Khadya Bibhag

सत्तागठबन्धन लोकतान्त्रिक गठबन्धन होइन, वामगठबन्धन हो

–मोहम्मद अकवाल अहमद शाह,
–कार्यकारिणी सदस्य, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल,

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी बनेको पार्टीमा आफैमा अन्योलमा देखिएको छ । कुनै कुराको एउटा स्पष्ट दिशा दिन सकिरहेको छैन । लोसपाले स्थानीय चुनावमा पनि यस्तै गठबन्धन बनाउने चर्चा चलाई तर अन्त्यमा कुनै दलसँग गठबन्धन बनाउन सकेन अलमलमै रह्यो । त्यस कारणले सोचे जस्तो नतिजा ल्याउन सकेन । अगामी संघ, प्रदेशको चुनाव गठबन्धन गर्ने निर्णय गरेको छ तर कुन दलसँग गर्ने अहिलेसम्म स्पष्ट छैन । कता कता अलमलमा देखिएको छ । सो पार्टीले गठबन्धनका लागि काँग्रेस, एमाले, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीलगायतसँग कुराकानी गरिरहेको छ तर अहिलेसम्म कसैसँग निश्चित गरेको छैन । त्यस्तै अहिलेसम्म लोसपाले केन्द्रीय समिति पनि बनाउन सकेको छैन । पार्टी निर्माण भएको झण्डै एक वर्ष हुन लागेको छ तर पार्टी एउटा कार्यकारिणी समितिको भरमा चलिरहेको छ । एउटा केन्द्रीय समिति बनाउन सकेको छैन । न एउटा भातृ संगठन छ । कुनै नेताले पार्टीमा जिम्मेवारी पाउनु भएको छैन । किन यस्तो ? प्रस्तुत छ यिनै विषयहरुमा लोसपाका कार्यकारिणी सदस्य मोहम्मद अकवाल अहमद शाहसँग सहारा टाइम्सले गरेको कुराकानीको सम्पादीत अंशः

यसपटकको स्थानीय चुनावमा पूर्वी मधेशभन्दा पश्चिम मधेश किन कमजोर देखियो ?
–२०७४ को स्थानीय चुनाव हाम्रोतिर बहिष्कार गरिएको थियो । तत्कालिन राजपाले प्रदेश २ अर्थात अहिलेका मधेश प्रदेशमा मात्र भाग लिएको थियो । राजपाले तुलनात्मक रुपमा त्यतिबेला पनि राम्रै सीट हासिल गरेको थियो । यसपटक लोसपाले सबै प्रदेशमा भाग लियो । कुनै ठाउँलाई बहिष्कार गरेन । यसपटक सोचेको जस्तो मधेश प्रदेशले पनि राम्रो नतिजा ल्याउन सकेन ।

लोसपाले मधेश प्रदेशमा जुन हिसाबले लगानी गरेको छ, जुन हिसाबले त्यहाँ बर्चस्व जमाएको छ त्यो हिसाबले सन्तोषजनक रिजल्ट छैन । तुलनात्मक रुपमा कुरा गर्ने हो भने पश्चिम मधेश अर्थात लुम्बनी प्रदेश पनि मधेश प्रदेशभन्दा खराब देखिएन । त्यहाँ संगठन नै छैन । नेता, कार्यकर्ताहरु छैन । शीर्ष नेतामा सर्वेन्द्रनाथ शुक्ला रुपन्देहीमा हुनुुहुन्छ भने म कपिलवस्तुमा छु । त्यसबाहेक अरु परिचित चेहरा भएका नेताहरु छैनन् । कपिलवस्तु र रुपन्देहीमा १–१ वटा पालिका हामीले जितेका छौं । केही वडाहरु पनि जितेका छौं । जिल्ला समन्वयमा पनि हामी उपाध्यक्षमा जितेका छौं । रौतहटमा अनिल झा सांसद हुनुुहुन्छ मन्त्री पनि हुुनुुहुन्थ्यो ।

रौतहटमै बाबुलाल साह जस्ता नेता पनि हुनुहुन्छ । अन्य नेताहरु पनि त्यहाँ हुनुहुन्छ तर एउटा पालिका जितेको छ । सर्लाही राजेन्द्र महतोको गृह जिल्ला हो । उहाँ सांसद पनि हुनुन्छ मन्त्री पटक पटक बन्नुभएको छ । त्यहाँ प्रदेश सांसददेखि अन्य नेताहरु पनि हुनुहुन्छ । विगतमा पनि विभिन्न पालिकाहरु जितेको थियो । तर यसपटक एउटा पालिका मात्र जित्न सकेको भयो । धनुषाबाट राजेन्द्र महतो चुनाव जित्नु भएको छ । उहाँको सारा लगानी त्यही छ । तर एउटा पनि सीट जित्न सकेन । सिरहामा लोसपा शुन्य नै छ । अर्थात लोसपाका ठूला ठूला नेता, सांसद, मन्त्रीहरु सबै मधेश प्रदेशकै हुनुहुन्छ । जेजति लगानी हुन्छ सबै त्यही हुन्छ । तैपनि सन्तोषजनक रिजल्ट ल्याउन सकेन । त्यसको तुलनामा लुम्बनी प्रदेश अर्थात पश्चिम मधेशलाई नराम्रो मान्न सकिदैन । परिणाम अझै राम्रो आउनु पथ्र्यो तैपनि म सन्तुष्ट छु ।

प्रदेश र संघको चुनावमा पश्चिम मधेशको अवस्था के रहन्छ, त्यहाँ त नेता नै छैनन्, उम्मेदवार खोज्न पनि गाह्रो हुन्छ होइन त ?
–उम्मेदवारको त के समस्या होला र । उम्मेदवार जति पनि पाइन्छ तर उम्मेदवार बनाएर मात्र हुँदैन चुनाव जित्नु पनि पर्छ । गत स्थानीय चुनावमा पाँच दलीय गठबन्धन बन्दा धेरैलाई लागेको थियो कि काँग्रेस, माओवादी, जसपा, कलम छापबाट चुनाव जित्छु । टिकटका लागि धेरैजसो नेता उतै गए तर कतिपयले टिकट पाएनन् भने कतिपयले चुनाव हारे ।

उनीहरुसँग गठबन्धनको एक्सपेरियन्स छ । लोसपा एक्लै चुनाव लडेपनि सन्तोषजनक मत नै ल्याएको छ । जसपा पाँच दलीय गठबन्धनबाट चुनाव लड्दा २५ सीट ल्यायो भने लोसपा एक्लै चुनाव लड्दा १६ सीट ल्यायो । तुलना गर्दा जसपाभन्दा राम्रो सीट लोसपाले ल्याएको हो । प्रदेश र संघका लागि हामीले पनि गठबन्धन बनाएर जाने निर्णय गरिसकेका छौं तर कुन दलसँग गर्ने अहिले निर्णय भएको छैन । गठबन्धनबाट चुनावमा लोसपा गयो भने राम्रो सीट ल्याउँछ । लुम्बनी प्रदेशमा पनि राम्रै गर्छ भनि हाम्रो विश्वास छ ।

गठबन्धनका लागि कस्तो गृहकार्य भइरहेको छ त ?
–लोसपालाई गठबन्धनका लागि काँग्रेस, एमाले, जसपालगायतले प्रस्ताव गरेका छन् । काँग्रेस र एमालेले बोलाएरै प्रस्ताव गरेको हो । जसपाको औपचारिक रुपमा प्रस्ताव आएको छैन । तैपनि विभिन्न माध्यमबाट जसपाले लोसपालाई प्रस्ताव गरेकै हो । यी दलहरुसँग अहिले औपचारिक कुरा केही पनि भएको छैन । यस विषयमा पार्टीमा छलफल गर्न बाँकी नै छ । चुनावमा गठबन्धन गर्ने निर्ण यसअघि नै भइसकेको छ तर कुन दलसँग कहिले गर्ने त्यसको बारेमा पार्टीमा औपचारिक निर्णय गर्न बाँकी छ । पार्टीको बैठक बसेर यस विषयमा चाँडै निर्णय गरेर अगाडि बढ्छ होला ।

