जसपालाई कसैको बैशाखी चाहिदैन

–उपेन्द्र यादव
स्थानीय तहको चुनावका लागि दलहरु गाउँ गाउँ पुगि रहेका छन् । तर हाम्रो पार्टी जनता समाजवादी पार्टी नेपाल घरघर पुगि रहेको छ । स्थानीय तह भनेको लोकतन्त्रको आधार हो । स्थानीय तह जति प्रभावकारी हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुन्छ । स्थानीय तह भनेको विकास निर्माणको तह पनि हो । स्थानीय तहको चुनावका लागि हामीले विकासलाई मुख्य मुद्दा बनाएका छौं ।

प्रत्येक पालिकामा सडक, प्रत्येक पालिकामा अस्पताल, पालिकाका प्रत्येक वाडामा स्वास्थ्य चौकीहरुको निर्माण, बर्थिङ सेन्टरको निर्माणका साथसाथै वृद्धवृद्धा तथा बालबालिकालाई संरक्षण गर्ने जस्ता कार्य पालिकाहरुले गर्नुपर्छ र जसपा नेपालले यस्ता कुराहरुलाई प्राथमिकतामा राखेको छ ।

त्यसैगरि, गाउँपालिका, नगरपालिका तथा महानगर पालिकामा शिक्षा, स्वास्थ्य, सिँचाई, कृषिलगायतका विषय विकाससँग जोडिएका विषय हुन् । दोस्रो महत्वपूर्ण कुरा भनेको सुरक्षा हो । समाजमा अपराधीकरण बढी रहेको छ । महिलाहरुमाथि आक्रमण, दलितहरुमाथि आक्रमण, निसहाय तथा गरिबमाथि आक्रमणा जस्ता अपराधिक क्रियाकलापहरु दिनका दिन बढी रहेका छन् ।

त्यसबाट स्थानीय तहले जनतालाई मुक्ति दिलाउनु पर्छ । त्यस्तै समाजिक सुरक्षा पनि महत्वपूर्ण कुरा हो । अनाथ बालबालिका तथा अत्यन्तै विपन्न वर्गलाई ग्रामिण क्षेत्रबाट नै राम्रो व्यवस्था गर्न सकिन्छ । उसलाई हिफाजत र समाजिक दायित्व अन्तर्गत संरक्षण पनि दिन सकिन्छ । नेपालमा गरिबी र बेरोजगारी दिनदिनै बढी रहेका छन् । नेपालमा युवायुतीको ठूलो जमात वेरोजगार भएर बसेका छन् । नेपालबाट लगभग ७० लाख नेपालीहरु विदेशमा रोजीरोटीको खोजीमा गएका छन् । यसले मूलुकलाई ठूलो क्षति पुर्याउँछ । अब नेपालले आफै रोजगारीको सृजना गर्नुपर्छ । नीतिगत रुपमा राज्यले कृषिलाई आधुनिकीकरण गर्दै व्यवसायीमुखी कृषिमा जोड दिनुपर्छ ।

कृषिलाई रोजगारीमुखी बनाउन सकियो भने धेरै हदसम्म वेरोजगारी समस्या हल हुनसक्छ । ग्रामिण स्वरोजगार योजना पनि ल्याउनुपर्छ । ग्रामिण क्षेत्रमा सानासाना घरेलु उद्योगको स्थापना गर्दै ग्रामिण बजारलाई विकसित गर्दै जानुपर्छ । जहाँ रोजगारीको ठूलो सम्भावना छ । त्यहाँ वेरोजगार युवायुवतीलाई रोजगारको व्यवस्था गर्नुपर्छ ।

त्यस्तै पालिकाहरुलाई न्यायिक अधिकार पनि दिनुपर्छ । संविधानले नै पालिकाहरुलाई न्यायिक अधिकार दिए पनि त्यो प्रभावकारी हुन सकेको छैन । त्यसलाई प्रभावकारी बनाएर गाउँमा रहेका निमुखा जनतालाई जसको पहुँच अदालतसम्म छैन, उनीहरुलाई न्याय निरुपण गर्न त्यसलाई प्रभावकारी बनाउनुर्छ । यसरी पिछडिएको गाउँ, गरिबी भएको गाउँलाई समृद्धतर्फ लैजानुपर्छ । आर्थिक एजेण्डा, विकास निर्माण, सुरक्षा एजेण्डा, समाजिक सुरक्षालगायतका मुद्दाहरु हाम्रो प्रमुख मुद्दा हुन्छ ।

ग्रामिण क्षेत्रको मुख्य समस्या भनेकै विकास हो । र, विकास गर्न सकियो भने त्यहाँका धेरै समस्या समाधान हुन्छ । ग्रामिण क्षेत्रतर्फ राज्यले विगतदेखि नै ध्यान दिएका छैन । ग्रामिण क्षेत्र पिछडिएको थियो र अहिले पनि पिछडिएका नै छन् । त्यसलाई राम्रो बनाउने पहल कसैले गरेका छैनन् । अब जसपा नेपालले ग्रामिण विकास, ग्रामिण सुरक्षा, ग्रामिण औद्योगिकीकरण, ग्रामिण स्वरोजगार जस्ता कुरालाई अभियानकै रुपमा अगाडि बढाइनेछ । यस्ता अभियानहरु सफल भयो भने नेपालबाट गरिबी वरोजगारी अन्त्य हुन्छ । न्यायबाट वञ्चित रहेकाहरु, अपाङ, दलित, महिला, वृद्धालगायतलाई समाजिक न्याय दिलाउनुपर्छ । त्यसैगरि महानगरहरुलाई आधुनिक शहरको रुपमा विकास गर्नुपर्छ । जहाँ उद्योगधन्दा व्यपारदेखि लिएर शिक्षा र स्वास्थ्यको समुचित विकास भएको हुनुपर्छ भनि जसपाको मुख्य एजेण्डा हुनुपर्छ ।

पालिकामा कार्यरत रहेका पदाधिकारी र जनप्रति निधिहरुलाई दक्ष बनाउनुपर्छ । गाउँहरुमा व्यपकरुपमा अनियमितता भएका छन् त्यसलाई अन्त्य गर्नुपर्छ । भ्रष्टाचारलाई नियन्त्रण गर्दै पालिकाहरुमा देखिएका बेरुजुहरुलाई फछ्र्यौट गर्नुपर्छ । पालिकाहरुमा रहका स्रोतलाई विकसित गर्दै सरकारले दिएका स्रोतहरुको व्यापक रुपमा दुरुपयोग भइरहेका छन् । त्यसलाई रोक्नुपर्छ । ऐन र नियममा पालिकाहरुलाई सञ्चालन गर्नुपर्छ । ऐन र नियमलाई पालना गर्दै अगाडि बढ्यो भने पालिकाहरुमा देखिएको अनियमितताहरु आफै अन्त्य हुन्छ ।

गठबन्धन
हामीले पाँचवटा (काँग्रेस, माआवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा) दल मिलेर गठबन्धन बनायौं । यो गठबन्धनले देशको गणतन्त्र र संघीयतालाई रक्षा गर्दै प्रतिगमनलाई परास्त गरेको छ । र, यो गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने पक्षमा हामी छौं । जनता समाजवादी पार्टी एक्लै चुनाव लड्न सक्षम छ । हामी धेरै ठाउँमा चुनाव जित्न सक्छौं । तर देशभरी प्रतिगमनकारी शक्तिलाई परास्त गर्नका लागि गठबन्धन आवश्यक छ र त्यही भएर हामी गठबन्धन बनायौं ।

चुनावमा गठबन्धनको उम्मेदवार भयो र उ सबै ठाउँमा जित्यो भने लोकतन्त्र अझ बलियो भएर जान्छ । र, हाम्रो चाहना पनि त्यही हो । गठबन्धन भयो भने धेरै राम्रो । यदि गठबन्धन भएन भने हामी एक्लै पनि चुनाव लड्नुपर्छ भनि तयारीका साथ अगाडि बढी रहेका छौं । हामीलाई कसैको बैशाखी चाहिदैन । समायोजित ढंगले प्रतिगमनलाई परास्त गर्ने गरी गठबन्धन अगाडि बढ्नुपर्छ । गठबन्धनभन्दा बाहिर वा विगतमा लोकतन्त्रको विरुद्ध उभिएका दलहरु अर्थात लोकतन्त्र विरोधी शक्तिको विरुद्धमा आवश्यक पर्ने ठाउँमा अनिवार्य रुपमा गठबन्धन गरेर अगाडि बढ्ने कुरा भएको हो । र, दलहरु अहिले त्यही अनुसार अगाडि बढी रहेको छ ।
(जसपाका अध्यक्ष उपेन्द्र यादवसँग गरिएको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया