Khadya Bibhag

अयोधीको महत्ता र मधेसको अपेक्षा (फरकमत)

एउटा मजदूरी गरेर बाँच्ने मधेसी किसानको छोराले जुन हैसियत प्राप्त गरे त्यो एकीकृत सामन्तवादी निरंकुश पंचायतकालमा सम्भव थिएन । बहुदलीयकालमा पनि देखिएन । गणतन्त्रले त्यो दिन जुरायो ।

–रामरिझन यादव
कान्तिपुर एफएमको चर्चित स्तम्भ हेडलाइनरमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अन्तरर्वाता सुने । अन्तरवार्ता सम्यक र मिश्रित भावको थियो । यो उनको अथक संघर्षमय जीवनबाट प्राप्त गरेको परिपक्व अभ्यासको प्रतिफल हो भन्ने मलाई लाग्छ । एउटा विशेषज्ञको लागि योभन्दा खुशीको क्षण अर्को हुन सक्दैन । उनको विचार लाखौं जनताको बीचमा सम्प्रेषित हुनु आफैमा प्रशंसनीय छ । वास्तवमा कुनै विशेषज्ञले प्राप्त गरेको ज्ञान र शीपको अग्निपरीक्षा त्यतिबेला हुन्छ जतिबेला मुलुकले उसको नेतृत्वमा सफलतापूर्वक कुनै अनुष्ठानलाई सम्पन्न गरेको होस् ।

निर्वाचन आयोगमा रहँदा डा.अयोधीप्रसाद यादवको कामयाबीलाई हरेक दृष्टिकोणबाट उनको जीवनको उत्कृष्ट कालखण्ड मानिन्छ । उनको स्वर्णीम प्राध्यापनकालभन्दा पनि उन्नत ! यो तथ्यलाई उनले हृदयङ्गम गर्न सके मधेशमा विषयगत विशेषज्ञताको खडेरीलाई केही हदसम्म पूर्ति गर्ने सम्भावना छ । योभन्दा पहिले प्रवीणताको यो पदको पूर्ति वीरेन्द्र मिश्रको पक्षमा जान्थ्यो, जो आफ्नो बढ्दो उमेरको हकमा हाल सार्वजनिक रुपमा उपस्थित हुन सकिरहेको देखिन्न ।

निर्वाचन आयोग संवैधानिकता बोकेको संस्था हो । यसको काम, कर्तव्य र अधिकारको परिधिलाई कतिपय अवस्थामा सर्वशक्तिमान सरकारले समेत छेकवार लगाउन सक्दैन । यो तथ्यलाई बुझेर नै होला आयोगले हाल प्रस्तावित गरेको स्थानीय निर्वाचनको तिथि सरकारमाथि एक प्रकारको दवाव हो । संविधानबाट नै प्रत्याभूत गरिएको आयोगको स्वायत्तताप्रति सरकार सचेत र सजग हुनु पर्छ । यदि भएन भने आम निर्वाचान प्रणालीमा आधारित लोकतन्त्रले स्थायित्व प्राप्त गर्न सक्दैन भन्ने कुरा दिउँसोको घाम जतिकै छर्लङ्ग छ ।

यसप्रकारको सकारात्मक सोच वर्तमान पदाधिकारीहरुले आत्मसात गर्नु प्रजातन्त्रलाई संस्थागत गर्ने एउटा दरिलो पाइला हो । यसलाई जति प्रशंसा गरे कम हुन्छ । यद्यपि भारतमा जस्तो स्वायत्तता हाम्रो निर्वाचन आयोगले प्राप्त गरेको छैन । त्यसैले नेपालमा टि.एन. सेसनहरु अहिले जन्मेका छैनन् । भारतीय लोकतन्त्रको अहर्निस महिमा मण्डन गर्न नथाक्ने नेपाली संस्करणहरु आफ्नो व्यक्तिगत र पार्टीगत स्वार्थ पूर्तिको लागि निर्वाचन गराउन कसरी आलटाल गर्छन भन्ने कुराको ज्वलन्त प्रमाण वर्तमान सरकार हो । डा. यादवले हेडलाइनरमा यो तथ्यलाई तार्किक ढंगबाट प्रस्तुत गर्न प्रयास गरेपनि आवश्यकतानुकूल प्रष्ट पार्न सकेन, जो नेपालीय बौद्धिकताको चरित्र हो ।

