सुजिता साह जसले हजार ठक्कर खाएर पाउनुभयो यो मञ्जिल

भनिन्छ नि, कुनै पनि व्यक्तिको प्रतिभा र क्षमता दवाएर दबिदैन, एकदिन न एकदिन कुनै न कुनै रुपमा बाहिर निस्किन्छन् नै । महोत्तरी सोनामाइथानका सुजिता साहको जीवनमा पनि त्यस्तै भयो । आज सुजिता साहलाई मैथिली, भोजपुरी नाटकहरुमा हेर्न पाइन्छ, विभिन्न फिल्ममा अभिनय गरेको भेट्नु हुन्छ ।

गाउँको घुँघटमा बुहारी बनेर बस्नु भएको सुजिता आज कलाकारको रुपमा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा परिचित हुनुभएको छ । छ दिदी वहिनी मध्येको जेठी भएको हुनाले उहाँ आफ्नो घरमा सानी वहिनीहरुलाई सम्हाल्नुदेखि लिएर घरका सबै धन्दा (काम) उहाँले नै हेर्नु पथ्र्यो त्यही कारणले उहाँ धेरै पढ्न सक्नु भएन । सुजिता साहका बुवा रामचन्द्र साह किराना पसल गर्नुभएको छ सो पसलमा बुवासँगै आमा पनि व्यस्त रहनु परेको हुनाले घरको सम्पूर्ण जिम्मेवारी सुजिता साहको काँधमाथि नै थियो ।

खेतबारी, घाँस भुँसा, खाना पकाउनु, गाई गोरु हेर्नेदेखि लिएर साना वहिनीहरुलाई हेरचाहका साथै स्कूल पनि पठाउनु पथ्र्यो । तैपनि दुख सुख गरि कसो कसो सुजिता साह आठ कक्षासम्म पढ्नु भएको छ । उहाँ भन्नुहुन्छ, ‘मेरो पढाई त्यति राम्रो थिएन, तैपनि मलाई पढ्ने रहर थियो तर घर व्यवहारमा यति विजी भए कि पढाईलाई निरन्तरता नै दिन सकिएन, आफू पढ्नु कि वहिनीहरुलाई पढाउनु म त्यही ओलझोलमा फँसे र पढाईलाई निरन्तरता दिन सकिएन ।’

छोरी भएको कारण परिवारमा पनि सुजितालाई हेला थियो । सुतिलाई मात्र होइन, छजना दिदी वहिनीलाई नै हेला हुन्थ्यो । तर आफ्नो आमाबुवाबाट होइन, आफ्नै अंकल (ठूलो बुवा, काका) आन्टी (काकी) हरुबाट । छजना छोरी मात्र भएको कारण सुजिता साहको आमाबुवालाई पनि त्यो घरमा हेला हुन्थ्यो । सुजिता साहका बुवाले पसल गरेका कारण त्यसको लोभमा काकाहरुले कहिले काहीँ साथमा राख्नुहुन्थ्यो भने कहिले अलग गर्दिनुहुन्थ्यो । छोरीहरुलाई राम्रोसँग खान लाउन पनि दिइरहेको थिएन । कहिले पनि घरमा मिठो खान पाइरहेको थिएन । कहिले पनि एकसरो राम्रो लुगा लगाउन पाएनन् । छोरी मात्र जन्माएका कारण सुजिता साहहरु मात्र होइन उहाँका आमाबुवाले पनि घरमा दुख र हेला पाउनु भएको थियो ।

‘घरमा माछा, मासु ल्याउँदा पकाउने काम मेरो आमाले गर्नुहुन्थ्यो जब खुवाउने बेला हुन्थ्यो अनि काकी आइपुग्नु हुन्थ्यो, सुजिता साहले भन्नुभयो, ‘काकीले आफ्ना छोरा तथा घरका सम्पूर्ण पुरुष मान्छेलाई खुवाई सकेपछि बचेखुचेका झोलसँग भात खान दिनुहुन्थ्यो हामीलाई ।’ राम्रो खान र राम्रो लुगा लगाउनका नाना (आमाको बुवा) का घर जानुहुन्थ्यो सुजिताहरु । नानाका घरमा दुई चार दिन बसेर मिठो मिठो खानेकुरा खाएर नयाँ नयाँ लुगा लगाएर मात्र आफ्नो घर फर्किनु हुन्थ्यो । सुजिताका आमा बुवा सोझासिधा हुनुहुन्थ्यो । घरमा भइरहेको विभेद बारे कहिले बोल्नु भएन ।

पछि सुजिताको बुवा काकाहरुबाट सधैका लागि अलग भएपछि ती दुखका दिनहरुको गएको थियो । त्यसपछि खानेकुरामा कुनै भेदभाव थिएन । भएका मिठो मसिनो सबै वहिनीका साथमा मिलिजुली खानुहुन्थ्यो । पुगेजति लुगाफाटा पनि लगाउनु हुन्थ्यो उहाँहरु । तर छोरी भएको कारण काका–काकीबाट भेदभाव कायमै रह्यो । उहाँहरुको घरमा कुनै कामकाज हुँदा कसैलाई बोलाउनु हुन्थेन । उहाँहरु पनि सुजिताको घरमा आउनु हुन्थेन । सुजितका अनुसार यी सबै विभेद छोरी भएको कारणले भएको थियो ।

झुक्याएर विहे
सुजिताको विहे १४ वर्षको उमेरमा १६ वर्षको केटोसँग भयो । विहे गर्ने बाध्यता थियो उहाँको आमा बुवाको । आमाबुवालाई सानै उमेरमा विहे गर्ने सोच नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो । कसै कसैले त मुख फोरेरै सुजिताको बुवालाई भनिन्थ्यो, ‘तिम्रा धेरै छोरीहरु छन्, अहिलेदेखि विहे गरेनौं भने पछि धेरै ढिलो हुन्छ समस्या थप्दै जान्छन् त्यसैले विहे गर्न सुरु गरि हाल्नुस् ।’ अरुहरुले दिएको यस्तै सल्लाहका कारण बुवा मेरो विवाहका लागि तयार हुनुभयो, सुजिता साहले भन्नुभयो, ‘सानै उमेरमा विहे गर्ने सोच बुवाको थिएन, तर समाजमा हुने टिकाटिप्पणीका कारण उहाँले मेरो विहेका लागि केटा खोज्नतिर लाग्नुभयो ।’

सुजिता साहका बुवा यति सोझो हुनुुहुन्थ्यो कि छोरीको विहे कहाँ हुँदैछ कस्तो घरमा हुँदैछ त्यो राम्रोसँग खोजविन नगरि अरुले अर्कैको घर देखाई दियो त्यही घर हेरर छोरीको विहे गराई दिनुभयो । सुजिता साहको श्रीमान गंगाधर साहको मामा जोगी साहले झुक्याएर गौशाला नगरपालिकाको कुसम डिहमा विहे गराउनु भएको थियो ।

मामाले विह गराउने बेला केटो (दुल्हा) को चार विघा जमिन छन्, घर पनि राम्रै छ, आफ्नै होटेल छ, पक्की घर छ हुनेखाने परिवारका छन् भन्दै सुजिता साहको बुवालाई आफ्नो घर देखाएका थिए । घर देखेर सुजिताका बुवा दङ हुनुहुन्थ्यो । छोरीले राम्रो घर पाइन्, सुखी तथा खुशीका साथ बस्छिन् सम्झेर सुजिताका बुवा भित्रभित्रै निकै खुशी हुनुहुन्थ्यो । विहे भयो । विहेमा आएको जन्ती र समानहरु हेर्दा सुजितालाई त्यहीबेला शंका लागेको थियो । बुवाको मुखबाट कस्ता कस्ता कुरा सुनेका थिए तर व्यवहार हेर्दा त त्यस्तो छैन भनि सुजितालाई त्यतिबेलै शंका लागेको थियो ।

तर उहाँले विहेको बेला केही बोल्नु भएन । सुजिता विहे गरेर ससुरा घर जाँदा सबै छर्लङ भयो । गरिबमा पनि विपन्न परिवारका गरिब थियो । घरमा एकदाना थिएन । दिनमा कमाएपछि मात्र राती खाने खालको परिवार थियो । खेतीयोग्य जमिनको नाममा एकधुर पनि थिएन । घरको अवस्था उस्तै बेहाल थियो । घर पनि जेल जस्तो थियो । कोठामा एउटा झ्याल पनि थिएन । ढोकाबाहेक कहि कतैबाट उज्यालो आउने वा हावा आउने कुनै ठाउँ थिएन । त्यही कोठामा सुजिता बस्नु पथ्र्यो । सुजिताले भन्नुभयो, ‘एकदिन त मैले माटोले पोतिएको घरको भित्तालाई नङले कोट्याएर हेरे कि यो भित्र इटा छ कि भनेर तर माटो नै थियो । मेरो बुवालाई जोगी मामा (ममिया ससुर) इटाको (पक्की घर) घर छ भनि भन्नु भएको थियो ।’

एक दिन सुजिताले घरमा हावा आओस् भनि सानो प्वाल बनाई दिनुभयो । त्यसले गर्दा उहाँले आफ्नो सासु आमाबाट निकै गाली खानु भयो । त्यो प्वाललाई फेरि तत्कालै बन्द गरियो । बुहारी चारदिवारी (पर्खालभित्र) भित्र रहनुपर्छ, बाहिर हेर्नुहुँदैन । बाहिर जानु हुँदैन । अरुसँग बोल्नु हुँदैन जस्ता पावन्दी (बन्देज) थियो सुजितामाथि ।


विहेपछि पहिलो पटक बुवाले छोरी सुजातालाई भेट्न जाँदा विहेको कुरा छिन्ने बेला जुन घर (पक्की घर) देखाइएको थियो त्यही घरमा पुग्नु भएको थियो । मामाले असली घरमा ल्याएपछि मात्र सुजिताको बुवाले असल कुरा थाह पाउनु भएको थियो । उहाँलाई त्यतिबेला आकाशबाट खसै झै भयो । छोरीलाई कस्तो नराम्रो घरमा विहे गरियो भन्दै निकै पश्चाताप गर्नुभयो तर त्यहाँ तत्कालै केही बोल्नु भएन । कसैलाई कही भन्नुभएन । अर्कोदिन छोरीलाई आफ्नो घर लिएर जानुभयो । सुजिता त्यतिबेला उहाँका आमा–बुवाले सोध्नु भएको थियो, ‘तिमी त्यो घरमा बस्न चाहन्छौ कि चाहदैनौं, धोकाले त्यो विहे भयो, तिमी त्यहाँ धेरै दुख पाउँछौं ।’

त्यतिबेला सुजिताले भन्नुभएको थियो, ‘जे हुनु थियो भयो, मेरो भाग्यमा नै त्यही लेखिएको थियो मैले र तपाईले के गर्न सक्नु हुन्न म अब अर्को विहे गर्दिन जे हुन्छ म अब त्यही घरमा बस्छु ।’ सुजिताको त्यो भनाईमा समाजप्रतिको उत्तरदायित्व थियो । आमा–बाबु र समाजको इज्जतलाई ख्याल गरिएको थियो । १४ वर्षको उमेर केटाकोटीको उमेर हो । त्यो उमेरमा आफ्नो बारेमा सोच्न सक्दैन समाज र आमा–बुवाका लागि सोच्नु धेरै टाढाको कुरा हो तर सुजिता सानैदेखि परिवार सम्हाल्दै आएको कारण उहाँमा व्यवहारिक ज्ञान थियो ।

गहाना बेचेर होटल
सुजिता आफ्नो श्रीमान गंगाघर साहको घर फर्किनु भयो । सुजाता सात कक्षा पास गर्नुभएको थियो । उहाँले अझै पढौं भने इच्छा थियो । त्यो इच्छा उहाँले आफ्नो श्रीमान र सासु आमा समक्ष पनि राख्नुभयो । तर जुन सासु आमा घुँघटमा घरमै राख्न चाहनु भएको छ त्यसले बुहारीलाई बाहिर स्कूलमा पढ्न पठाउनु धेरै टाढाको कुरा थियो । सुजिताले पढ्नका लागि पटक पटक इच्छा राख्नुभयो तर सासु आमाले बुहारी घरमा बस्नुपर्छ बाहिर पढ्नका लागि जानु हुँदैन, पढेर केही हुँदैन, घरमा बसेर घर व्यवहार सम्हाल्नुपर्छ भनि सुजिताको इच्छा कहिले पुरा भएन । उहाँका श्रीमानले पनि श्रीमति पढोस् भनि कहिले इच्छा देखाउनु भएन । उहाँ आफै पनि स्कूलको मुखसम्म हेर्नु भएको थिएन ।

झन श्रीमतीलाई पढाउनु पर्छ भनि सोच आउनु निकै टाढाको विषय थियो । सुजिताका श्रीमान गंगाधर साह १६ वर्षका मात्र हुनुहुन्थ्यो । आमा–बुवा जे भन्नुहुन्थ्यो, त्यही गर्नुहुन्थ्यो । उहाँकै कमाईमा घर चल्थ्यो । सानैदेखि आफ्नो मामाको होटलमा काम गर्नुहुन्थ्यो । त्यही कमाईबाट घर चलेको थियो ।


होटल कसरी चल्छ त्यो ज्ञान उहाँको श्रीमान गंगाधरसँग थियो त्यही भएर सुजिताले आफै केही गरौं भनि सोच आयो । अरुको होटलमा काम गर्नुभन्दा आफ्नै होटल खोल्ने सोच सुजितामा आयो । उहाँले यो प्रस्ताव आफ्नो श्रीमानसँग राख्नुभयो । गंगाधरले कुनै निर्णय दिनसक्नु भएन । निर्णय दिनसक्ने क्षमता उहाँमा थिएन सायद । सधै आमा–बुवाले भनेको कुरा मान्ने उहाँ तत्कालै केही प्रतिकृया नदिएपछि सुजिताले आफ्नो सासुआमासँग कुरा राख्नुभयो । सासु आमाले झन मान्ने कुरा नै भएन । बुहारी काम गर्न बाहिर जानु हुँदैन । झन होटलमा त अनेकथरी मान्छे आउँछन् त्यहाँ त कुनै पनि हालतमा जानु हुँदैन भनि सासुआमाको आडान थियो ।

तैपनि सुजिताले होटल खोल्ने निर्णयमा पुग्नुभयो । तर होटल खोल्नका लागि पुँजी चाहिन्छ त्यो पुँजी उहाँहरुसँग थिएन । त्यसपछि उहाँ आफ्नो गहना बेच्ने निष्कर्षमा पुग्नुभयो । त्यसका लागि उहाँका सासुआमा र श्रीमान दुवैजना रिसाउनु भयो तर सुजिता पनि आफ्नो अडानमा कायम रहनुभयो । र गहना बेच्नुभयो । महोत्तरीको गौशला बजारमा होटल खोल्नुभयो । होटल खोल्नमा सुजिताका आमाबुवाले पनि सहयोग गर्नुभएको थियो । सुजिता पनि होटलमा बस्न थाल्नुभयो । श्रीमान पहिलादेखि होटल चलाई सक्नु भएको हुनाले खासै गाह्रो भएन । ग्राहक आउन थाले । सुजिताका श्रीमान गंगाधरले पकाएको परिकार ग्राहकहरु मन पराउन थाले । होटल राम्रैसँग चल्न थाल्यो ।

सासुरमा सारी लगाउने सुजिता होटल चलाउन थालेपछि त्यहाँ कुर्ता सरवाल लगाउन थाल्नुभयो । जुनकुरा उहाँको सासुलाई मन परेको थिएन । कतिपटक छोरामाथि रिसाउनु पनि भयो । जुन सासुआमाले बुहारीलाई घरबाट निस्कन दिनु हुन्थेन, त्यसलाई कुर्ता सरवाल मन पर्ने कुरा हुँदैन ।


तर सुजिताले ती कुराहरुलाई इगनोर गर्दै अगाडि बढ्नुभयो । दुई चार महिना होटल राम्रै चलेको थियो । आम्दानी पनि राम्रै हुन थाल्यो । सुजिताको श्रीमानले होटलको सबै कमाई आमा बुवालाई दिनुहुन्थ्यो । होटलमा उधारो धेरै भएपछि विस्तारै विस्तारै पुँजीमा असर पर्न थाल्यो । सुजिताले आफ्नो श्रीमानलाई त्यति उधारो नलगाउन पटक पटक सुझाव दिनुहुन्थ्यो तर उहाँले मान्नु हुन्थेन । चिनेकाहरुलाई उधारो दिनमा हिचकिचाउनु हुन्थेन गंगाधर । सुजिताको पेटमा बच्चा भयो । समय पुगेपछि सुजिताका आमाबुवाले आफ्नो घर लग्नुभयो । सुजिता आफ्नो घर (माइती) गएपछि नौ महिनासम्म चलेको त्यो होटल बन्द भयो ।

होटल बन्द गरेर सुजिताको श्रीमान गंगाधर गुजरात जानुभयो । सुजिताको छोरी सन्ध्या साहको जन्म भयो । छोरी जन्मने बेला गुजरातबाट उहाँको श्रीमान पनि आइपुग्नु भएका थियो । गौशालाको एक क्लिनिकमा बच्चा जन्माइएको थियो । छोरी जन्मेको कारण सासु सासुरा खुस थिएनन् । बरु घरमा कुरा काट्ने काम भयो । सुजिताको आमाबुवा जस्ता छन् त्यस्तै छोरी पनि भइन् भनि घरमा मात्र होइन छरछिमेकमा पनि कुरा काटिन्थ्यो । सुजिता आफ्नो माइतीबाट पाँच महिनापछि श्रीमानको घर जानुभयो । त्यो बीचमा कोही एकपटक सोधखोज पनि गरेनन्, हेर्न जाने त टाढाको कुरा थियो । बच्चा जन्मि सकेपछि सुजिताको श्रीमान गंगाधर फेरि भारतको गुजरात जानुभयो ।

श्रीमान गुजरातमा हुँदा फोनमा कुरा गर्न पनि महाभारत थियो । त्यतिबेला सुजितासँग मोवाइल थिएन । फोनमै कुरा गर्न टाढा गाउँमा जानु पथ्र्यो । कहिले काही आउने फोनमा कुरा गर्न जाँदा सुजितासँग उहाँका सासुआमा पनि जानु हुन्थ्यो । अच्चमको कुरा के थियो भने फोनमा कुरा गर्दा त्यहाँ वरिपरी रेडियो पनि सुनिन्थ्यो । त्यही भएर सुजिताले आफ्ना श्रीमानसँग खुलेर कुरा गर्न सक्नु हुन्थेन । दुई महिना चार महिना श्रीमान आउनु हुन्थ्यो जानु हुन्थ्यो ।

यसरी घरमा बसि रहनुले सुजितालाई छटपटी हुन्थ्यो । आफै केही काम गरौं भनि हुन्थ्यो । उहाँका वहिनी सरिता साहले पनि दिदी यसरी घरमा बस्नु हुँदैन केही गर्नुपर्छ भन्नुहुन्थ्यो तर सुजितासँग बाध्यता थियो । सासु–ससुराले काम गर्ने त के घरबाट निस्किन पनि इजाजत दिइरहनु भएको थिएन । सुजिता त्यतिकै घरमा गुम्सिएर बस्नु परेको थियो । चार वर्षपछि सुजिताको छोरा श्लोक साहको जन्म भयो । बच्चा जन्मिने बेला सुजिता आफ्नो माइतीमा हुनुहुन्थ्यो ।

त्यहाँबाट जनकपुरको अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । श्रीमान पनि गुजरातबाट आउनु भएको थियो तर उहाँको घरबाट एकपटक पनि कोही हेर्न जानु भएको थिएन । वहिनी सरिता साहले एउटा अभिभावक जस्तो अस्पतालमा सबै काम गर्नुभयो । सुजितालाई सरिता साहले कुनै कुराको अभाव महसुस हुन दिनुभएन । छोरा जन्मेपनि सुजिताको सासु–ससुरा खुशी थिएनन् । कुनै चासो लिएनन् । जनकपुर अस्पतालबाट सुजिता सिधै आफ्नो माइती नै जानुभयो । तैपनि सासु सासुराले मतलब राख्नु भयो । बेलाबेला श्रीमान हेर्न जानु हुन्थ्यो । सुजिता पाँच महिनापछि माइतीबाट श्रीमानको घर जानुभयो । घरमा नाती आयो भनि सासुमा कुनै असर देखिएन । अवस्था पहिला जस्तै थियो ।


श्रीमान त्यति जान्ने बुझ्ने नभएका कारणले सुजिताप्रति त्यति ध्यान दिनु हुन्थेन । जसले जे भन्थे त्यही मान्नुहुन्थ्यो । कहिले काही सुजिताले पनि राम्रोसँग सम्झाउँदा बुझाउँदा कुरा बुझ्नु हुन्थ्यो पछि फेरि त्यस्तै बन्नु हुन्थ्यो । केही दिनपछि सुजिताका श्रीमान मलेसिया जानुभयो । सुजिता आफ्नो माइती जानुभयो । सुजिता एक वर्षसम्म माइतीमै बस्नुभयो । तैपनि सासु ससुराले खोज्नुभएन, वास्ता गर्नुभएन । तैपनि सुजिता आफै एक वर्षपछि सासुको घर आउनुभयो । श्रीमान नभएपछि सुजितालाई झन बोर हुन्थ्यो । घरमा खासै काम पनि हुँदैन्थ्यो । कतै बाहिर जान पनि दिदैन्थ्यो ।

वहिनी सरिता साह बेलाबेलामा आएर सुजितालाई सहयोग गर्नुहुन्थ्यो । चाडपर्वमा भाइ जस्तै कोसेली लिएर सरिता साह आउनु हुन्थ्यो । बच्चाका लागि खेल्ने समानदेखि लिएर सुजिताका लागि चाहिने आवश्यक समानहरु लिएर सरिता आउनु हुन्थ्यो । सुजिताको अवस्था हेर्दा सरिता दुखित हुँदै भन्नुहुन्थ्यो, ‘यो जन्जालबाट बाहिर निस्किनु होस् दिदी ।’ आफ्नो लागि नभएपछि यी छोरा छोरीका लागि यो घरबाट निस्किनका लागि सुजितालाई भन्नुहुन्थ्यो । तर कसरी सुजितालाई कुनै आइडिया आइरहेको थिएन ।

सुजिताले आफ्नो श्रीमान गंगाधरलाई भनेर आफ्नो सानो देवरसहित छोराछोरीलाई त्यहीको एउटा बोर्डिङ स्कुलमा भर्ना गर्नुभयो । त्यो कुरा उहाँको सासुआमालाई मन परेको थिएन । यति खर्च गरेर किन पढाउने भनि आलोचना गर्नुहुन्थ्यो । सधै किचकिच हुन्थ्यो अनि एक वर्षपछि त्यो स्कूलबाट बच्चाहरुलाई निकाल्नुभयो । त्यसपछि सरिता साहले सुजिताको छोरीलाई पढाउनका लागि जनकपुर लग्नुभयो । सुजितालाई पनि जनकपुर जाउँ कि जाउ भन्नुहुन्थ्यो तर सासुआमाले इजाजत दिनुहुन्थेन । सुजिताले आफ्नो श्रीमानलाई पनि मनाउने प्रयास गर्नुभयो तर उहाँले पनि जनकपुर जान इजाजत दिनुभएन ।

होस्टलमा नोकरी
सुजिताका एकजना स्कूले साथी हुनुहुन्थ्यो तारा श्रेष्ठ । तारा श्रेष्ठका देवर जनकपुरमा बसका टिकट काट्नु हुन्थ्यो । एकदिन सुजिताले ताराको देवरलाई कुनै काम खोजि दिन आग्रह गर्नुभएको थियो । सुजिताले छोराछोरीलाई पढाउनु छ, पियनको जागिर भएपनि खोज दिनु भन्नुभएको थियो । जनकपुरको पिडारी चौकमा थापा गाउँ थियो । त्यहाँ एउटा मुस्लिम होस्टल थियो । होस्टलमा रहेका बच्चाहरुको हेरचाह गर्ने र स्कूल पुर्याउने काम सुजिताले पाउनुभयो ।

तर काम गर्न जाने कसरी सुजितालाई यो कुरा घरमा भन्न गाह्रो भयो तैपनि उहाँले हिम्मत जुटाएर सासुआमालाई भन्नुभयो । सासुआमाले मान्ने कुरा नै भएन । तैपनि सुजिता विद्रोह गरेरै भएपनि घर छाडेर जनकपुर जानुभयो । होस्टलमा काम गर्न थाल्नुभयो । सुजिताका दुईटै बच्चालाई पढाई दिने, खान बस्न त्यही दिने र महिनाको दुई हजार रुपियाँ दिने सहमति भएको थियो ।

सुजिताले होस्टलमा बस्ने बच्चाको लुगा धुनुदेखि लिएर उनीहरुलाई नुहाउने, सफा गर्ने, खुवाउने स्कूल पुर्याउनेसम्मको काम गर्नुहुन्थ्यो । भने जस्तो सजिलो काम थिएन सुजिताका लागि तैपनि आफ्नो छोराछोरीका लागि दुख भोग्न तयार हुनुभयो उहाँ । तर एक डेढ महिना भइसक्यो भनेको जस्तो दुई हजार महिनाको तलब पनि दिएन । छोराछोरीलाई किताब, कापी र ड्रेस पनि दिएन । आज भोली भन्दै टार्दै आइरहेका थिए त्यहाँका प्रिन्सिपलले ।

त्यहाँ काम गर्ने एकजना अरमान खान शिक्षकको कुदृष्टि थियो सुजितामाथि । अरमान खान सुजिताको नजिक नजिक हुन खोज्थे । सुजिता एक्लै हुँदा उहाँको नजिक जान खोज्नुहुन्थ्यो । यो अवस्था हेरेर सुजिता साह कति दिन एक्लैमा रुनुभयो । एकातिर छोराछोरीको यो हालत छ, अर्कोतिर भने अनुसारको तलब पनि दिएको छैन, यता एउटा शिक्षकको बुरी नजर आफूमाथि थियो । होस्टलको नोकरी सुजिताका लागि पहाड हुन थाल्यो । त्यहाँका प्रिन्सिपलले एकदिन राती एउटा बच्चालाई कुटेको सुजिताले देख्नु भएको थियो । त्यो देखेर सुजितालाई निकै डर लाग्यो । त्यही दिन उहाँले होस्टलबाट भाग्न खोज्नु भएको थियो । तर डरले निस्कन सक्नु भएन ।

यो कुरा उहाँले आफ्नो बहिनी सरितालाई पनि भन्नुभयो । सरिताले त्यहाँबाट सुजितालाई निकाल्नुभयो । सुजिता त्यहाँबाट आफ्नो छोराछोरीसहित निस्किनु भयो । तर दुई महिनाको पैसा बाँकी रह्यो त्यो पनि दिएन । त्यो पैसाका लागि सुजिता दुई तीनपटक जानु भयो तर त्यो रकम दिएन । त्यसपछि सुजिता त्यो रकमको मोह त्याग्नुभयो । सुजिताले आफ्नो दुईटै बच्चालाई सरिता कहाँ छाडेर घर फर्किनुभयो । कहिले माइती, कहिले श्रीमानको घर त कहिले जनकपुर यस्तै दिनचार्या बित्थ्यो सुजिताको । श्रीमान विदेशमा, छोराछोरी जनकपुरमा सुजिता झन एक्लो हुनुभयो । उहाँलाई छटपटी हुन्थ्यो घरमा ।

केही गरौं भन्ने भूत हटेको थिएन सुजिताको दिमागबाट तर के गर्ने कुनै उपाय निस्कि रहेको थिएन । पढाई लेखाई पनि धेरै थिएन । सोचे जस्तो काम पनि पाइरहनु भएको थिएन । उता, सरिता साहले सुजितालाई पनि जनकपुरमै बस्न भनिरहनु भएको थियो । सुजितालाई पनि जनकपुरमै बस्ने इच्छा थियो तर त्यो इच्छाले के हुन्छ, घरको वतावरण पनि मिल्नुपर्छ ।

नाटकका लागि अफर
तीन वर्षसम्म सुजिताको दिन त्यसैगरि बित्यो । एकदिन सरिता साहले सुजितालाई फोन गरेर काठमाडौँ आउन भन्नुभयो । ‘लु’ नाटक गरिरहेको छु, तपाईले एउटा रोल खेल्दिनुपर्यो, सरिताले भन्नुभएको थियो । सुजिताले भन्नुभएको थियो, ‘यस्ता नाटक मैले कहिले गरेको छैन, मबाट हुँदैन म काठमाडौँ आउदिन ।’ सरिताले भनिन्, –‘म आफै डाइरेक्टर छु, तपाईलाई म खेलाउँछु । तपाई डराउनु हुँदैन तपाई आउनुस् तपाईलाई खेलाउनु जिम्मा मेरो हो ।’

घरमा कसैलाई नभनि सुजिता नाइट बसेर काठमाडौँ आउनुभयो । ‘लु’ नाटकका लागि सुजिताले दुई महिनासम्म रेहलसल गर्नुभयो । सो नाटकमा सुजिताको एउटा ग्रामिण महिलाको भुमिका थियो । त्यसपछि त्यो नाटक शिल्पी थेयटरमा एक महिनासम्म प्रदर्शन भयो । सुजिताको निकै प्रशंसा भयो । दुई महिना मात्र रेहलसल गरेर नाटक खेलेको हो भनि पत्याउन सबैलाई गाह्रो भइरहेको थियो । अभिनय कहाँबाट सिक्नुभयो, कसले सिकाउनु भयो, कुन स्कुलमा पढनु भएको हो जस्ता प्रश्नको ओइरो थियो सुजिताका लागि । लु नाटकमा तीन महिना काम गर्दा अन्तिममा घरजाने बेलामा सो नाटकको निर्माताले १००० रुपियाँ दिएको थियो । सुजितालाई रिस त उठेको थियो तर चित्त बुझाउनुभयो । यो सुरुवात हो, सुरुवातमा यस्तो हुनसक्छ भनि चित्त बुझाएर घर फर्किनुभयो ।

मलेसियामा रहेका श्रीमानको रिस
सुजाताले नाटक खेलेको एउटा फोटो फेसबुकमा राख्नु भएको थियो । त्यो फोटो सुजिताका एकजना आफन्तले डाउनलोड गरेर मेलेसियामा रहेको सुजिताको श्रीमान गंगाधरलाई पठाई दिए । गंगाधरले त्यो फोटो हेरेर सुजितालाई फोन गरेर साफ गाली गर्नुभयो । नाटक खेल्नबाट मनाही गर्नुभएको थियो । तर पछि सरिताले सुजिताको श्रीमानसँग कुरा गरेपछि मात्र मामला शान्त भएको थियो । काठमाडौंबाट माइती फर्केपछि घरमा छुट्टै तनाव थियो । गाउँभर कुरा फैलिएको थियो । धेरैजसोले सुजिताको बारेमा उहाँका सासु ससुरा र श्रीमानलाई नानाभाँती कुरा लगाएका थिए ।

श्रीमान विदेशमा यता श्रीमती काठमाडौँ गएर नाटक खेल्न थालेका छन् । गाउँबाट आफै काठमाडौँ जाने आउने गर्छन् । यस गाउँमा यस्तो बुहारी कहिले आएको थिएन । समाजको नाक काटियो जस्ता कुरा समेत हुन थालेको थियो । तर सुजिताले यी कुराहरुको वास्ता गर्नुभएन । आफू ठिक भएको अवस्थामा यस्ता कुराहरुले केही फरक पर्दैन भन्दै उहाँ चुपचाप बस्नुभयो ।

कमाईले बुवाले ऋण चुक्ता
त्यसपछि सरिता साहले सडक नाटकका लागि सुजितालाई फोन गर्नुभएको थियो । सुजिताले सासुलाई बुवालाई भेट्न माइती जाँदैछु भनेर फेरि काठमाडौँ आउनुभयो । सडक नाटकका लागि एक हप्ता रेहलसल भएको थियो । रौतहट जिल्लामा १५ दिनमा ४५ वटा नाटक गर्नु थियो । सुजिता १७ दिनसम्म रौतहटमा बसेर सो नाटक सम्पन्न गर्नुभयो । त्यो नाटक खेलेवापत सुजिताले ३० हजार रुपियाँ पाउनु भएको थियो । सुजिता निकै खुशी हुनुभयो । लु नाटकमा एक हजार पाएको थिए आज त्यसैको निरन्तरता स्वरुप ३० हजार रुपियाँ पाएको भन्दै सरिता निकै खुशी हुनुहुन्थ्यो । उहाँ सो पैसाबाट बुवालाई लागेका ऋण चुक्ता गराउने निर्णयमा पुग्नुभयो र उहाँले त्यस्तै गर्नुभयो । त्यसमा सरिताले पनि ५० हजार रुपियाँ दिनुभएको थियो । दुवैजना मिलेर बुवालाई ८० हजार रुपियाँ दिनुभएको थियो ।

त्यसपछि सुजितालाई विभिन्न नाटक तथा सर्ट फिल्मको अफर आउनु थाल्यो । फगुनियाँ, ढकिया मे नाटक जस्ता नाटकमा पनि सुजिताले अभिनय गर्नुभयो । ‘दगत’ सर्ट भूमी खेल्नका लागि सुजिता जनकपुरबाट नवलपरासी एक्लै जानु भएको थियो । त्यो फिल्म खेलेवापत दुई हजार मात्र पाउनु भएको थियो । थुप्रै रेडिया नाटकहरुमा पनि उहाँले काम गर्नुभयो । सुजिताले थोरबहुत पैसा कमाउन थाल्नुभयो । त्यसपछि आफ्नो छोराछोरीलाई काठमाडौँ ल्याउनु भयो । छोराछोरीलाई सरितासँगै राखेर काठमाडौँको एक स्कूलमा भर्ना गरेर पढाउन थाल्नुभयो । श्रीमान विदेशमै हुनुहुन्छ । सुजिताले कमाएको पैसाको बारेमा कहिले सोधखोज गर्नुभएन ।

उहाँले आफ्नो सासु तथा ससुरालाई पनि देखभाल गर्न थाल्नुभयो । घर जाँदा लुगाफाटा लिएर जानु हुन्छ । खानेकुरा लिएर जानुहुन्छ । सासुलाई पैसा पनि दिनुहुन्छ । पहिलाको तुलनामा घर व्यवहार ठिकठाक भयो । तर सासु आमा कहिले खुस देखिनु भएन । एकपटक उहाँहरुलाई काठमाडौँ ल्याएर पनि घुमाई दिनुभयो । तैपनि खुस देखिनु भएको छैन, सुजिता भन्नुहुन्छ, ‘सायद मेरो सासुको स्वभाव नै त्यस्तो हो ।’ जति दिन जहाँ बसे पनि उहाँलाई फरक पर्दैन । म माइती बसे पनि खोज्नु हुन्न, काठमाडौँ बसेपनि खोज्नु हुन्न । उहाँसँगै बस्दा पनि उहाँलाई फरक पर्दैन ।’ सुजिता अहिले काठमाडौ, माइती र श्रीमानको घर आउजाउ गर्नुहुन्छ । उहाँको अधिकाँश समय काठमाडौमै बित्छ । चार वर्षदेखि छोराछोरीहरु काठमाडौमा बस्छन् ।


उहाँले केही समय संसद भवनमा कार्यालय सहयोगीको रुपमा काम पनि गर्नुभयो । उहाँले खेलेका थुप्रै नाटकहरु राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा पुरस्कृत भएका छन् । यहाँसम्म यो अवस्थासम्म आइपुग्नुमा वहिनी सरिता साहको ठूलो सहयोग रहेको छ । सुजिताले भन्नुभयो, ‘उहाँले एउटा बुवा जस्तो, एउटा आमा जस्तो, एउटा दाजु जस्तो व्यवहार गर्नुभयो ।’ अहिले श्रीमानले पनि बेलाबेलामा फोन गरेर नाटकको बारेमा सोध्नुहुन्छ । उहाँले सुजिताको कामलाई मन पराउनु भएको छ । सुजिता भन्नुहुन्छ, ‘अब कलाकारितालाई नै आफ्नो पेसा बनाउँछु र यसैले देश र समाजलाई सेवा गर्छु ।’

बुवा रामचन्द्र साह र आमा रामप्यारी देवीका जेठी छोरी सुजिताका छजना वहिनी छन् । सरिता साह कलकार हुनुहुन्छ । रञ्जिता साह ब्युटिसियन हुनुहुन्छ । अमृता साह ड्रेस डिजाइनर हुनुहुन्छ । आशा साह पनि ब्युटिसियन हुनुुहुन्छ भने कशिस साह अहिले कक्षा ६ मा पढि रहेकी छिन् । सुजिताको जेठी छोरी सन्ध्या साह आठ कक्षामा र छोरा श्लोक साह ७ कक्षामा अध्ययन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया