सत्तागठबन्धन लोकतान्त्रिक गठबन्धन होइन, वामगठबन्धन हो

–मोहम्मद अकवाल अहमद शाह,
–कार्यकारिणी सदस्य, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल,

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी बनेको पार्टीमा आफैमा अन्योलमा देखिएको छ । कुनै कुराको एउटा स्पष्ट दिशा दिन सकिरहेको छैन । लोसपाले स्थानीय चुनावमा पनि यस्तै गठबन्धन बनाउने चर्चा चलाई तर अन्त्यमा कुनै दलसँग गठबन्धन बनाउन सकेन अलमलमै रह्यो । त्यस कारणले सोचे जस्तो नतिजा ल्याउन सकेन । अगामी संघ, प्रदेशको चुनाव गठबन्धन गर्ने निर्णय गरेको छ तर कुन दलसँग गर्ने अहिलेसम्म स्पष्ट छैन । कता कता अलमलमा देखिएको छ । सो पार्टीले गठबन्धनका लागि काँग्रेस, एमाले, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीलगायतसँग कुराकानी गरिरहेको छ तर अहिलेसम्म कसैसँग निश्चित गरेको छैन । त्यस्तै अहिलेसम्म लोसपाले केन्द्रीय समिति पनि बनाउन सकेको छैन । पार्टी निर्माण भएको झण्डै एक वर्ष हुन लागेको छ तर पार्टी एउटा कार्यकारिणी समितिको भरमा चलिरहेको छ । एउटा केन्द्रीय समिति बनाउन सकेको छैन । न एउटा भातृ संगठन छ । कुनै नेताले पार्टीमा जिम्मेवारी पाउनु भएको छैन । किन यस्तो ? प्रस्तुत छ यिनै विषयहरुमा लोसपाका कार्यकारिणी सदस्य मोहम्मद अकवाल अहमद शाहसँग सहारा टाइम्सले गरेको कुराकानीको सम्पादीत अंशः

यसपटकको स्थानीय चुनावमा पूर्वी मधेशभन्दा पश्चिम मधेश किन कमजोर देखियो ?
–२०७४ को स्थानीय चुनाव हाम्रोतिर बहिष्कार गरिएको थियो । तत्कालिन राजपाले प्रदेश २ अर्थात अहिलेका मधेश प्रदेशमा मात्र भाग लिएको थियो । राजपाले तुलनात्मक रुपमा त्यतिबेला पनि राम्रै सीट हासिल गरेको थियो । यसपटक लोसपाले सबै प्रदेशमा भाग लियो । कुनै ठाउँलाई बहिष्कार गरेन । यसपटक सोचेको जस्तो मधेश प्रदेशले पनि राम्रो नतिजा ल्याउन सकेन ।

लोसपाले मधेश प्रदेशमा जुन हिसाबले लगानी गरेको छ, जुन हिसाबले त्यहाँ बर्चस्व जमाएको छ त्यो हिसाबले सन्तोषजनक रिजल्ट छैन । तुलनात्मक रुपमा कुरा गर्ने हो भने पश्चिम मधेश अर्थात लुम्बनी प्रदेश पनि मधेश प्रदेशभन्दा खराब देखिएन । त्यहाँ संगठन नै छैन । नेता, कार्यकर्ताहरु छैन । शीर्ष नेतामा सर्वेन्द्रनाथ शुक्ला रुपन्देहीमा हुनुुहुन्छ भने म कपिलवस्तुमा छु । त्यसबाहेक अरु परिचित चेहरा भएका नेताहरु छैनन् । कपिलवस्तु र रुपन्देहीमा १–१ वटा पालिका हामीले जितेका छौं । केही वडाहरु पनि जितेका छौं । जिल्ला समन्वयमा पनि हामी उपाध्यक्षमा जितेका छौं । रौतहटमा अनिल झा सांसद हुनुुहुन्छ मन्त्री पनि हुुनुुहुन्थ्यो ।

रौतहटमै बाबुलाल साह जस्ता नेता पनि हुनुहुन्छ । अन्य नेताहरु पनि त्यहाँ हुनुहुन्छ तर एउटा पालिका जितेको छ । सर्लाही राजेन्द्र महतोको गृह जिल्ला हो । उहाँ सांसद पनि हुनुन्छ मन्त्री पटक पटक बन्नुभएको छ । त्यहाँ प्रदेश सांसददेखि अन्य नेताहरु पनि हुनुहुन्छ । विगतमा पनि विभिन्न पालिकाहरु जितेको थियो । तर यसपटक एउटा पालिका मात्र जित्न सकेको भयो । धनुषाबाट राजेन्द्र महतो चुनाव जित्नु भएको छ । उहाँको सारा लगानी त्यही छ । तर एउटा पनि सीट जित्न सकेन । सिरहामा लोसपा शुन्य नै छ । अर्थात लोसपाका ठूला ठूला नेता, सांसद, मन्त्रीहरु सबै मधेश प्रदेशकै हुनुहुन्छ । जेजति लगानी हुन्छ सबै त्यही हुन्छ । तैपनि सन्तोषजनक रिजल्ट ल्याउन सकेन । त्यसको तुलनामा लुम्बनी प्रदेश अर्थात पश्चिम मधेशलाई नराम्रो मान्न सकिदैन । परिणाम अझै राम्रो आउनु पथ्र्यो तैपनि म सन्तुष्ट छु ।

प्रदेश र संघको चुनावमा पश्चिम मधेशको अवस्था के रहन्छ, त्यहाँ त नेता नै छैनन्, उम्मेदवार खोज्न पनि गाह्रो हुन्छ होइन त ?
–उम्मेदवारको त के समस्या होला र । उम्मेदवार जति पनि पाइन्छ तर उम्मेदवार बनाएर मात्र हुँदैन चुनाव जित्नु पनि पर्छ । गत स्थानीय चुनावमा पाँच दलीय गठबन्धन बन्दा धेरैलाई लागेको थियो कि काँग्रेस, माओवादी, जसपा, कलम छापबाट चुनाव जित्छु । टिकटका लागि धेरैजसो नेता उतै गए तर कतिपयले टिकट पाएनन् भने कतिपयले चुनाव हारे ।

उनीहरुसँग गठबन्धनको एक्सपेरियन्स छ । लोसपा एक्लै चुनाव लडेपनि सन्तोषजनक मत नै ल्याएको छ । जसपा पाँच दलीय गठबन्धनबाट चुनाव लड्दा २५ सीट ल्यायो भने लोसपा एक्लै चुनाव लड्दा १६ सीट ल्यायो । तुलना गर्दा जसपाभन्दा राम्रो सीट लोसपाले ल्याएको हो । प्रदेश र संघका लागि हामीले पनि गठबन्धन बनाएर जाने निर्णय गरिसकेका छौं तर कुन दलसँग गर्ने अहिले निर्णय भएको छैन । गठबन्धनबाट चुनावमा लोसपा गयो भने राम्रो सीट ल्याउँछ । लुम्बनी प्रदेशमा पनि राम्रै गर्छ भनि हाम्रो विश्वास छ ।

गठबन्धनका लागि कस्तो गृहकार्य भइरहेको छ त ?
–लोसपालाई गठबन्धनका लागि काँग्रेस, एमाले, जसपालगायतले प्रस्ताव गरेका छन् । काँग्रेस र एमालेले बोलाएरै प्रस्ताव गरेको हो । जसपाको औपचारिक रुपमा प्रस्ताव आएको छैन । तैपनि विभिन्न माध्यमबाट जसपाले लोसपालाई प्रस्ताव गरेकै हो । यी दलहरुसँग अहिले औपचारिक कुरा केही पनि भएको छैन । यस विषयमा पार्टीमा छलफल गर्न बाँकी नै छ । चुनावमा गठबन्धन गर्ने निर्ण यसअघि नै भइसकेको छ तर कुन दलसँग कहिले गर्ने त्यसको बारेमा पार्टीमा औपचारिक निर्णय गर्न बाँकी छ । पार्टीको बैठक बसेर यस विषयमा चाँडै निर्णय गरेर अगाडि बढ्छ होला ।