डा.अयोधी विराटनगरस्थित जुट विकासको महाप्रवन्धक भए । यद्यपि विराटनगरमा त्यसको हकदार म थिए । किनकि २०४६ सालको ऐतिहासिक आन्दोलनमा जेलनेल र यातना मैले भोगेको हूँ अयोधीले होइन ।

अयोधीको ओहदा
डा.अयोधीप्रसाद यादवले आफ्नो जीवनमा जे जति हैसियत कमाएका छन् त्यो उनको योग्यता र दक्षताको प्रतिफल हो । अपार मेहनत र लगनशीलताको परिणाम हो । नेपालको समकालीन इतिहासमा सामान्य मधेसी परिवारबाट हुर्केका कुनै व्यक्ति आजसम्म यो ओहदासम्म पुगेको देखिन्न । विगतमा जे जति व्यक्तिहरु उक्ले तिनीहरु हुनेखाने परिवारका नै थिए । डा.यादवको गृह जिल्लाबाट नै गणना गर्ने हो भने पंचायतकालमा नै यसप्रकारका हैसियत आर्जन गर्नेहरु केही छन् । तर, एकजना पनि डा.अयोधीजस्तो जनसामान्य व्यक्तिको छोरा भेटिन्न । युवावस्थादेखिको उनको शिक्षाप्रतिको लगाव र संगतले जीवनको कष्टसाध्य दिनहरुलाई समेत पर्वाह नगरि जसरी उकालो चढ्ने बानी बसाले त्यो वर्तमान पुस्ताको लागि अनुकरणीय छ । एउटा मजदूरी गरेर बाँच्ने मधेसी किसानको छोराले जुन हैसियत प्राप्त गरे त्यो एकीकृत सामन्तवादी निरंकुश पंचायतकालमा सम्भव थिएन । बहुदलीयकालमा पनि देखिएन । गणतन्त्रले त्यो दिन जुरायो ।

जतिबेला सप्तरीको समतल उर्वर र जगमगाउदो खेत खलिहानमा भैंसी चराएर मैट्रीक पास गरेका एउटा ठिटो टेलिफोन अपरेटर हुन्छन् । खरेदारको जागिर खान वीरगञ्जतिर हुइकिन्छन् । पंचायतकालको त्यो कहालीलाग्दो अवस्थामा आफ्नो जागिरको प्रवाह नगरि उनी कुनै वामपंथी समूहको भूमिगत संगठनसंग आबद्ध हुन्छन् । राजनीतिक रुपमा पाएको त्यो सानिध्यताले उनलाई शिक्षा र समाजप्रतिको इमान्दारिता र सजगतामा उभार ल्याउँछ र उनी त्यही ठाकुराम बहुमुखी क्याम्पसबाट डिप्लोमा गर्न सफल हुन्छन् ।

महापंडित राहुल सांकृत्यायनले एक ठाउँमा के लेखेका छन्, ‘गाउँघरमा प्रतिभाको कुनै कमी छैन । भैंसी चराउँदै गरेको एउटा निराक्षर भैंसवारले एकसे एक मुक्तक (फकरा) सिर्जना गर्न सक्छन् जसलाई हेरेर वा सुनेर ठूल्ठूला कविको दाँत अमिलो हुन्छ ।’ डा. अयोधीप्रसाद यादव तिनै प्रतिभामध्ये एक हुन् जसले सप्तरीका उदीतनारायणलाई पन्छ्याउने प्रयास गरिरहेका छन् ।

यो कुराको पुष्टि त्यतिबेला भयो जतिबेला उनले वीरगंजमा अत्यन्तै न्यून आय भएका जागिरबाट समय निकाली सन् अस्सीको दशकमा भारतका पूराना विहार विश्वद्यिालयबाट अर्थशास्त्रमा स्नातकोत्तरमा गोल्डमेडल हासिल गरे । त्यसको लगत्तै विराटनगरस्थित महेन्द्र मोरङ्ग आदर्शजस्तो ‘क’ श्रेणीको क्याम्पसमा प्राध्यापन प्रारम्भ गरेका थिए । तर माथि उक्लिने उनको सकारात्मक सोचले उनलाई केही वर्षभित्र नै विद्यावारिधि (पी.एच.डी) गर्न बाध्य पार्यो । पाठ्यपुस्तक लेखनमा अभिरुचि जगायो । निर्धन दिनहरुको नराम्ररी स्वाद चाखेका यादवलाई समृद्धिको बाटो देखायो । देख्दादेख्दै उनी स्थापित प्राध्यापक तथा लेखकमा रुपान्तरित भए ।