काँग्रेस पाँच दलीय गठबन्धनको नेतृत्व गरिरहेको छ अनि त्यो दलसँग कसरी गठबन्धन हुन्छ कि सत्ता गठबन्धनमै लोसपा सहभागी हुन्छ ?
–प्रधानमन्त्री शेरबहादुर देउवाका चाहना सत्ता गठबन्धनमा नै सहभागी होस् भने रहेको छ । प्रधानमन्त्री देउवाले प्रस्ताव पनि त्यही गर्नुभएको छ । तर लोसपा एउटा लोकतान्त्रिक गठबन्धनको पक्षमा छ । यस्तो खिचरी गठबन्धनमा सहभागी हुँदैन । लोसपाले त्यो गठबन्धनमा सहभागी नहुने संकेत दिइसकेको छ । हेरौं अगामी दिनमा के हुन्छ । तर हामी सत्ता गठबन्धनमा सहभागी हुने इच्छुक छैनौं । हामीलाई आशा छ कि काँग्रेस वामपन्थी गठबन्धन छाडेर लोकतान्त्रिक गठबन्धन बनाउनका लागि बाहिर आउनु हुन्छ । काँग्रेस, लोसपासहितको एउटा लोकतान्त्रिक गठबन्धन बन्छ ।

सत्ता गठबन्धनलाई वामगठबन्धन भन्नुभयो त्यो वामगठबन्धन कसरी भयो ?
–काँग्रेसबाहेक त्यहाँ सबै दल वामपन्थी हुन् । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा असली कम्युनिष्ट हुन् । यता, उपेन्द्र यादव नेतृत्वको जसपा भन्नलाई लोकतान्त्रिक पार्टी हो तर उसको स्वरुप, काम गराईका स्टाइल, विचार, सिद्धान्त तथा नेताहरुको उपस्थितिले यो पार्टी वामपन्थी पार्टी होइन भनि कसैले भन्दैनन् । उपेन्द्र यादव आफै कम्युनिष्ट स्कूलिङबाट राजनीतिक सुरु गर्नुभएको हो । बाबुराम भट्राई माओवादी जनयुद्ध हाकेर नै जानु भएको छ । अशोक राइ कम्युनिष्टका पुराना नेता हुनुहुन्छ । राजेन्द्र श्रेष्ठ, महेन्द्र राय पनि पुरानो कम्युनिष्ट हुनुहुन्छ । यस हिसाबले पाँच दलमध्ये काँग्रेस पार्टी मात्र लोकतान्त्रिक पार्टी हो बाँकी सबै कम्युनिष्ट पार्टी नै हुन् । त्यसैले लोसपा लोकतान्त्रिक गठबन्धनका लागि पहल गरिरहेको छ । हेरौं त्यसमा कहाँसम्म सफल हुन सकिन्छ ।

काँग्रेससँग गठबन्धन बन्ने सम्भावना निकै कम छ, त्यसो भए एमालेसँग होला नि गठनबन्धन होइन ?
–एमालेसँग पनि कुराकानी चलिरहेको छ । अस्ति हाम्रो अध्यक्षजी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेरै कुराकानी गर्नुभएको छ । भेटमा ओलीले गठबन्धनका लागि प्रस्ताव गर्नुभएको छ । अहिले कुनै कुराको टुगों लागेको छैन । तर मलाई पनि एमालेसँग नै गठबन्धन हुन्छ जस्तो लागेको छ । किनभने काँग्रेस सत्ता गठबन्धनमा छ । अहिलेसम्म त्यो गठबन्धन छाड्ने छाटकाँट देखिएको छैन । काँग्रेस गठबन्धन छाडेन भने एमाले–लोसपाबीच गठबन्धन बन्ने लगभग निश्चित छ । किनभने अहिलेसम्म एमालेले पनि कुनै दलसँग गठबन्धन गरेको छैन । एमालेले पनि अगामी चुनावमा गठबन्धन बनाएर नै जाने निर्णय गरेको छ तर कुन दलसँग कसरी गठबन्धन बनाउने भन्ने कुरामा अन्योल छ । सम्भावना लोसपा–एमाले गठबन्धनको छ ।

जसपासँग किन हुँदैन ?
–जसपासँग पनि गठबन्धन हुने सम्भावना छ । तर त्यसका लागि जसपाले विश्वासको वतावरण बनाउनुपर्छ । विगतमा जसपाका अध्यक्ष उपेन्द्र यादवबाट धेरैपटक धोका भएको छ । पटक पटक साथमा आउनु भएको छ, मोर्चा बनाउनु भएको छ, गठबन्धन बनाउनु भएको छ तर जब उहाँको स्वार्थ पुरा हुन्छ अनि छाडेर हिड्नुहुन्छ ।

त्यसले गर्दा लोसपाका साथीहरुले उहाँमाथि विश्वास गर्न मान्नु भएको छैन । मिडियामार्फत उपेन्द्र यादवले पटक पटक एकता अथवा गठबन्धनका लागि प्रस्ताव गर्नु भएको छ तर विश्वासको वतावरण बनाउन सक्नु भएको छैन । जसपाबाट लोसपा अलग भएको १०–११ महिना मात्र भएको छ । विभाजनको घाउ अझै निको भएको छैन । उपेन्द्र यादवले जुन व्यवहार गर्नुभयो त्यसबाट लोसपाका साथीहरु अझै पिडित बन्नु भएको छ । त्यस अवस्थामा त्यति छिट्टै उपेन्द्र यादवमाथि पार्टीले विश्वास गर्छ जस्तो मलाई लाग्दैन । यद्यपी संभावना जिवित छ । मधेशको एजेण्डा नै छ कि जसपा र लोसपा मिल्नुपर्छ । एकता नभएपनि चुनावी गठबन्धन बनाएर जाने सकिने अवस्था निर्माण हुँदैछ, हेरौं के हुन्छ ।

लोसपा निर्माण भएको ११ महिना भइसक्यो तर अहिलेसम्म केन्द्रीय समिति पनि बनेको छैन कसरी चलिरहेको छ लोसपा ?
–लोसपाको सम्पूर्ण अधिकार कार्यकारिणीलाई दिएको छ । कार्यकारिणी एक्टीभ छ । पार्टीका सबै काम भइ नै राखेका छन् । केन्द्रीय कमिटीलगायत अन्य कमिटीहरु तथा भातृ संगठनको त्यति आवश्यकता परेको छैन । तर यसको मतलब आवश्यकता परेको छैन भने होइन । पार्टी सांगठनिक रुपमा जति बलियो हुन्छ त्यति नै राम्रो हुन्छ । केन्द्रीय समितिलगायत अन्य बाँकी रहेका संगठन निर्माण कामहरु धमाधम सकाउनुपर्छ । पार्टीमा यसको विषयमा अवाज उठ्दै आएको हो ।

सायद मलाई लाग्छ, आन्तरिक रुपमा त्यसको केही तयारी पनि चलिरहेको छ । अगामी दिनमा बस्ने कार्यकारिणी समितिको बैठकमा त्यसको विषयमा छलफल हुने देखिएको छ । भातृ संगठनको नाम चयन भइसकेको छ । त्यसको समिति बनाउन बाँकी छ । सल्लाहकार समिति, विज्ञ समिति, राजनीतिक समिति, निर्वाचन समिति, लेखा समितिलगायतका समितिहरु पनि गठन गरिहाल्नु पर्छ । पार्टीमा रहेका साथीहरुलाई जिम्मेवारी दिएर काममा लगाउनुपर्छ । विना जिम्मेवारी धेरै दिनसम्म नेताहरु पार्टीमा टिक्न सक्दैन । यो कुरा पार्टीका शीर्ष नेताहरुले बुझ्नु भएको छ होला । यसमा काम हुँदै होला । आगामी बैठकबाट यसको टुगों लाग्छ ।

 

तपाईको प्रतिक्रिया