काँग्रेस पाँच दलीय गठबन्धनको नेतृत्व गरिरहेको छ अनि त्यो दलसँग कसरी गठबन्धन हुन्छ कि सत्ता गठबन्धनमै लोसपा सहभागी हुन्छ ?
–प्रधानमन्त्री शेरबहादुर देउवाका चाहना सत्ता गठबन्धनमा नै सहभागी होस् भने रहेको छ । प्रधानमन्त्री देउवाले प्रस्ताव पनि त्यही गर्नुभएको छ । तर लोसपा एउटा लोकतान्त्रिक गठबन्धनको पक्षमा छ । यस्तो खिचरी गठबन्धनमा सहभागी हुँदैन । लोसपाले त्यो गठबन्धनमा सहभागी नहुने संकेत दिइसकेको छ । हेरौं अगामी दिनमा के हुन्छ । तर हामी सत्ता गठबन्धनमा सहभागी हुने इच्छुक छैनौं । हामीलाई आशा छ कि काँग्रेस वामपन्थी गठबन्धन छाडेर लोकतान्त्रिक गठबन्धन बनाउनका लागि बाहिर आउनु हुन्छ । काँग्रेस, लोसपासहितको एउटा लोकतान्त्रिक गठबन्धन बन्छ ।

सत्ता गठबन्धनलाई वामगठबन्धन भन्नुभयो त्यो वामगठबन्धन कसरी भयो ?
–काँग्रेसबाहेक त्यहाँ सबै दल वामपन्थी हुन् । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा असली कम्युनिष्ट हुन् । यता, उपेन्द्र यादव नेतृत्वको जसपा भन्नलाई लोकतान्त्रिक पार्टी हो तर उसको स्वरुप, काम गराईका स्टाइल, विचार, सिद्धान्त तथा नेताहरुको उपस्थितिले यो पार्टी वामपन्थी पार्टी होइन भनि कसैले भन्दैनन् । उपेन्द्र यादव आफै कम्युनिष्ट स्कूलिङबाट राजनीतिक सुरु गर्नुभएको हो । बाबुराम भट्राई माओवादी जनयुद्ध हाकेर नै जानु भएको छ । अशोक राइ कम्युनिष्टका पुराना नेता हुनुहुन्छ । राजेन्द्र श्रेष्ठ, महेन्द्र राय पनि पुरानो कम्युनिष्ट हुनुहुन्छ । यस हिसाबले पाँच दलमध्ये काँग्रेस पार्टी मात्र लोकतान्त्रिक पार्टी हो बाँकी सबै कम्युनिष्ट पार्टी नै हुन् । त्यसैले लोसपा लोकतान्त्रिक गठबन्धनका लागि पहल गरिरहेको छ । हेरौं त्यसमा कहाँसम्म सफल हुन सकिन्छ ।

काँग्रेससँग गठबन्धन बन्ने सम्भावना निकै कम छ, त्यसो भए एमालेसँग होला नि गठनबन्धन होइन ?
–एमालेसँग पनि कुराकानी चलिरहेको छ । अस्ति हाम्रो अध्यक्षजी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेरै कुराकानी गर्नुभएको छ । भेटमा ओलीले गठबन्धनका लागि प्रस्ताव गर्नुभएको छ । अहिले कुनै कुराको टुगों लागेको छैन । तर मलाई पनि एमालेसँग नै गठबन्धन हुन्छ जस्तो लागेको छ । किनभने काँग्रेस सत्ता गठबन्धनमा छ । अहिलेसम्म त्यो गठबन्धन छाड्ने छाटकाँट देखिएको छैन । काँग्रेस गठबन्धन छाडेन भने एमाले–लोसपाबीच गठबन्धन बन्ने लगभग निश्चित छ । किनभने अहिलेसम्म एमालेले पनि कुनै दलसँग गठबन्धन गरेको छैन । एमालेले पनि अगामी चुनावमा गठबन्धन बनाएर नै जाने निर्णय गरेको छ तर कुन दलसँग कसरी गठबन्धन बनाउने भन्ने कुरामा अन्योल छ । सम्भावना लोसपा–एमाले गठबन्धनको छ ।