डा. अयोधीले बजेटको व्याख्या र विश्लेषण नगरेका होइनन् तर राष्ट्रिय रुपमा अर्थशास्त्रीको रुपमा उनले आफ्नो हैसियत बनाउन सकेनन् । यद्यपि त्यो हैसियत प्राप्त गर्न उनीसंग प्रयाप्त डिग्री र योग्यता छ ।

सायद यिनै कारणले होला बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात् लगत्तै उनले विराटनगरस्थित जुट विकासको महाप्रवन्धक भए । यद्यपि विराटनगरमा त्यसको हकदार म थिए । किनकि २०४६ सालको ऐतिहासिक आन्दोलनमा जेलनेल र यातना मैले भोगेको हूँ अयोधीले होइन । जागिरको पर्वाह नगरि पंचायती व्यवस्थाको खइरो मैले खनेको थिए । तर बहुदलीय व्यवस्थाले पनि पंचायती व्यवस्था झै पेशागत अवधारणा र राजनीतिक संस्कारलाई संस्थागत गर्नुभन्दा पार्टीगत सोचलाई सर्वोपरि ठानेकोले अयोधीप्रसाद यादव त्यो पदमा उम्कन सफल भए । मुलुकले अद्याबधि अनुपातिक फड्को मार्न नसक्नुको एउटा कारण यो पनि हो । बहुलवादमा आधारित पार्टीको सबैभन्दा ठूलो अवगुण हो यो । त्यतिबेला डा.अयोधी र म एउटै क्याम्पसमा पढाउथे । भूमिगत राजनीतिक रुपमा उनी नेकपा (माले) थिए भने म नेकपा (चौम) सँग आबद्ध थिए ।

अर्थशास्त्रीको रुपमा
नेपालमा मधेशी समुदायबाट अर्थशास्त्रमा स्नातकोत्तर वा पीएचडी गरेकाहरुको कुनै कमी छैन । यस विधाका अध्ययेता पनि नरहेका भने होइनन् मधेशमा । तर, जतिबेला सरकारले बजेट प्रस्तुत गर्छन् त्यतिबेला प्रतिक्रिया दिनेहरु नगण्य देखिन्छन् । विराटनगरबाट त नियमित सुनिन्छन् । जनकपुर र वीरगंजबाट आकल झुक्कल नाम सुन्ने गरिन्छन् तर राजविराज, नेपालगञ्ज वा भैरहवाबाट त्यस्तो विशेषज्ञता प्राप्त गरेको व्यक्तिको नाम सुनेको मलाई याद छैन । डा. अयोधीले बजेटको व्याख्या र विश्लेषण नगरेका होइनन् तर राष्ट्रिय रुपमा अर्थशास्त्रीको रुपमा उनले आफ्नो हैसियत बनाउन सकेनन् । यद्यपि त्यो हैसियत प्राप्त गर्न उनीसंग प्रयाप्त डिग्री र योग्यता छ । भर्खरै प्रकाशित उनको ‘इलेक्सन कोष्ट इन नेपाल’ भन्ने पुस्तक उनको अर्थशास्त्रीय ज्ञान तथा निर्वाचन आयोगमा दशवर्षे कार्यकालको उपज हो । यसबाट पनि उनको लेखनकलाको भेउ पाउन सकिन्छ ।

ओजपूर्ण व्यक्तित्व
मधेशी समुदायबाट मात्र होइन, सिङ्गो नेपालको हकमा डा.अयोधीप्रसाद यादवले आफ्नो राष्ट्रि«य व्यक्तित्व निर्माण गरिसकेका छन् । निर्वाचनजस्तो संवैधानिक आयोगको प्रमुख निर्वाचन आयुक्त बन्नु चानचुने कुरा होइन । त्यसको गरिमाको बखान गर्ने हो भने एउटा निष्पक्ष, स्वतन्त्र र पक्षपातविहीन व्यक्तित्वको परिचय दिन्छ । यद्यपि नेपालमा त्यो खोज्न गाह्रो भए पनि भोजराज पोखरेलजस्ता व्यक्तिहरु अद्यावधि जिबित नै छन् । जसले निष्पक्षताको मिसाल नै खडा गरे । वीरेन्द्र मिश्र पनि आफ्नो ओजलाई कहिल्यै घटाएनन् । तर कता हो कता डा.अयोधीलाई मैले एकदिन कुनै राजनीतिक पार्टीको नेता तथा कार्यकर्ताहरु प्रवेश कार्यक्रमको माझ पाएपछि मलाई नराम्रो अनुभूति भयो । उनको टावरिङ्ग व्यक्तित्व त्यहाँ पुड्के परेको महसुस भयो ।

