‘जसपा नेपालमा सिर्फ उपेन्द्र यादवको शासन चल्छ’

उपेन्द्र यादवको हुकुमतको विरुद्ध विद्रोह गर्ने आँट नेताहरुले देखाउन सक्नु भएन । उपेन्द्र यादवको क्रियाकलापको विरुद्ध धेरै नेताहरु एकजुट भएका थिए । उहाँको विरुद्धमा हस्ताक्षर पनि गरेका थिए ।

–दानबहादुर चौधरी
केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी नेपाल–,

जनता समाजवादी पार्टी नेपालको वीरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकले सो पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौजनालाई पार्टीमा कारवाही गरेको छ । नेताहरुलाई कारवाही गरेसँगै पार्टी विभाजन हुने निश्चित भएको छ । बाबुराम भट्टराईले नयाँ पार्टी बनाउने गृहकार्यमा लाग्नु भएको छ । असार ३१ गते एक विज्ञप्ति जारी गरी बाबुराम भट्टराईले जसपालाई पुर्नगठन गर्ने भन्नु भएको छ । कस्तो पुनर्गठन गर्ने हो त्यो कुरा बाहिर आएको छैन तर पार्टीभित्रको द्वन्दका कारण नेताहरुमाथि जुन कारवाही भएको छ, त्यसले जसपा विभाजन हुने निश्चित छ । प्रस्तुत छ, जसपाबाट कारवाहीमा पर्नु भएका केन्द्रीय सदस्य दानबहादुर चौधरी (कपिलवस्तु) सँग पार्टीमा भएको पछिल्लो गतिविधि बारे सहाराटाइम्सले गरेको कुराकानीको सम्पादीत अंशः

वीरगञ्जमा बसेको जसपाको केन्द्रीय समितिको बैठकले तपाईलगायत नौजनालाई पार्टीबाट निष्काशन गरेको छ किन ?
–त्यो कारवाही गर्नुको कुनै अर्थ नै छैन । यदि त्यो पार्टीमा रहनु थियो भने हामी पनि वीरगञ्जको बैठकमा जान्थ्यौं । हामीले छुट्टै बैठक गर्नु नै पर्दैन्थ्यो । छुट्टै बैठक गरिसकेपछि स्पष्ट हुनुपर्छ कि हामी अलग छौं, अलग हुन चाहेका छौं । हामीले त्यतिबेला किन निर्णय गरेनौं भने हेरौं वीरगञ्जको बैठकले के के निर्णय गर्छ । तर, हामीले कल्पना गरेकै जस्तो भयो । हामीलाई लागेको थियो कि वीरगञ्ज बैठकले कारवाही गर्छ । त्यो कारवाहीको कुनै तुक छैन । हामी उपेन्द्र यादवको साथमा काम गर्न सकिदैन भनि माइण्ड मेकअप गरिसकेका थियौं । त्यो पार्टीमा बस्नु नै छैन भने कुरा सक्यो नि । त्यो कारवाही हाम्रो लागि कुनै ‘माइने’ राख्दैन ।

जसपा तपाईहरुले पनि बनाएको पार्टी हो तर त्यहाँ किन बस्न चाहनु भएको छैन ?
–त्यो पार्टीमा एकतर्फी शासन चल्छ । हिटलरको जस्तो शासन चल्छ त्यहाँ । त्यहाँ जोरजर्वजस्ती चल्छ । तपाईलाई पार्टीमा बस्न मन छ भने बस्नुस् नत्र जानुस् जस्तो अवस्था छ त्यहाँको । त्यहाँ हुकुम मात्र चल्छ । र, त्यो हुकुम नमान्नेलाई हुर्मत लिने काम गरिन्छ । हामी जिल्लाबाट एउटा निर्णय गर्छौ, केन्द्रले अर्को निर्णय गरेर पठाई दिन्छ । यो देशमा राजा ज्ञानेन्द्रको हुकुमत राज्यले मानेन भने हामी उपेन्द्र यादवको हुकुमतलाई कसरी स्विकार गर्छौ । उहाँको हुकुमत, उहाँको गुलामी हामीलाई स्विकार्य छैन । त्यही भएर त्यहाँबाट निस्कियौं । उपेन्द्र यादवले कारवाही गरेर आफ्नो समय मात्र बर्बाद गर्नु भएको छ ।

पार्टी तपाईहरु पनि बनाउनु भएको छ, त्यस्तो हुकुमतको विरुद्ध त्यही संघर्ष गर्नु पथ्र्यो र त्यो शासनलाई अन्त्य गर्नुपथ्र्यो तर उल्टै पार्टी छाडेर हिड्नुभयो किन ?
–यदि जसपामा रहनुछ भने अध्यक्ष (उपेन्द्र यादव) को शासनभित्र बस्नुपर्छ । उहाँको निर्देशनलाई सर्वमान्य बनाउनुपर्छ । उहाँको निर्देशनलाई उल्लघंन गर्ने दुस्साहस कसैले गर्नुहुँदैन । यी सब स्विकार्य छ भने त्यहाँ बस्दा हुन्छ । किनभने जसपामा सिर्फ उपेन्द्र यादवको शासन चल्छ । जसपा अध्यक्ष (उपेन्द्र यादव) को अगाडि जिल्ला समिति, प्रदेश समिति, स्थानीय समिति, भातृ संगठनलगायत अन्य संगठन तथा समिति केही पनि होइन । त्यहाँ हुने निर्णयलाई कुनै मान्यता हुँदैन । अध्यक्षलाई चित्त बुझ्यो भने ठिक नत्र बेठिक । सबै निर्णयहरु रद्दीको टोकरीमा फ्यालिन्छ र आफ्नो निर्देशन रिले गरिन्छ । जसलाई मन लाग्यो पार्टीमा ल्याउने, जसलाई मन लाग्यो पार्टीबाट निकालि दिने अर्थात पार्टीमा कुनै पनि सिस्टम छैन । अध्यक्षलाई जे मन लाग्यो त्यही गर्नुहुन्छ ।

तपाई जुन सिस्टम र जुन शासनको कुरा गर्नुभयो त्यसको अनुभव सबैले गर्नुपर्ने होइन र, वीरगञ्जको बैठकमा उपेन्द्र यादवको पक्षमा अपार बहुमत थियो, सबै नेता, सांसदहरु वीरगञ्जको बैठकमा जानु भएको थियो त्यो कसरी भयो त ?
–हेर्नुस् जहाँ शक्ति हुन्छ त्यही भक्ति हुन्छ । त्यहाँ विभिन्न लोभ तथा प्रलोभनले नेताहरु जानु भएको हो । कसैलाई मन्त्री गुम्ने डर, कसैलाई सांसद गुम्ने डर, कसैलाई पार्टीको पद गुम्ने डर, कसैलाई टिकट नपाउने डर । यस्ता धेरै डर भएका कारण नेताहरु वीरगञ्ज पुग्नु भएको हो । धेरैलाई डर धम्की पनि दिइयो । धेरैलाई प्रलोभनमा पनि पारियो । कतिपय यस्ता नेता पनि थिए जो जडिबुटीको बैठकमा पनि सहभागी भए र पछि त्यहाँ वीरगञ्ज गएर पनि सहभागिता देखाई दिए । अर्थात उपेन्द्र यादवको हुकुमतको विरुद्ध विद्रोह गर्ने आँट नेताहरुले देखाउन सक्नु भएन । उपेन्द्र यादवको क्रियाकलापको विरुद्ध धेरै नेताहरु एकजुट भएका थिए । उहाँको विरुद्धमा हस्ताक्षर पनि गरेका थिए । पार्टीबाट हटाउनसम्मको गतिविधि गरेका थिए तर उपेन्द्र यादवको कहरको आगाडि ती सबै फेल भए । म त सुरुमै पार्टीबाट राजिनामा दिने मुडमा थिए । तर साथीहरुले भन्नुभयो, आखिर कारवाही नै हुन्छ भने बेकारमा किन राजिनामा दिनु ।’ यसपाली चुनाव लड्ने तयारी गरिरहेको छु । म जहाँ जुन क्षेत्रमा छु, त्यहाँ मेरो लागि जसपा ठिक छैन । त्यहाँबाट चुनाव जित्न पनि गाह्रो छ । त्यसैले पहिलादेखि नै जसपा छाडेर जाने मनस्थिति बनाई सकेका थिए ।

अध्यक्षलाई चित्त बुझ्यो भने ठिक नत्र बेठिक । सबै निर्णयहरु रद्दीको टोकरीमा फ्यालिन्छ र आफ्नो निर्देशन रिले गरिन्छ । जसलाई मन लाग्यो पार्टीमा ल्याउने, जसलाई मन लाग्यो पार्टीबाट निकालि दिने अर्थात पार्टीमा कुनै पनि सिस्टम छैन ।

जसपा छाडेर कुन पार्टीमा जानु हुन्छ त ?
–अहिले ठ्याक्कै पार्टी नै छाड्ने मनस्थितिमा पुगिसकेको त छैन तर विभिन्न ठाउँमा कुराकानी भइरहेको छ । बाबुरामजी पनि गृहकार्यमा लाग्नुभएको छ । उहाँले पनि पार्टी पुर्नगठनको कुरा गर्नुभएको छ । पार्टी कसरी पुनर्गठन हुँदैछ त्यो पनि हेर्न बाँकी नै छ । सबै परस्थिति हेरेर केही निर्णय लिन्छु ।

त्यसो भए तपाई बाबुराम भट्टराईको साथमा पनि रहनु हुन्न होइन ?
–१०० प्रतिशत भन्न सकिदैन । त्यसको विषयमा कुराकानी चलिरहेको छ । हेरौं के हुन्छ ।

–त्यसो भए कुन पार्टीमा जानुहुन्छ त ?
–विभिन्न दलहरुसँग कुराकानी चलिरहेको छ । लोसपाका नेताहरुले पनि कुरा गर्नुभएको छ । एमालेका पनि विभिन्न नेताहरु सम्पर्कमा आएर कुराकानी गर्नुभएको छ । निर्णय गर्न हतार गर्दैनौं । लुम्बनी प्रदेशका अन्य साथीहरुसँग सल्लाह गरेर मात्र हामी कुनै निर्णय लिन्छौं । त्यतिकै एक्लै कुनै पार्टीमा जाँदैनौं साथीहरुलाई पनि लिएर जान्छौं ।

तपाईहरु जसपा किन बनाउनु भयो फेरि किन भत्काउन लाग्नु भएको छ ?
–जुन उद्देश्यका साथ हामी जसपा बनायौं । त्यो उद्देश्य अनुसार पार्टी चलेन । हामीलाई थाह थिएन कि यहाँ एकतर्फा शासन मात्र चल्छ । पार्टीमा आउनुअघि यी सब कुराको बारेमा जानकारी थिएन जब पार्टीमा आइसक्यौ अनि मात्र सबै कुराको जानकारी भयो । उपेन्द्रजीसँग पहिलादेखि मलाई काम गर्ने इच्छा थिएन । तर संयोगवश डा.बाबुराम भटट्राईले नयाँ शक्ति पार्टीलाई लिएर उपेन्द्र यादवसँग एकीकरण गर्नुभयो बाध्यतावश त्यहाँ जानुपर्यो । उपेन्द्रजीको बारेमा मैले जति सोचेका थिए त्यो भन्दा पनि खतरनाक निस्किनुभयो । म महन्थ ठाकुरको तमलोपा, महेन्द्र यादवको तमसपा, विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरमसम्म काम गरे । उपेन्द्र यादवको साथमा काम कहिले गर्न नपरोस् भनि मेरो चाहना थियो । तर संयोग त्यस्तो बन्दियो ।

काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी नेताको टाउकोको मूल्य तोक्नु भएको थियो । तर परस्थितिले आज दुवैजनालाई एक ठाउँमा ल्याई दिएको छ । त्यसैले राजनीतिलाई परस्थिति अनुसार अगाडि बढाउनुपर्छ र बुझ्नुपर्छ ।

तपाई महन्थ ठाकुर, उपेन्द्र यादवदेखि बाबुराम भट्टराईसम्मको साथमा काम गर्नुभयो, वास्तवमा उहाँहरुले के चाहनु हुन्छ मधेशमा ?
–लगभग लगभग सोच सबैको एउटै एउटै छन् मधेशप्रति सोचाई र गराईमा केही भिन्नता छ । काम गर्ने तौर तरिका अलिअलि फरक छन् । त्यसमध्ये उपेन्द्र यादव अलि फरक हुनुहुन्छ । उहाँको बानी कस्तो छ भने उहाँलाई कसैसँग काम लिनुछ भने एकदमै नजिक भइदिने । उहाँको सबै कुरा मानिदिने, मान सम्मान दिइरहने तर जब आफ्नो काम पुरा हुन्छ अनि दूधको झिङ्गा जस्तो फ्याली दिनुहुन्छ । उहाँ नेतृत्वको समाजवादी पार्टी विभाजन हुँदा महेन्द्रराय यादवले पुरै सहयोग गर्नुभएको थियो । तत्कालिन राजपा र समाजवादी पार्टी एकीकरण गराउनुमा महेन्द्रराय यादवको मुख्य भूमिका थियो । पछि पनि जसपा विभाजन हुँदा महेन्द्रजीले उपेन्द्र यादवलाई साथ नदिएको भए आज उपेन्द्र यादवको यो अवस्था यस्तो रहने थिएन । तर उपेन्द्र यादवले महेन्द्र यादवलाई कसरी अपमान तरिकाले फाल्नुभयो सब जग जाहेर छ । उपेन्द्रको छवी क्षेत्रीयतावादी थियो तर बाबुराम भट्टराई आएर राष्ट्रिय छवी बनाइ दिनुभयो । हिमाल, पहाडतिर उपेन्द्र यादवलाई कसैले रुचाई रहेका थिएनन् । हिमाल, पहाड छिर्न उहाँलाई गाह्रो भइरहेको थियो तर बाबुराम भट्टराईले सबैतिर लगेर उहाँलाई एडजस्ट गराउनुभयो । राष्ट्रिय अध्यक्ष बनाउनुभयो तर आज त्यही व्यक्तिलाई अपमानजनक ढंगबाट पार्टीबाट निकाल्नुभयो । महन्थ, राजेन्द्रहरुलाई उहाँले के हालत गर्नुभयो त्यो सबैलाई जानकारी भएकै कुरा हो ।

लगभग सबै मधेशवादी दलको साथमा काम गर्नुभयो, कुनै दल राम्रो लागेन यसको मतलब तपाईको नजरमा काँग्रेस, एमाले, माओवादी नै ठिक हो त ?
–होइन, माओवादी, काँग्रेस ठिक छैन । यी दुई दलको तुलनामा एमाले ठिक छ । तुलनात्मक रुपमा मधेशवादी दलमध्ये लोसपा अलिअलि ठिक छ । त्यसैले यी दुई दलमध्ये एउटामा जानसक्छु ।

यो भन्दा पहिले तपाई महन्थ ठाकुरको साथ छाडेर हिड्नु भएको होइन अनि अहिले फेरि किन उहाँलाई रुचाउनु भयो त ?
–अहिले लोसपामा एक्लै महन्थ ठाकुर मात्र हुनुुहुन्न । त्यहाँ अन्य नेताहरु पनि हुनुहुन्छ । पार्टी सामूहिक नेतृत्वमा चलिरहेको छ । उपेन्द्र यादवको पार्टी भन्दा त्यहाँ नेताहरुलाई इज्जत गर्ने, सम्मान गर्ने अवस्था छ । अहिले एमाले मधेशप्रति सकारात्मक हुँदै गइरहेको छ । काँग्रेस र माओवादी जस्तो झुठो कुरा गर्दैन एमाले । त्यही भएर त्यो दल अलिअलि मन परेको छ तर त्यही दलमा जान्छु भने होइन । राजनीतिमा कोही पनि स्थायी दुश्मन वा मित्र हुँदैन । परस्थिति अनुसार राजनीति कोर्स पनि परिवर्तन गर्नुपर्छ । विगतमा काँग्रेस र माओवादी बीच छत्तिसको आँकडा थियो । काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी नेताको टाउकोको मूल्य तोक्नु भएको थियो । तर परस्थितिले आज दुवैजनालाई एक ठाउँमा ल्याई दिएको छ । त्यसैले राजनीतिलाई परस्थिति अनुसार अगाडि बढाउनुपर्छ र बुझ्नुपर्छ । एकसमय उपेन्द्र यादव माओवादीमा काम गर्नुभएको थियो तर एक समय यस्तो आयो कि माओवादीले उपेन्द्र यादवलाई मार्नका लागि खोज्दै हिडेको थियो । तर अहिले प्रचण्ड र उपेन्द्र यादव घाँटीमा घाँटी जोड्नु भएको छ ।

अन्त्यमा एउटा कुरा भन्नुस् त मधेशवादी दल जति प्रयास गरेपनि पश्चिम मधेशमा संगठन बनाउन सकेको छैन, पूर्व जतिको बलियो संगठन पश्चिममा किन हुन सकेको छैन ?
–त्यसमा म आफूलाई पनि दोषी ठान्छु किनभने म पनि मधेशवादी दलको नेतृत्व तहसम्म पुगेको मान्छे हुँ । लामो समयसम्म मधेश दलमा बसेर काम गरे । तर पश्चिममा ती पार्टीहरु कहिले मजबुत हुनसकेन । कारण, हामीले नै बनाउन चाहेनौं । ध्यान दिएनौं । यतिका दिनसम्म मधेशी पार्टी चल्यो तर पश्चिममा नेता बनाउन सकेन । जेजति बने सबै पूर्वतिर नै बन्यो । पार्टीको नेतृत्व जहिले पनि पूर्वका नेताहरुको हातमा नै रह्यो । पश्चिममा कहिले नेता नै बनाउन चाहेनन् । पछिल्लो समय रेशम चौधरीले पश्चिमको नेतृत्व लिन खोज्नु भएको छ । उहाँको पार्टीको धेरै राम्रो भइरहेको छ । स्थानीय चुनावमा पश्चिमतिर धेरै नै राम्रो उपस्थिति रेशम चौधरीको पार्टीको रह्यो । कम से कम नारायणीभन्दा पश्चिम एउटा नेता त आउनुभयो । अब पश्चिम मधेशको नेतृत्व रेशम चौधरीले नै गर्नुहुन्छ जस्तो लाग्छ । यो सकारात्मक कुरा हो । मधेशवादी दलमा जति पनि नेताहरु हुनुहुन्छ सबै पूर्वतिरका छन् । उनीहरुले हामीलाई मधेशी नै मान्नुहुन्न । उहाँहरु जति पनि इस्यु उठाउनु भएको छ त्यो पूर्वका लागि मात्र गर्नुहुन्छ । हाम्रो लागि खासै बोल्नु हुन्न । त्यसैले यताको संगठन कमजोर देखिन्छ । ती पार्टीहरुप्रति झुकाव देखिदैन ।

तपाईको प्रतिक्रिया