काठमाडौँ फागुन १३–जनता समाजवादी पार्टी नेपालले मेलेनियम चैलेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा छलफल गर्न आज कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बालकुमारीस्थित पार्टी कार्यालयमा सो बैठक बस्ने कार्यालयका सचिव प्रकाश अधिकारीले बताउनुभयो । आजको बैठकमा एमसीसीको विषयमा मात्र छलफल हुने बताइएको छ । एक वजेदेखि संसदको बैठक छ, त्यसअघि नै एमसीसीको विषयमा पार्टीले टुगों लगाउनुपर्छ ।
पार्टीमा एमसीसीका विषयमा फरकमतहरु आइरहेका छन् । जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई एमसीसीको पक्षमा हुनुहुन्छ भने सोही पार्टीका अध्यक्ष उपेन्द्र यादवले अझै आफ्नो धारणा बाहिर ल्याउनु भएको छैन । यद्यपी आन्तरिक बैठकहरुमा उहाँ एमसीसीको विपक्षमा आफ्नो धारणा राख्दै आउनु भएको छ ।
अध्यक्ष भट्टराईले हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसीसीमा जसपाको पनि समर्थन रहने जानकारी गराई सक्नु भएको छ । उहाँले जसपाका अधिकाँश सांसद एमसीसीको पक्षमा रहेको जानकारी प्रधानमन्त्री देउवालाई गराई सक्नु भएको स्रोतले जनाएको छ ।
जसपाका संसदमा मात्र होइन, कार्यकारिणी समितिमा पनि एमसीसी पक्षधरको बहुमत रहेको दावी बाबुराम पक्षको रहेको छ । बाबुराम भट्टराई केन्द्रीय सदस्यहरुको हस्ताक्षर पनि संकलन गरिरहेको छ । अध्यक्ष यादवमाथि दवाव बढाउनका लागि हस्ताक्षर संकलन गरिएको हो ।


तपाईको प्रतिक्रिया