गठबन्धनको औचित्य (सम्पादकीय)

देशमा अहिले गठबन्धनको लहर चलेको छ । तर गठबन्धन केका लागि त्यसको औचित्य पुष्टि कसैले गर्न सकेका छैनन् । साना ठूला सबै दल यसपाली गठबन्धन नै गर्न चाहन्छन् । मानौ, यसपटक गठबन्धन गर्न सकिएन भने राजनीतिक रुपमा समाप्त नै हुन्छ कि भनि धेरैलाई लागि रहेका छन् ।

तर गठबन्धनको औचित्य के ? गठबन्धन गर्ने दलहरु भन्छन्, प्रतिगमनको विरुद्ध यो गठबन्धन बनाउन लागिएको हो ।’ देशमा गणतान्त्रिक संविधान आएको सात वर्ष भइसक्यो । त्यसअघि नै बहुदलीय व्यवस्थालाई विदाई गरी देशमा गणतान्त्रिक व्यवस्था घोषणा गरिएको हो । न अहिले राजा छ, न पंचायति व्यवस्था, न कसैले प्रतिगमनको खतरा देखाएका छन् । अनि प्रतिगमन विरुद्धको यो गठबन्धन भन्नुको औचित्य के त ? नेकपा एमाले दुई दुई पटक संसद विघटन गर्दा पाँच वटा दल मिलेर त्यसको प्रतिवाद गर्नका लागि गठबन्धन बनाएको थियो ।

पछि विस्तारै विस्तारै त्यो गठबन्धन सत्ताधारी गठबन्धनमा परिणत भयो । एमालेलाई सरकारबाट हटाएर सडकमा पुर्याइ दियो । प्रतिगमन गर्न एमालेले त्यति हिम्मत गर्न सक्दैन । र, त्यो आँट पनि देखाएको छैन । तैपनि साना ठूला दलहरु भन्छन्, देशमा प्रतिगमनको खतरा छ त्यसैले गठबन्धन बनाएर चुनावमा जाउ भनिरहेका छन् । प्रतिगमनको डर देखाएर दलका नेताहरु चुनाव जित्ने मेसो मात्र मिलाउन खोजिरहनु भएको छ ।

यदि एउटै गठबन्धन बनाउने, एउटै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने, एउटै सरकारमा जाने, फलानो व्यक्ति यति वर्ष प्रधानमन्त्री बन्ने, फलानो व्यक्ति यति वर्ष प्रधानमन्त्री बन्ने, फलानो व्यक्ति राष्ट्रपति बन्नेसम्मको खाका तयार गरिसकेका छन् भने एउटै पार्टी बनाउन कसले रोकेको छ । साना ठूला सबै दलहरु एउटै चुनाव चिन्ह, एउटै गठबन्धनभित्र अटाउन खोजिरहेका छन् भने दल बनाउन किन पहल गरिरहेको छैन त्यो एउटा महत्वपूर्ण प्रश्न उठेको छ ।

अहिले नै प्रधानमन्त्री र राष्ट्रपति चयन गर्ने हो भने चुनावको नाटक किन ? भनिन्छ, थ्रेसहोल्डका डरले नेताहरु गठबन्धनमा सहभागी भएर आआफ्नो लाज बचाउने प्रयासमा छन् । उहाँहरुले जनतालाई प्रतिगमनको भय मात्र देखाइ रहनु भएको छ । जनतालाई तर्साएर नेताहरुले पार्टीका कार्यकर्ताहरुलाई वैचारिक रुपमा विमुख गरिरहेका छन् । भोटको राजनीति भनेको आआफ्नो पार्टीका सिद्धान्त र विचारालाई जनतामा सम्प्रेशन गर्ने हो ।

कुन दलको विचार राम्रो हुन्छ, कुन दल सैद्धान्तिक पक्ष राम्रो छ । जनताको हितमा कसले काम गर्न सक्छन् जस्ता कुरा रोज्ने, बुझ्ने ठाउँ हो चुनाव । हरेक पार्टीका नेता तथा कार्यकताहरु आफ्नो पार्टीको झण्डा, विचार, सिद्धान्त हस्ताक्षरित डकुमेन्ट लिएर जनताको घरघरमा जान्छन् । जनतालाई आफ्नो पार्टीको विचार र सिद्धान्तको बारेमा जानकारी गराउँदै त्यहाँको भोट आफूतिर तान्ने प्रयास गरिरहेका हुन्छन् । तर गठबन्धन बन्नेपछि ती सबै गौण हुन्छ । कही कुनै कुरा वैचारिक रुपमा सम्प्रेषण हुँदैन ।

काँग्रेसले कम्युनिष्टका लागि भोट माग्छ भने कम्युनिष्टले काँग्रेसका लािग भोट माग्छ । राजावादीहरुले लोकतन्त्र विचार बोकेका पार्टीका लागि मत माग्छ भने लोकतान्त्रिक विचार भएका पार्टीहरुले राजावादीहरुका लागि मात्र माग्छन् । कहाँ गयो पार्टीको लाइन, विचार, सिद्धान्त, झण्डा ? त्यसैले यो स्वार्थको गठबन्धन हो । यदि त्यस्तो होइन भने गठबन्धन बनाउने दलहरु एउटै पार्टी बनाओस् र एउटै झण्डामुनी, एउटा चुनाव चिन्हमा चुनाव लडोस् नत्र यो प्रतिगमनको नाममा जनतालाई तर्साउने काम बन्द गरियोस् ।

वामपन्थी विचार भएका दलहरु एउटा गठबन्धन बनाउनु वैचारिक हिसाबले ठिक छ । प्रजातान्त्रिक अथवा लोकतान्त्रिक विचार भएका दलहरु बीच एउटा गठबन्धन बन्नुसम्म ठिक छ । राजवादीहरु अर्थात पंचायति व्यवस्थालाई मान्ने दलहरु मिलेर एउटा गठबन्धन बनाउनु ठिक छ तर व्यक्तिगत स्वार्थका आधारमा कम्युनिष्ट काँग्रेससँग मिल्नु भनेको वैचारिक स्खलन हो । देशमा दलहरुको औचित्य सकि सकेको भन्दा पनि हुन्छ ।

तपाईको प्रतिक्रिया