लोसपा अर्थात यसअघिका तमलोपा, राजपाको इतिहास हेर्ने हो भने जहिले पनि मधेशको अधिकार र पहिचानका लागि लडेको पार्टी हो । जुनसुकै दलसँग मधेशको अधिकार र पहिचानका लागि संघर्ष गरेको हो ।
–जितेन्द्र सोनल
–कार्यकारिणी सदस्य एवं मधेश प्रदेश अध्यक्ष, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
चुनावी तालमेलका लागि लोकतान्त्रिक पार्टी नेपालले एमालेसँग वार्ता सुरु गरेको छ । त्यही एमाले जसको मधेशसँग ३६ को आँकडा थियो र छ पनि । तैपनि लोसपाले यो रिश्क लिइरहेको छ । मधेस आन्दोलनताका लोसपाका नेताले नै एमालेमुक्त मधेश बनाउने घोषणा गरेका थिए तर २०७४ मा केपी ओली नेतृत्वमा बनेको सरकारसँग लोसपा (तत्कालिन राजपा) सम्बन्धमा अचानक सुधार आयो । र, सुधारसँगै दुई दलबीच दोस्ती पनि भयो । राष्ट्रिय सभा चुनावदेखि लिएर स्थानीय तहको चुनावमा दुई दलबीच सहकार्य भयो । मंसिर ४ गतेको चुनावका लागि गठबन्धन बनाउने नै प्रयास भइरहेको छ । प्रस्तुत छ, लोसपा–एमाले सम्बन्ध, एमाले–मधेशबीच सम्बन्धलगायतका विषयमा लोसपाका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलसँग गरिएको कुराकानीका संम्पादीत अंशः
मधेशमा एमालेको यति विरोध हुँदाहुँदै पनि लोसपाले किन चुनावी गठबन्धन बनाउन रिश्क लिन खोज्यो हो ?
–यो चुनावको समय हो । नेपालमा पहिलो पटक यो खालको गठबन्धनको राजनीतिक सुरु भएको छ । सबै दलले चुनाव जित्नका लागि चुनावी तालमेलको कसरतमा छन् । सोही अनुरुप लोसपाले पनि प्रयास गरिरहेको छ । लोसपाले एमालेसँग मात्र होइन विचार मिल्ने अन्य दलसँग पनि चुनावी तालमेल गर्ने भनेको छ ।
जहाँसम्म मधेशमा एमालेको कुरा भन्नुभयो, एक कालखण्ड थियो, त्यतिबेला एमालेको विरोध भएको थियो । त्यसरी अन्य पार्टीहरुको पनि बेलाबेलामा विरोध हुने गरेको छ । तर पछिल्लो समय एमाले मधेशप्रति सकारात्मक भएको छ । त्यही सकारात्मकताका कारण हाम्रो कुरा मिल्न गइरहेको छ । सबै दलको आआफ्नो राजनीतिक दाउपेच हुन्छ । मधेशका लागि एमाले मात्र होइन, कुनै पनि दल सकारात्मक छैन । एमालेले नागरिकताको समस्या अध्यादेशमार्फत समाधान गर्दा यही पाँच दलीय गठबन्धनमा रहेका दलहरुले त्यसको विरोध गरेर खारिज गर्न लगाएको होइन ? संविधान संशोधनका लागि पनि एमाले तयार भएको थियो ।
त्यसको लागि अध्ययन गर्न एमालेले कार्यदल पनि गठन गरेको थियो । तर त्यही पाँच दलका कारण कार्यदल विघटन भयो । एमाले नेतत्वको सरकारले मधेश आन्दोलनका क्रममा लागेका केही मुद्दा फिर्ता लियो । यी काम काँग्रेस र माओवादीले कहिले गर्न चाहेनन् । मधेशमा एमालेको जति विरोध भएपनि केही गर्ने आँट उसैले गरेको हो ।
यो गठबन्धनको सरकार बनेको यत्रो दिन भइसक्यो त्यो सरकारमा उपेन्द्र यादवजीको पार्टी पनि रहेको छ तर हालसम्म त्यसको बारेमा कुरा पनि उठ्दैन किन ? अहिले त यो सरकारले जे गर्न चाह्यो त्यही हुन्छ नि किन गरेको छैन । हामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पटक पटक ध्यानाकर्षण गराएका छौं तर मधेशको माग पुरा गर्ने इच्छा उहाँले देखाउनु भएको छैन तर एमाले जे जस्तो भएपनि हाम्रो कुरा सुन्न त तयार भयो । त्यसैले मधेशको माग जसले पुरा गर्छ उसको साथमा लोसपा हुन्छ ।
नागरिकताको समस्या समाधान गर्न तयार भएको एमाले फेरि अहिले त्यही नागरिकता विधेयक पास किन हुन दिरहेको छैन त ?
–तपाईले यो प्रश्न किन गर्नु भएन कि एमालेले अध्यादेशमार्फत नागरिकता ऐन संशोधन गरेर समस्या समधान गर्न खोज्दा पाँच दलले त्यसको विरोध गरेर किन खारेज गर्न लगायो । यो गल्ती त काँग्रेस, माओवादी, नकेपा एकीकृत समाजवादी, जसपाले पनि गरेका हुन नि त । पहिला ती दलहरुले गरे, आज एमालेले गरिरहेको छ ।
यी दलहरुको सबै मिलिभगत हो । एक पटक एउटाले विरोध गर्ने, अर्कोपटक अर्कोले विरोध गर्ने । २०६५ सालदेखि यही हुँदै आइरहेको छ । यो कुनै नयाँ कुरा होइन । तर लोसपा नागरिकता विधेयक पारित गराउने पक्षमा छ । हामीले एमाले र काँग्रेस, माओवादीलाई आग्रह गर्छौ कि तपाईहरु मिलेर यसको समाधान गर्नु होस् । नागरिकताविहिन नागरिकलाई अझ पिडा नदिनुस् ।
तपाईहरु चुनावी तालेमलका लागि एमालेसँग वार्ता सुरु गर्नुभएको छ । यो नागरिकतालगायतका विषयमा कुराकानी हुन्छ कि हुँदैन ?
–अहिले हाम्रो छलफल र वार्ता चुनावी तालमेल केन्द्रीत हो । चुनावी एजेण्डामा मात्र हुन्छ अहिलेको वर्ता । तर हामी यस विषयमा पनि छलफल गर्र्छौ । चुनावी तालमेल भएपछि एकसाथ हामी चुनाव गयौं भने अगामी दिनमा यस्ता विषयमा एमालेसँग गम्भीर रुपमा छलफल हुन्छ । तर अहिले हामी चुनाव केन्द्रीत विषयमा मात्र कुरा गर्छौ । चुनाव जितेर आएपछि एमालेसँग मात्र होइन, काँग्रेस, माओवादीलगायत अन्य दलसँग पनि हामीले कुरा गर्छौ ।
लोसपा अर्थात यसअघिका तमलोपा, राजपाको इतिहास हेर्ने हो भने जहिले पनि मधेशको अधिकार र पहिचानका लागि लडेको पार्टी हो । जुनसुकै दलसँग मधेशको अधिकार र पहिचानका लागि संघर्ष गरेको हो । अहिले पनि यो नागरिकता विधेयक संसदबाट पारित गराउन बाध्य पार्ने लोसपा नै हो । लगातार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर दवाव दिएको कारण यो विधेयक संसदबाट पास भएको हो । यो सिर्फ लोसपालाई मात्र जस जान्छ ।
–तपाईहरु एकातिर एमालेसँग गठबन्धन गर्ने तयारीमा हुनुहुन्छ, अर्कोतिर तपाईहरुकै पार्टीबाट धमाधम नेताहरु एमालेमा प्रवेश गरिरहनु भएको छ, यो कस्तो गठबन्धन हुन गइरहेको छ ?