जसपासँग किन हुँदैन ?
–जसपासँग पनि गठबन्धन हुने सम्भावना छ । तर त्यसका लागि जसपाले विश्वासको वतावरण बनाउनुपर्छ । विगतमा जसपाका अध्यक्ष उपेन्द्र यादवबाट धेरैपटक धोका भएको छ । पटक पटक साथमा आउनु भएको छ, मोर्चा बनाउनु भएको छ, गठबन्धन बनाउनु भएको छ तर जब उहाँको स्वार्थ पुरा हुन्छ अनि छाडेर हिड्नुहुन्छ ।

त्यसले गर्दा लोसपाका साथीहरुले उहाँमाथि विश्वास गर्न मान्नु भएको छैन । मिडियामार्फत उपेन्द्र यादवले पटक पटक एकता अथवा गठबन्धनका लागि प्रस्ताव गर्नु भएको छ तर विश्वासको वतावरण बनाउन सक्नु भएको छैन । जसपाबाट लोसपा अलग भएको १०–११ महिना मात्र भएको छ । विभाजनको घाउ अझै निको भएको छैन । उपेन्द्र यादवले जुन व्यवहार गर्नुभयो त्यसबाट लोसपाका साथीहरु अझै पिडित बन्नु भएको छ । त्यस अवस्थामा त्यति छिट्टै उपेन्द्र यादवमाथि पार्टीले विश्वास गर्छ जस्तो मलाई लाग्दैन । यद्यपी संभावना जिवित छ । मधेशको एजेण्डा नै छ कि जसपा र लोसपा मिल्नुपर्छ । एकता नभएपनि चुनावी गठबन्धन बनाएर जाने सकिने अवस्था निर्माण हुँदैछ, हेरौं के हुन्छ ।

लोसपा निर्माण भएको ११ महिना भइसक्यो तर अहिलेसम्म केन्द्रीय समिति पनि बनेको छैन कसरी चलिरहेको छ लोसपा ?
–लोसपाको सम्पूर्ण अधिकार कार्यकारिणीलाई दिएको छ । कार्यकारिणी एक्टीभ छ । पार्टीका सबै काम भइ नै राखेका छन् । केन्द्रीय कमिटीलगायत अन्य कमिटीहरु तथा भातृ संगठनको त्यति आवश्यकता परेको छैन । तर यसको मतलब आवश्यकता परेको छैन भने होइन । पार्टी सांगठनिक रुपमा जति बलियो हुन्छ त्यति नै राम्रो हुन्छ । केन्द्रीय समितिलगायत अन्य बाँकी रहेका संगठन निर्माण कामहरु धमाधम सकाउनुपर्छ । पार्टीमा यसको विषयमा अवाज उठ्दै आएको हो ।

सायद मलाई लाग्छ, आन्तरिक रुपमा त्यसको केही तयारी पनि चलिरहेको छ । अगामी दिनमा बस्ने कार्यकारिणी समितिको बैठकमा त्यसको विषयमा छलफल हुने देखिएको छ । भातृ संगठनको नाम चयन भइसकेको छ । त्यसको समिति बनाउन बाँकी छ । सल्लाहकार समिति, विज्ञ समिति, राजनीतिक समिति, निर्वाचन समिति, लेखा समितिलगायतका समितिहरु पनि गठन गरिहाल्नु पर्छ । पार्टीमा रहेका साथीहरुलाई जिम्मेवारी दिएर काममा लगाउनुपर्छ । विना जिम्मेवारी धेरै दिनसम्म नेताहरु पार्टीमा टिक्न सक्दैन । यो कुरा पार्टीका शीर्ष नेताहरुले बुझ्नु भएको छ होला । यसमा काम हुँदै होला । आगामी बैठकबाट यसको टुगों लाग्छ ।

 

तपाईको प्रतिक्रिया