्षा दिन क्लासमा जान्थे । यतिका अभाव पिडा सहदै तर उहाँले हिम्मत हार्नु भएन उहाँलाई अझै पढ्नु थियो । उहाँले जनकपुरबाट आइएससी पास गर्न नसकेपछि भारतको मधेपुरा कलेजबाट आईएससी पास गर्नु भयो । आइएससी पास गरेपछि उहाँलाई डाक्टर पढ्ने इच्छा जाग्यो । तर इच्छा भएर मात्र हुँदैन । त्यसका लागि आर्थिक क्षमता पनि हुनुपर्छ ।
२०६० सालमा कम्प्युटर इन्जिनियरको चार वर्षे कोर्सको पढाई उहाँले शुरु गर्नु भयो । त्यति बेला उहाँको एक जना दाजु मनपैत यादव वैदेशिक रोजगारका लागी विदेशमा हुनु हुन्थयो ।
उहाँले काठमाडौँ गएर बोर्डिङ्ग स्कूल पढाउने, ट्युशन पढाउने र त्यसको कमाईबाट मेडिकलका तयारी गर्ने सोचका साथ २०५९ मा त्यतातिर लाग्नुभयो । काठमाडौँ गएर केही दिन आफ्नो गाउँले जसले काठमाडौँमा पानीपुरी बेच्थे उहाँकै डेरा कुपण्डोलमा बस्नुभयो । केही समय उहाँसँग बसेपछि त्यही गाउँलेले एउटा कोठा पार्टन खोजी दिएपछि गणपैत त्यो साथीसँग कुपण्डोलमा बस्न थाल्नुभयो । उहाँसँग आर्थिक समस्या छदैथियो । उहाँ अपाङ्ग भएपनि काठमाडौँका अधिकाँश ठाउँ हिडेर पुग्नुहुन्थ्यो । मेडिकलको तयारीका लागि बागजारमा कोचिङ्ग पढ्नु हुन्थ्यो । गाडी भाडा बचाउनका लागि उहाँ जहिले पनि कुपण्डोलबाट हिडेर बागबजार जानु हुन्थ्यो र आउनु हुन्थ्यो ।
काठमाण्डौमा बस्दा मेडिकल तयारीसँगै ‘होम ट्युशन’ पढाउन शुरु गर्नुभयो । बोर्डिङ स्कुलहरुमा पार्ट टाइम कम्प्युटर पढाउन थाल्नुभयो । त्यो खर्चले उहाँको कोठा भाडा र खानपिनका लागि मात्र पुग्थ्यो । उहाँ काठमाडौँमा संघर्ष गरिरहेकै बेला उहाँको आमाको निधन भयो । आमाको निधनले उहाँलाई निकै पिडा भयो । त्यसका साथै उहाँको पढाईमा पनि असर गर्यो । एक त आर्थिक अवस्थाका कारण मेडिकलको तयारी राम्रोसँग भएन अर्कोतिर त्यहीबेला आमाको निधन भयो त्यसले गणपैत साह्रै डिस्टर्व हुनुभयो ।
तयारी पुरा नभएपनि उहाँले महाराजगञ्जमा परीक्षा दिनुभयो तर पास हुनुभयो । पास हुँदिन भन्ने कुरा गणपैतलाई पहिलादेखि नै थाह थियो । त्यही भएर डाक्टर बन्ने सपना उहाँको पुरा भएन । तैपनि उहाँले हरेस खानु भएन । २०६० सालमा कम्प्युटर इन्जिनियरको चार वर्षे कोर्सको पढाई उहाँले शुरु गर्नु भयो । त्यति बेला उहाँको एक जना दाजु मनपैत यादव वैदेशिक रोजगारका लागी विदेशमा हुनु हुन्थयो । मनपैत त्यही बेला वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । विदेशबाटै दाजुले हरेक महिना पैसा पठाएर सयोग गर्नु हुन्थ्यो गणपैतलाई ।
शरीरले अपाङ भएपनि बुद्धि र दिमागले अपाङ्ग हुनुहुन्न भनि सविता विहे गर्न राजि हुनुभएको थियो । जब कि सविताले गणपैतलाई कहिले देख्नु भएको थिएन ।
तर आर्थिक अवस्थाले कम्प्युटर इन्जिनियरिङ् पढ्न पनि कम्ती समस्या भएन उहाँलाई । दाजु मनपैतको पनि विदेशमा राम्रो कमाई थिएन । भनेको बेलामा त्यहाँबाट पनि पैसा आउँदैन्थ्यो । त्यही भएर आर्थिक अभावको कारण सोचे जस्तो तयारी इन्जिनियरिङको पनि गर्न सक्नु भएन । काठमाडौँमा टिक्नका लागि उहाँ खुद आफै मेहनत गर्नुहुन्थ्यो । दाजुले पठाएको पैसाले अलिकति पढाई खर्च पुग्थ्यो त्यसले बल्ल बल्ल उहाँले कम्प्युटर इन्जिनियरिङ पास गर्नुभयो ।

जागिर
कम्प्युटर इन्जिनियरिङ पास गरेपछि उहाँले लोकसेवा आयोगको तयारीमा लाग्नुभयो । काठमाडौँमा दुई वर्षसम्म लोकसेवाको तयारी गर्नुभयो । तयारी गरेपछि २०६८ र २०६९ सालको लोकसेवा आयोगबाट कम्प्युटर अपरेटरमा लिखितमा नाम निकाल्न सफल हुनुभयो तर मौखिक परीक्षामा उहाँ फेल हुनुभयो । तर उहाँ कति पनि निरास हुनुभएन । उहाँले आफ्नो पढाईलाई निरन्तरता दिनुभयो । उहाँ आफ्नो लगनशिलता र मेहनतले २०७० सालमा कम्प्युटर अपरेटरमा नाम निकाल्न सफल हुनुभयो । र उहाँको पदस्थापना निर्वाचन कार्यालय हेटौडा मकवानपुरमा भयो । पाँच वर्षपछि सिरहा निर्वाचन कार्यालयमा सरुवा भएर आउनु भयो । अहिले तीन वर्षदेखि उहाँ सिरहा निर्वाचन कार्यालयमा कार्यरत हुनुहुन्छ । सिरहामा श्रीमती र बच्चासहित डेरा लिएर जागिर खाइ रहनु भएको छ ।
उहाँलाई त्यतिबेला जिस्काउने मानिसहरु पनि बेलाबेलामा उहाँसँग भेट हुन्छ । अप्ठ्यारो मानि मानि उहाँसँग कुरा गर्छन् । उनीहरुले नै भन्ने गर्छन्, तिमी त सुरुदेखि मेहनती थियौं, पढाईलाई निरन्तरता दियौं र आज यहाँसम्म पुग्यौं हामी त त्यहीका त्यही छौं ।’ गणपैत भन्नुहुन्छ, मलाई त्यतिबेला गिज्याउने, जिस्काउने, होच्याउनेसँग कुनै गुनासो छैन र त्यतिबेला पनि थिएन । दुख त लाग्थ्यो तर ती कुराहरु सुनेर ममा एउटा आत्मबल आउथ्यो कि पख आज तिमीहरुले मलाई यसरी गिज्याउँछौं, मजाक उडाउँछौं एक दिन केही नकेही बनेर देखाई दिन्छु भनि अठोट लिन्थे ।’
गणपैत कम्प्युटर अपरेटर पास गर्नुभयो । त्यो दिन गणपैतका लागि जीवनको सबभन्दा ठूलो खुशीको दिन थियो । गणपैत र सविता त्यो दिन काठमाडौँमा निकै खुशीयाली मनाउनुभयो ।

सविताले रोज्नुभयो गणपैतलाई
अध्यात्मिक विचारका गणपैत आफू आफ्नो खुट्टामा न उभिएसम्म विवाह नगर्ने सोचमा हुनुहुन्थ्यो तर सरकारी जागिरमा प्रवेश गर्नुअघि नै उहाँको विहे भयो । २०७० मा कम्प्युटर अपरेटरका लागि परीक्षा दिएर घर आएपछि आमा–बुवाले जवर्जस्ती विवाह गराई दिनुभयो गणपैतलाई । गणपैतलाई थाह थियो कि यसपाली जसरी पनि कम्प्युटर अपरेटरमा पास हुन्छु किनभने तयारी राम्रो थियो । परीक्षा राम्रो गएको थियो । आमा–बुवाले जिद्द गरेपछि ३४ वर्षको उमेरमा उहाँले सविता कुमारी यादवसँग विहे गर्नुभयो । अपाङ्ग भएको कारणले सविताका आमा–बुवाले विहे गर्न तयार हुनुहुन्थेन । सविताले नै विशेष जोड दिएर विहे गर्न आमा बुवालाई राजि गराउनु भएको गणपैत बताउनुहुन्छ ।
गणपैत काठमाडौँमा पढ्नु हुन्छ । मेहनती हुनुहुन्छ । कम्प्युटर इन्जिनियरिङ्ग पढ्नु भएको छ । एउटा राम्रो केटाका लागि यो भन्दा बढी गुण अरु केही चाहियो र एउटा केटीका लागि यो भन्दा राम्रो दुलहा अर्को कस्तो पाउनु भनि सविताको तर्क थियो । शरीरले अपाङ भएपनि बुद्धि र दिमागले अपाङ्ग हुनुहुन्न भनि सविता विहे गर्न राजि हुनुभएको थियो । जब कि सविताले गणपैतलाई कहिले देख्नु भएको थिएन । उहाँ एउटा प्राविमा करार शिक्षिकामा काम गर्नुहुन्थ्यो । त्यो प्राविमा गणपैतका काकाका छोरा चन्देश्वर पनि पढाउनु हुन्थ्यो । त्यही चन्देश्वरले सवितालाई गणपैतका बारेमा सबै कुरा भन्नुभएको थियो । चन्देश्वरको कुरा सुनेर नै सविता गणपैतप्रति सकारात्मक हुनुभएको थियो र विहेका लागि तयार हुनुभएको थियो ।
विहे हुने वित्तिकै सविता गणपैतसँग काठमाडौँ जानुभयो । त्यसपछि उहाँको करारको जागिर छुट्यो । तर जागिर छुटे पनि सविता गणपैतसँग निकै खुशी हुनुहुन्थ्यो । उहाँको दुख सुखको साथी र सहयोगी हुनुभयो । सविता साथमा भएपछि गणपैतलाई पहिला जस्तो समस्या भएन । दुवैजना दुखसुख बाँडेर काठमाडौँमा बस्नु हुन्थ्यो । गणपैतको हरेक दुखमा सविताको साथ हुन्थ्यो । पढाई लेखाईदेखि लिएर हिडाई डुलाईमा सविताको सहयोग हुन्थ्यो । गणपैत कम्प्युटर अपरेटर पास गर्नुभयो । त्यो दिन गणपैतका लागि जीवनको सबभन्दा ठूलो खुशीको दिन थियो । गणपैत र सविता त्यो दिन काठमाडौँमा निकै खुशीयाली मनाउनुभयो । जनकपुरमा तालिम लिएको सर्टिफिकेटको आधारमा जागिर पाउनु भएको थियो । कम्प्युटर इन्जिनियरको सर्टिफिकेट काम लागेको थिएन ।
यद्यपी अझै पनि उहाँ त्यो सर्टिफिकेटलाई सदुपयोग गर्ने सोचमा हुनुहुन्छ । सविता पनि अहिले सिरहा क्याम्पसमा बीएड दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । गणपैत समेत एलएलबी दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । सविता छोराछोरीलाई स्यहार सुसार गर्दै दिन वितराई रहनु भएको छ तर गणपैतको चाहना सविताले पनि केही गरुन् रहेको छ । सवितालाई गणपैतले भनिरहनु हुन्छ, कि अब तिमी पनि केही गर्नुपर्छ यसरी घरमै अल्झेर बस्नु हुँदैन ।
गणपैतका दुईजना छोरा र एउटा छोरी छन् । सात वर्षका छोरा विद्यापति यादव युकेजीमा पढी रहेको छ भने पाँच वर्षका छोरी दिव्या कुमारी यादव एलकेजीमा पढी रहेकी छिन् । अर्को छोरा विद्यानन्द यादव अहिले एक वर्षका मात्र भएको छ । गणपैत आफै तीन दाजु भाइ र एक वहिनी छन् । विहनीको विहे भइसकेको छ । अहिले तीनै दाजुभाइ एउटै परिवारमा बस्नुहुन्छ । गणपैत जागिरसँगै अध्ययनलाई पनि निरन्रता दिनुभएको छ । त्यसका साथै उहाँले अपाँगता भएका व्यक्तिहरुको राज्यबाट उपलब्ध हुने सेवा सुविधा, अवसर र सहुलियतमा पहुँचका लागि सूचना तथा परामर्श सेवा उपलब्ध गराउने अपाङ्गता भएका व्यक्तिहरुलाई संगठित गर्ने र अधिकार प्रति जागरुक बनाउने काममा लाग्नु भएको छ ।
–सिरहाबाट पर्शुराम साहको सहयोगमा तयार पारिएको


तपाईको प्रतिक्रिया