Khadya Bibhag

नेपालका किसानले पनि प्रयोग गर्न सक्ने भए नानो युरिया मल

किसानका लागि हुने गरेको रासायनिक मलको हाहाकारलाई कम गर्नका लागि नेपालमा नानो झोल युरिया रासायनिक मल प्रयोगमा आउने भएको छ । भारतमा यो नानो युरियाले मलले राम्रो नतिजा ल्याएको छ । भारतबाट नेपालमा आयात गरी रासायनिक मलको हाहाकार कम गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नानो युरिया मल आयतका लागि अनुमती दिने निर्णय गरेको छ ।

यसअघि दानादार युरिया मल मात्र पाइन्थ्यो अब झोलबाला युरिया मल पनि पाइने कृषि मन्त्री महिन्द्रराय यादवले बताउनुभयो । दानाबाला युरिया मलभन्दा सस्तो र सजिलो उपलब्ध हुने भएकाले नेपाली किसानले पनि नानो युरिया मल नै प्रयोग गर्ने भएको छ ।

नानो युरिया मललाई नेपालको मलमा सुचीकृत गरेको सूचना राजपत्रमा पनि प्रकाशित भइसकेको छ । योसहित नेपालमा अब ५३ प्रकारको मल पाइने भएको छ । नेपालमा प्राङ्गारिक मलको मात्र झोल पाइन्थ्यो । पहिलो पटक नेपालमा रासायनिक मल पनि झोलका रुपमा पाउने भएको छ । यसको उत्पादन भारतमा हुन्छ । त्यहाँबाट सजिलै तरिकाले खरिद गरेर ल्याउन सकिन्छ । नानो युरिया मल नेपालका लागि उपयुक्त छ कि छैन भनि परीक्षणका लािग कृषि मन्त्रालयले मन्त्रालयका सहसचिव रहनु भएका माटो विज्ञ डा.चन्द्र ढकालको नेतृत्वमा एउटा समिति बनेको थियो । त्यो समितिले खुमलटारमा नानो युरिया मलको परीक्षण गरेको कृषि मन्त्रालयका सहसचिव कमलराज गैरेले बताउनुभयो ।

समितिले काउली तरकारीमा यो नानो युरिया मलको प्रयोग गरेको छ । काउलीमा गरिएको परीक्षण सफल भएपछि नेपालमा यो नानो युरिया मल प्रयोग गर्न सकिने सिफारिस गरिएको सहसचिव गैरेले बताउनुभयो ।

काउली तरकारीमा गरेको परीक्षणका आधारमा यो नानो युरिया मल प्रयोग गर्दा प्रतिहेक्टर आठ हजार १५० रुपियाँ प्रतिहेक्टर कम लगानी परेको पुष्टि भएको छ । उत्पादन पनि दानाबाला युरिया प्रयोग गरेको भन्दा यसको प्रयोगले उत्पादन बढी देखिएको छ । परीक्षण गर्दा अन्य मलको तुलनामा नानो युरिया मल प्रयोग गर्दा प्रतिहेक्टर ४.६७ मेट्रिकटन बढी उत्पादन भएको देखाइएको छ ।

यो मल प्रयोग गर्दा लगानी कम र उत्पादन बढी हुने परीक्षणले पुष्टि गरेपछि सरकारले प्रयोगका लागि किसानलाई अनुमति दिएको उहाँले जानकारी दिनुभयो । एक बोरा (५० केजी) दानादार युरिया मल बराबर ५०० एमएल नानो झोल मल हुने गरेको छ । ५०० एमएल झोलबाला युरिया मलको तीनसय ८० रुपियाँ मात्र पर्छ जब कि एक बोरा दानाबाला युरिया मलको मूल्य अनुदानसहित ७५० रुपियाँ पर्छ । सहसचिव गैरेका अनुसार दानादार युरिया मल माटोमा छर्न सकिन्छ तर यो नानो युरिया मल बाली उम्रेपछि पातमा मात्र छर्न सकिन्छ । नानो युरिया मल छर्नका लागि दानाबाला भन्दा अलि महँगो र झन्झटिलो छ ।

नानो मल छर्नका लागि ड्रोन चाहिन्छ, ड्रोन नभए अरु छर्किने मेसिन नै चाहिन्छ, त्यसका लागि अतिरिक्त खर्च लाग्छ । दानाबाला युरिया मल किसानले सिधै छर्न सकिन्छ । अहिले सरकारले नानो युरियामा अनुदान दिएको छैन । कुनै आयातकर्ताले बाहिरबाट ल्याउन चाहे कानुनी प्रकृया पुरा गरेर ल्याउन सकिनेछ ।

तपाईको प्रतिक्रिया