–लोकतन्त्रमा आफ्नो निर्णय गर्ने अधिकार सबैको आआफ्नो हुन्छ । त्यसमा कसैले कसैलाई रोकेर वा छोकेर केही हुँदैन । सबै स्वतन्त्र छन् । पार्टीबाट कोही जान्छन् भने पार्टीमा कहीबाट आउँछन् पनि आउने जाने भइरहन्छन् । यो ठूलो कुरा होइन । सत्ता गठबन्धनमा पाँचवटा दल छन् । ती दलहरुबाट नेताहरु निस्केर एक अर्काको दलमा गइरहेका हुन्छन् ।
त्यसैले कुनै मान्छेलाई कसैले रोक्न सक्दैन । आउनेलाई रोक्न सकिन्छ तर जानेलाई कसैले रोक्न सक्दैन । हाम्रो पार्टीमा पनि एमालेबाट नेता तथा कार्यकर्ताहरु आइरहेका छन् । चुनावको समयमा यताबाट उता, उताबाट यता भइरहन्छन् । चुनाव सकेपछि यो यताउतीको खेल सकिन्छ ।
मधेशमा एमालेप्रति किन आकर्षण बढेको हो त ?
–एमालेको काम देखेर । मधेशप्रतिको सोचाई देखेर । यत्रो वर्ष भयो तर काँग्रेस, माओवादीले मधेशको लागि एउटा सिन्कोसम्म भाँच्न सकेन तर एमाले नै यस्तो पार्टी हो जो मधेशको माग पुरा गर्न तयार भयो र केही पुरा पनि भयो । जुन प्रकृयाबाट कामहरु सुरु भएको थियो, यदि केपी शर्मा ओली नेतृत्वको सरकार अहिलेसम्म भएको भए मधेशका सबै माग पुरा भइसकेको हुन्थ्यो ।
उपेन्द्र यादवको पार्टी त एक वर्षदेखि सरकारमा रहेको छ, संविधान संशोधनका लागि एउटा कार्यदल पनि किन गठन गराउन सक्नु भएन । काँग्रेस–माओवादी र एमालेमा यही फरक छ । एमालेले मधेशको विरोध गरेपनि उसले त्यसलाई सुधार गर्न चाहेको पनि हो । मधेशको माग पुरा गर्न चाहेको हो । यो कुरा भन्न मलाई कुनै हिचकिचाहट छैन । त्यही भएर अहिले मधेशमा एमालेप्रति आकर्षण बढेको हो जस्तो लाग्छ ।
भनिन्छ, अहिले पनि लोसपाले काँग्रेसको प्रतिक्षामा छ कि उसले पाँच दलीय गठबन्धनमा सहभागी गराउँछ, के यो सही हो ?
–हामीले काँग्रेसको प्रतिक्षा धेरै गर्यौं । गठबन्धनमा आज सामेल गराउँछौ, भोली गराउँछौं भनि रह्यो तर केही गर्न सकेन । लोसपा त्यसरी अर्काको मुख ताकेर बस्ने पार्टी होइन । हामीले काँग्रेससँग कुरा गरेर पाँच दलीय गबन्धनमा सहभागी हुन चाहेका थियौं । त्यस अनुसारको छलफल पनि भएको हो तर काँग्रेसले सकेन । अनि बाध्य भएर हामी अर्को विकल्पमा गयौं । त्यो च्याप्टर अब क्लोज भयो ।
जसपासँग गठबन्धनको सम्भावना कति छ ?
–राजनीतिमा हरेक कुराको सम्भावना हुन्छ । तर कतिपय कुरा यथार्थ र तथ्यमा पनि जानुपर्ने हुन्छ । उपेन्द्र यादवले मधेशसँग जस्तो व्यवहार गर्नुभयो । मधेशी जनतासँग जुन प्रतिवद्धता गरेर उहाँले मत लिनुभयो, त्यसका अपमान उपेन्द्र यादवले गर्नु भएको छ ।
मधेश सरकार बनाउँछौं भनि मधेशी जनतासँग मत माग्नु भयो तर जसको नाम लिएर मत माग्नु भयो उसलाई सरकारबाट हटाएर काँग्रेस, माओवादी र नेकपा (एस) लाई सामेल गराउनु भयो । यसको समिक्षा हुनु अनिवार्य छ । उपेन्द्र यादवसँग चुनावी गठबन्धनको कुरा गर्नुभन्दा पहिले यसको समिक्षा हुनुपर्छ अनि मात्र कुरा अगाडी बढ्छ ।


तपाईको प्रतिक्रिया