निलकंठ उप्रेती वा दौलतवहादुर गुरुङ्ग कुनै आमुक पार्टीको नेता नै बन्न सक्दैन भन्ने कुरा होइन । त्यसको लागि उनले आफ्नो विचारलाई सार्वजनिकीकरण गर्न सक्नु पर्छ जसरी टिएन सेसनले गरेका थिए । उनी चुनाव पनि लडेका थिए । 

यद्यपि उनी पनि कुनै न कुनै विचारबाट प्रभावित छन् र त्यही वैचारिक धारको कारण मुकाम दर मुकाम उक्लेका पनि हुन् भन्ने तितो यथार्थ मलाई थाहा नभएको भने होइन । तर एकपटक गुरुत्व बोकेको ठाउँमा पुगिसकेको व्यक्तिले त्यो पदीय गरिमालाई बचाए मात्र नयाँ संस्कार र संस्कृतिको सुत्रपात हुन्छ भन्ने मेरो आफ्नो व्यक्तिगत अवधारणा हो । निलकंठ उप्रेती वा दौलतवहादुर गुरुङ्ग कुनै आमुक पार्टीको नेता नै बन्न सक्दैन भन्ने कुरा होइन ।

त्यसको लागि उनले आफ्नो विचारलाई सार्वजनिकीकरण गर्न सक्नु पर्छ जसरी टिएन सेसनले गरेका थिए । उनी चुनाव पनि लडेका थिए । तर भर्खरै प्रमुख निर्वाचन आयुक्तजस्तो महत्ताले विभूषित पदबाट ओर्लेका व्यक्तिलाई राजनीतिक कार्यकर्ताको झुण्डमा देखिनु पदीय आचरणको निर्वाहन नगर्नुजस्तो मलाई लाग्यो ।

वर्षौवर्षको हाम्रो मित्रवत् सम्बन्ध भए पनि तिखो टिप्पणी नगरि रहन सकिन जो डा.अयोधीको हकमा असहिष्णु हुनु स्वभाविक थियो । व्यक्तिगत रुपमा मलाई स्वयं पनि नराम्रो लाग्यो । तर मैले व्यक्तिभन्दा पनि देश र मधेशको उन्नत्तिलाई नै आफ्नो जीवनको रणनीतिक लक्ष्य बनाएको छु । त्यसैले मेरो व्यक्तिगत निर्णय पनि संस्थागतस्वरुपको हुन्छ । डा.अयोधीप्रसाद यादवजस्तो विद्वत अनुभवी र खारिएको व्यक्तिको मधेशमा कति आवश्यकता छ भन्ने बोध मभित्र छ । तर राजनीतिभन्दा पार्टीकरण र त्यसमा पनि क्षुद्र गुटगत स्वार्थको कहालिलाग्दो अवस्थामा डा.अयोधी यो राष्ट्रको मूलभूत माग पनि हुन गएको हो ।

हाल पहाडभन्दा दोब्बर भ्रष्टाचार मधेशमा भइरहेको अवस्थामा एउटा पनि मधेशी अर्थशास्त्रीले यसको चिरफार गर्न नसक्नु र भागबण्डा ओमशान्तिमा नै आफ्नो प्रगति हेर्नु मधेशको दुर्भाग्यसंगै देशको लागि कलंक हो । यो दुःखलाग्दो र भयावह स्थितिलाई सन्तुलनमा ल्याउन निष्पक्ष अर्थशास्त्रीको आवश्यकता छ । यस सन्दर्भमा डा.अयोधी प्रसाद यादव पनि सम्भावना बोकेको व्यक्ति हुन् । त्यस्तै निर्वाचन सन्दर्भमा पनि उनको चौमुखी प्रतिभाको राष्ट्रलाई खाँचो छ ।

यद्यपि उनले आफ्नो विशेषज्ञताजस्तो गहन जिम्मेवारीलाई पद, पैसा र प्रतिष्ठासँग विनिमय गर्दा राष्ट्र, समाज र परिवारको लगानी खेर जाने सम्भावना पनि उत्तिकै छ । व्यक्तिगत रुपमा मैले घाटाको व्यपारको क्रिया नै खाएको छु । होइन भने अयोधीसंग बैरी मोल्न मलाई कुकुरले टोकेको होइन । अस्तु ।
(लेखक रामरिझन यादव लेखक एवं राजनीतिकर्मी हुनुहुन्छ)

तपाईको प्रतिक्रिया