Khadya Bibhag

मधेशमा एमाले बारे भ्रम छर्ने काम भइरहेको छ

–रामअवतार यादव
–अध्यक्ष, एमाले मधेश प्रदेश समिति

मधेशमा एमालेप्रति आकर्षण बढेको छ । दिनका दिन एमालेमा प्रवेश भइरहेको छ । एमालेले मधेशलाई नै टार्गेट गरेको छ । मधेशमा मात्र स्थानीय चुनावपछि ५० हजारभन्दा बढी व्यक्ति प्रवेश गरेको एमालेले दावी गरेको छ । अर्कोतिर मधेशमा एमालेको विरोध पनि भइरहेको छ । अकातिर प्रवेशको लहर पनि चलेको छ । यो कसरी सम्भव भइरहेको छ । यिनै विषयमा एमाले मधेश प्रदेश समितिका अध्यक्ष रामअवतार यादवसँग सहारा टाइम्सले गरेको छोटो कुराकानीको अंशः

मधेशमा एमालेलाई भ्याइ न भ्याइ छ के जादु गर्नुभयो ?
–यो कुनै जादु होइन । सबै कुरा आँखा अगाडी नै भइरहेका छन् । मधेशको जनता, मधेशको नेता सही पार्टी पहिचान गरेका छन् । मधेशका जनताले बुझि सकेका छन् कि हाम्रो कल्याण एमाले पार्टीले मात्र गर्न सक्छ, अरु दलले गर्न सक्दैनन् । हाम्रो अध्यक्ष केपी अ‍ोलीको नेतृत्वको सरकारको समय मधेशमा जुन विकासका कामहरु सुरु भयो ।

त्यो कुराको कल्पनासम्म अन्य दलले गरेको छैन । ओली नेतृत्वको पालामा मधेशको मुहार नै फेर्ने प्रयास भएको थियो । कतिपय कामहरु भए पनि । कतिपय काम अहिलेका सरकारले रोक्यो पनि । केपी शर्मा ओलीसँग मधेशको विकास गर्ने जुन भिजन र मिसन छ । त्यो अरु दलका नेतामा छैन । केपी अ‍ोलीसँग मधेशमा विकास गर्ने एजेण्डा, भिजन र मिसन भएकै कारण एमालेप्रति आकर्षण बढेको हो । यसमा कुनै जादु सादु छैन ।

एक समय त एमाले मुक्त मधेश थियो नि होइन ?
–राजनीतिमा यी सब भइरहने कुरा हो । कहिले काही जीवनमा अपत्यारो घटना भइ दिन्छ नि एमालेको राजनीतिक जीवनमा पनि त्यस्तै घटना भएको थियो । त्यतिबेला मधेशमा एमालेप्रति घृणा फैलाउने काम सुनियोजित रुपमा भएको थियो । एमालेले ढिलो चाँडो त्यसलाई चिर्ने काम गर्यो र आज एमाले एक नम्बर पोजिसनमा पुगेको छ मधेशमा ।

मधेशीलाई काले भन्ने, मानव साँग्लोलाई माखे साँग्लो भन्ने, अधिकार लिने हो भने युपी विहार जाउ, मधेश आन्दोलनमा जनताले सहादत दिँदा एक दुईटा आँप झरेको भन्ने, संविधान संशोधन गर्न नमान्ने, नागरिकता विधेयक पारित हुन नदिने, एमालेका नेताहरुले भन्नु भएका यी सब कुरा भ्रम नै हो त ?
–हो, अधिकाँश कुरा एमालेमाथि लगाएको आरोप नै हो । माखो साँग्लो, काले, आँपको कुराहरु एमालेका कुनै पनि नेताहरुले भन्नु भएको छैन । यी कुराको प्रष्टीकरण हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा अ‍ोलीले पटक पटक दिनु भएको छ । संविधान संशोधन, नागरिकता विधेयकमा एमालेको केही रिजर्वेशन होला ।

केही कुरामा उसको असहमति होला तर मधेशीलाई होच्याउन, घोच्याउने काम एमालेबाट पटकै भएको छैन । यदि त्यस्तो भएको भए गत स्थानीय चुनावमा मधेशको जनताले एमालेलाई पत्याउने थिएन । अहिले मधेशका जनताले एमालेप्रति जुन माया देखाएको छ त्यो हुने थिएन । आखिर ती सबै कुरा सुनियोजित रुपमा आएका थिए भने कुरा आज पुष्टि भएको छ । ती सबै कुरा गलत थिए भन्ने कुराको मधेशी जनताले अहिले आफै भनिरहेका छन् । अर्को कुरा, मधेशका माग पुरा गराउन त्यही एमाले सबभन्दा अगाडी सरेको हो । मधेश आन्दोलनको क्रममा लागेको मुद्दा फिर्ता लिने पहिलो सरकार एमाले नेतृत्वको थियो ।

रेशम चौधरीलाई जेलबाट निकाल्ने पहल एमाले नेतृत्वको सरकारले गरेको थियो । संविधान संशोधनका लागि कार्यदल गठन गर्नेसम्मको काम त्यही सरकारले गरेको थियो । नागरिकता ऐन अध्यादेशमार्फत संशोधन गर्ने काम एमाले नेतृत्वको सरकारले गरेको थियो । मधेशका लागि यतिका काम अहिलेसम्म कुन दलले गरेका छन् तपाई नै भन्नुस् । मधेश र मधेशी जनताले सबै कुरा थाह पाएर नै एमालेलाई साथ दिने निर्णयमा पुगेको हो ।

नागरिकता ऐन संशोधनका लागि अध्यादेश ल्याउन सक्ने एमाले अहिले त्यही नागरिकता विधेयकलाई किन विरोध गरिरहेको छ त ?
–सत्ताधारी गठबन्धनको रवैया ठिक भएन । एमालेले नागरिकता सम्बन्धी अध्यादेश ल्याउँदा यिनै गठबन्धनले त्यसको विरोध गरेर त्यसलाई खारेज गराएको हो नि । गठबन्धनले अहिले नागरिकता विधेयक जवर्जस्ती पास गराउन खोज्यो । संसदमा कुनै छलफल नै हुन दिएन । प्रतिपक्षि दल एमालेसँग कुनै छलफल नै गरेन । फास्टट्रयाबाट त्यसलाई पारित गराउन खोज्यो त्यसमा एमालेले विरोध गरेको छ । अहिले पनि एमालेले भनेको छ कि जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनुपर्छ । नागरिकताबाट कोही पनि बञ्चित हुनुहुँदैन । देशमा नागरिकताको समस्या समाधान हुनुपर्छ भने पक्षमा एमाले रहेको छ ।

एमालेमा एक लाख भन्दा बढी मान्छे प्रवेश गरे, तर उनीहरुलाई पार्टीले व्यवस्थापन गर्न सकिरहेको छैन भनि गुनासोहरु आइरहेका छन् । व्यवस्थापन गर्न गाह्रो नै भएको हो त ?
–छैन कुनै गाह्रो छैन । अरु ठाउँमा, केन्द्रमा के भइरहेको छ मलाई थाह छैन तर मधेश प्रदेशमा कुनै समस्या छैन । एक लाखमध्ये ५० हजारभन्दा बढी व्यक्ति मधेश प्रदेशबाट नै एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई व्यवस्थापन गर्न कुनै समस्या छैन । मधेश प्रदेशमा प्रवेश गरेका कतिपय नेता केन्द्रीय समिति वा त्यहाँका विभिन्न समितिमा जान चाहेका छन् ।

उनीहरुलाई पार्टीले कसरी व्यवस्थापन गरिरहेका छन् त्यो केन्द्रले नै भन्ने कुरा हो तर मधेश प्रदेश प्रदेशमा बस्न चाहेकोको व्यवस्थापन भइरहेको छ । अधिकाँशलाई प्रदेश समितिमा राखिएको छ । जिल्ला कमीटी बनिसकेको कारण त्यहाँ सबैलाई एडजस्ट गराउन गाह्रो भयो । त्यसैले त्यहाँ सल्लाहकार समिति बनाएर नेताहरुलाई व्यवस्थापन गर्ने कार्य भइरहेको छ । चुनाव लगतै जिल्लाको विशेष अधिवेशन गरेर नयाँ तथा पुरानालाई मिलाएर नयाँ कमिटी बनाउने काम हुन्छ । ढिलो चाँडो नव प्रवेशी सबैलाई पार्टीमा व्यवस्थापन गर्ने काम पार्टीले गर्छ ।

तपाईको प्रतिक्रिया