Khadya Bibhag

प्रेम एउटासँग ‘लिभिङ्ग टुगेदर’ अर्कोसँग

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चुनावी गठबन्धनका लागि एकैपटक दुवै पक्षसँग कुराकानी अगाडि बढाएको छ । लोसपाका लागि पहिलो च्वाइस काँग्रेस नै हो । काँग्रेससँग भएन भने मात्र एमालेसँग गठबन्धन गर्ने सोच लोसपाले बनाइ सकेको छ । त्यसको संकेत उपसभामुखको निर्वाचनमा दिइसकेको छ । लोसपाले अहिलेको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रस्ताव पनि गरिसकेको छ । तर अगामी प्रदेश तथा संघको चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरिसकेको लोसपाले कुन दलसँग गठबन्धन गर्ने भनि निर्णय अझै गरिसकेको छैन ।

गठबन्धनका लागि लोसपाले काँग्रेस र एमाले दुवै दलसँग छलफल अगाडि बढाएको छ । लोसपाका अध्यक्ष ठाकुरले काँग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग एकै साथ छलफल अगाडि बढाउनु भएको छ । देखिने गरि एमालेसँग राम्रो दोस्ती बनाएको लोसपाको भित्रि सम्बन्ध काँग्रेससँग छ । वैचारिक हिसाबले पनि एमालेसँग लोसपा मिल्न सकिदैन । तर अघिल्लो सरकारमा प्रधानमन्त्री भएको बेला एमालेका अध्यक्ष ओलीले साथ दिएको कारण लोसपासँग बाध्यता छ ।

अर्को कुरा, काँग्रेसले माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन बनाई सकेको छ । त्यो गठबन्धनमा अटाउने कुरा हुँदैन । त्यसको बाध्यताका कारण पनि लोसपा एमालेसँग नजिक भएको हो । तर सैद्धान्तिक रुपमा काँग्रेस र लोसपाको राम्रो सम्बन्ध छ । चुनावमा कुनै नकुनै रुपमा काँग्रेससँग नै जाने तयारीमा लोसपा रहेको छ तर अन्त्यमा गएर काँग्रेससँग कुरा नमिले एमालेसँग जाने लगभग निश्चित छ । अहिले गठबन्धन बाहिर यही दुईटा दल बाँकी छन् । एमालेले पनि चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरेको छ भने लोसपाले पनि अगामी चुनावमा गठबन्धन बनाएरै जाने निर्णय गरेको छ । दुईटा एक्ला एक्लै भएका कारणले पनि चुनावमा गठबन्धन बन्ने सम्भावना छ र त्यो अनुसारको वतावरण तयार पनि भएको छ ।

लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लालले फलानै दलसँग गठबन्धन हुन्छ भने कुराको निश्चित भएको छैन, चुनावी गठबन्धनमा जाने कुरा पार्टीमा भएको हो तर कुन दलसँग जाने भने अझै निश्चित नभएको बताउनुभयो । चुनावी गठबन्धनका लागि काँग्रेस र एमाले दुवैसँग कुराकानी भइरहेको बताउँदै उहाँले अहिले कुनै दलसँग कुरा नमिलेको बताउनुभो । प्रधानमन्त्री देउवाले पनि लोसपाका अध्यक्ष ठाकुरलाई पाँच दलीय गठबन्धनमा सहभागी हुन आग्रह गर्नु भएको छ । प्रधानमन्त्री देउवाले लोसपालाई जसरी पनि आफूतिर तान्न खोज्नु भएको छ । तर त्यहाँ माओवादी केन्द्र भएको कारण जान इच्छा देखाएको छैन । महन्थ ठाकुरले माओवादी विनाको गठबन्धन बनाउन आग्रह गरेको स्रोतले जनाएको छ ।

यता, एमालेका अध्यक्ष अ‍ोलीले पनि गठबन्धनका लागि आग्रह गरिएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले गठबन्धनका लागि नेकपा एमाले अध्यक्ष अ‍ोलीले आफूलाई बोलाएर नै कुराकानी गर्नु भएको हो तर कुनै कुराको टुगो नलागेको बताउनुभयो । ‘हामीसँग गठबन्धनका लागि काँग्रेस, एमाले र जसपाको बाबुराम पक्षले कुराकानी गरेका छन्, तर अहिले कसैसँग कुनै कुराको टुगों लागेको छैन, सहारा टाइम्ससँग कुरा गर्र्दै अध्यक्ष ठाकुरले भन्नुभयो, ‘ओलीले यो पाँच दलीय गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने प्रस्ताव गर्नुभएको छ भने काँग्रेसका सभापति देउवाले पाँच दलीय गठबन्धनमा आउन आग्रह गर्नुभएको छ भने बाबुरामजीले पनि नयाँ गठबन्धन बनाउन प्रस्ताव गर्नु भएको छ ।’ तर अहिलेसम्म लोसपाले कुनै निर्णय लिएको छैन ।

राष्ट्रिय सभा चुनावदेखि स्थानीय चुनावसम्म एमालेसँग सहकार्य गरेको लोसपाले उपसभामुख चुनावमा धोका दिएको छ । एमालेका एक नेताले सहारा टाइम्ससँग भन्नुभयो, ‘लोसपाका नेताहरु दिनरात हामीसँग भन्नुहुन्छ चुनावमा सँगै जानुपर्छ है तर उपसभामुखको चुनावमा खुसुक्क काँग्रेसलाई साथ दिएको छ ।’ यो त भयो प्रेम एउटासँग लिभिङ टुगेदर अर्कैसँग भनि टिप्पणी गर्दै एमालेका ती नेताले राजनीतिमा सबभन्दा महत्वपूर्ण कुरा विश्वास हो, एमालेले लोसपालाई हरेक अप्ठ्यारो समयमा साथ दिएको हो तर आज उपसभामुख उता जित्ने देखेपछि त्यसलाई मतदान गरेकाले आफूहरुलाई दुख लागेको बताउनुभयो ।

करिब ६ महिनामा कार्यकाल सकिन लागेको प्रतिनिधिसभाले साढे २ वर्षपछि उपसभामुख पाएको छ । उपभामुख पदका लागि प्रतिनिधिसभामा असार ३१ गते निर्वाचन भएको थियो । उपसभामुखका लागि सत्तारुढ गठबन्धनबाट कांग्रेसका सांसद पुष्पा भुसाल गौतम र प्रमुख प्रतिपक्षी दल एमालेबाट विद्या भट्टराईले उम्मेदवारी दिनुभएको थियो । काँग्रेसका सांसद भुसालले उपसभामुखमा विजय हासिल गर्नुभएको छ । उहाँले १४८ मत ल्याउनु भयो भने प्रतिपक्षी नेकपा एमालेका उम्मेदवार भट्टराईले ९३ मत ल्याउनु भयो । संसदमा २४२ जना सांसद उपस्थित थिए ।

त्यसमध्ये एकजना सांसद मतदान गर्नुभएन । हारजित आफ्नो ठाउँको कुरा हो, तर प्रतिवद्धता र विश्वास कायम गर्नु ठूलो कुरा हो, अगामी चुनावमा एमाले र लोसपाको गठबन्धन बनाएर जाने लगभग माइन्डमेकप भइसकेको छ त्यस अवस्थामा पनि काँग्रेसलाई मतदान गरेर आशंका उब्जाएको एमालेका नेताले गुनासो गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया