एक त उनले कामै गरेका छैनन्, जे काम गरेका छन् ती सबै ठाउँमा कमिशन लिएर मात्र गरेका छन् । यतिसम्म भएको छ कि उनले योजना दिएपछि काम हुनुभन्दा पहिला नै आफ्नो कमिशन लिने गरेका छन् । अहिले चुनावको समयमा सबै कुरा खुलिरहेका छन् ।
–राजलाल यादव
–सिरहा २ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार,-
जनता समाजवादी पार्टी नेपालबाट विद्रोह गरेर राजलाल यादवले हाम्रो नेपाल पार्टीबाट सिरहा २ (क) मा उम्मेदारी दिनुभएको छ । पहिलो संविधान सभा सदस्य चुनाव जितेका राजलाल यादव विना विभागीय मन्त्री पनि बन्नुभएको थियो । रेडक्रसको सभापतिदेखि लिएर गाविसको अध्यक्षसम्म भइसक्नु भएका उहाँको आफ्नो चुनावी क्षेत्र सिरहा १ रहेको छ तर उहाँले एकजना मधेश प्रदेशका मन्त्रीको विरुद्धमा उम्मेदवारी दिनु भएको छ । उहाँले त्यो मन्त्रीलाई जसरी पनि हराउनु पर्छ भनि हाँकाहाँकी मतदाता समक्ष पनि भनिरहनु भएको छ । प्रस्तुत छ, को हुनुहुन्छ त्यो मन्त्री जसलाई हराउन चाहनु भएको छ, किन हराउन चाहनु भएको छ, उहाँको चुनावी एजेण्डा के हो लगायतका विषयमा सिरहा २ (क) मा प्रदेश सभा सदस्यका लागि हाम्रो नेपाल पार्टीबाट उम्मेदवारी दिनुभएको राजलाल यादवसँग सहारा टाइम्सले गरेको कुराकानीको सम्पादीत अंशः
तपाईले राजनीतिबाट लगभग विश्राम लिइ सक्नु भएको थियो तर अहिले आएर प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिनुभयो किन ?
–हो मैले लगभग राजनीतिबाट विश्राम नै लिइ सकेका थिए । मेरो सोच अब सक्रिय राजनीति नगर्ने थियो । उमेर पनि भइ सकेको थियो, र यो फोहरी राजनीतिबाट दिक्क पनि भइसकेका थिए । एउटा कुनै पार्टीको आस्था र विचारसँग जोडिएर समाज सेवा गर्ने र गाउँमै बस्ने मेरो सोच थियो तर मधेशको राजनीति यति गिजोलियो कि त्यसमा नआइकन भएन भनेर नै म चुनावी राजनीतिकमा आएको हुँ । पार्टी र त्यसका नेतामा यस्तो विकृति आयो कि त्यसले पुरै समाजलाई समाप्त पार्न सक्छ । पार्टीहरुमा भ्रष्टहरुको हालीमुहाली भयो । मुद्दा र एजेण्डा बेचेर खाइ सके । जनतालाई मुर्ख बनाएर लुट्ने नेताहरु धेरै भइसके । त्यसैले यो बुढेसकालमा पनि म चुनावमा उठेको हुँ ।
तपाई त जसपाका नेता हुनुहुन्छ अनि यो स्वतन्त्र उम्मेदवारी किन ?
–मैले जसपा छाडि सकेको छु । पार्टीमा राजिनामा बुझाई सकेको छु । म अब जसपामा छैन । म अब सबैको हुन चाहन्छु । सबै जनताको नेता बन्न चाहन्छु । जसपा अब मधेशी जनताको पार्टी रहेन । त्यो पार्टी पनि ठूला बडा जमिन्दार र सुकिला मुकिलाको भएको छ । मधेशी जनअधिकार फोरम हुँदा मधेशी जनताको अधिकारको कुरा गथ्र्यो । मधेशको मुक्तिको लागि कुरा गथ्र्यो । मधेशी, आदिवासी जनजाति, मुस्लिम, पिछडिएको समुदायको कुरा गथ्र्यो । तर अब आफ्नो मुद्दा बिर्सेर कमाउ धन्दामा लागेको छ । काँग्रेस, माओवादी, एमालेको बाटोमा हिडेको छ । राज्य सत्ताको एउटा हिस्सा बनेको छ । त्यो पार्टीका नेताहरु अब सत्ता बिना बाँच्न सक्दैन जस्तो अवस्थामा पुगेका छन् । त्यही भएर त्यो पार्टी छाडेर म चुपचाप बसेका थिए तर चुनावमा यस्ता यस्ता भ्रष्ट उम्मेदवारहरु आए कि उनीहरु चुनाव जितेर आए भने मधेशलाई धमिराले जस्तो खान्छन् । मधेशलाई ती धमिराहरुबाट बचाउनका लागि मेरो उम्मेदवारी परेको हो ।
तपाई आफूलाई स्वतन्त्र उम्मेदवार भन्नुहुन्छ तर उम्मेदवारी त हाम्रो नेपाली पार्टीबाट दिनु भएको छ यस्तो किन ?
–हो म हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएको हुँ । लौरो चुनाव चिन्हका लागि सो पार्टीबाट उम्मेदवारी दिएको हुँ । तर म स्वतन्त्र उम्मेदवार हुँ सो पार्टीको ममाथि कुनै ह्वीप लाग्दैन । स्वतन्त्र उम्मेदवारकै जस्तो मैले क्रियाकलाप गर्न पाउँछु । हाम्रो नेपाल पार्टीसँग कागज बनाएको छु । म चुनाव जितेपछि ममाथि कुनै प्रकारको ह्वीप वा दवाव अथवा कुनै प्रकारको कारवाही चलाउन पाइने छैन भनि कागज गराएको छु । त्यसैले म आफूलाई स्वतन्त्र नै भन्छु ।
तपाई सिरहा क्षेत्र नम्बर १ का नेता हुनुहुन्छ तर उम्मेदवारी क्षेत्र नम्बर २ (क) बाट उम्मेदवारी दिनुभएको छ यही क्षेत्र किन रोज्नुभयो ?
–हो मेरो क्षेत्र सिरहा १ हो । म त्यहाँबाट पनि चुनाव लड्न सक्थे तर म जे मिसनमा चुनाव लडेको छु । त्यो मिसन पुरा गर्नका लागि यही क्षेत्र रोज्नुपर्ने अवस्था आयो । एक नेता यही क्षेत्रबाट उठेका छन् । उनी मन्त्री पनि हुन् । उसको विरुद्धमा मेरो उम्मेदवारी हो । त्यो मन्त्री भ्रष्ट छन् । सहिदलाई अपमान गरेका छन् । मधेशको नाममा लुटेका छन् । मधेशी जनताको बेहाल भएको छ तर ती नेताको खुसहाल भएको छ । त्यसलाई जनतालाई रुचाएको छैन त्यसको विकल्पमा म आएको हुँ ।
सबैको नाममा मैले स्कूल बनाएको छु । तर स्कूल बनाएर मात्र हुँदैन त्यहाँ राम्रो पढाई लेखाई होस् । त्यो विद्यालयमा साधन स्रोत पुगोस् तर राज्यबाट त्यस्तो भइरहेको छैन । केन्द्रीय सरकार त अलि टाढा छ मधेश सरकारले समेत सहिदको नाममा खोलिएका स्कूलको बारेमा केही गरेको छैन ।
को हुन् उनी खुलाई दिनु न ?
–सिरहा २ (क) मा प्रदेश सभा सदस्यमा एकजना मात्र उम्मेदवार बनेका छन् । तपाईले थाह पाइसक्नु भएको छ । मबाट त्यस्ता भ्रष्टको नाम खुलाउन नलगाउनु । उनी कति भ्रष्ट छन् भने कुरा पुरै मधेश प्रदेशमा चर्चाको विषय बनेको छ । सिरहा २ मा त बच्चा बच्चाले यो कुरा थाह पाइसकेका छन् । यो चुनावको क्रममा कसैले उनको नाम सुन्न चाहेका छैनन् । यसपाली त्यसलाई यहाँका जनताले पाखा लगाउनेछ ।
त्यो नेताको नाम भन्न किन डराउनु भएको छ ?
–म डराएको होइन । तर त्यस्तो भ्रष्टको नाम किन लिउ भनेर मात्र हो । तपाईलाई थाहै छ उनी हुन् सिरहा २ (क) मा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका विजय यादव । उनी मधेश प्रदेश सरकारका बहालबाला कृषि मन्त्री हुन् । त्यसअघि अर्थ मन्त्री थिए । तर मधेशको अवस्था कस्तो छ त्यो सबैसँग छर्लगैं छ । एक त उनले कामै गरेका छैनन्, जे काम गरेका छन् ती सबै ठाउँमा कमिशन लिएर मात्र गरेका छन् । यतिसम्म भएको छ कि उनले योजना दिएपछि काम हुनुभन्दा पहिला नै आफ्नो कमिशन लिने गरेका छन् । अहिले चुनावको समयमा सबै कुरा खुलिरहेका छन् । धेरैको गुनासो यही छन् । कृषिमा वितरण गरेका औजारहरुमा पनि कमिशन लिएको कुरा पनि बाहिर आइरहेको छ । अर्थ मन्त्री हुँदा पोखरी सौन्दर्यकरणमा भएको अनियमिताको बारेमा पनि कुराहरु बाहिर आइरहेका छन् । यसरी उनले गरेको भ्रष्टाचारको फेहरिस्त लिएर जनता बसेको छ । मधेश आन्दोलनमा सहिद भएका उनका परिवारका बारेमा उनले केही गरेका छैनन् । आन्दोलनका क्रममा थुप्रै घाइते भएका छन् उनीहरुको भरपोषणका लागि केही गरेका छैनन् । पाँच वर्ष लगातार मन्त्रीमा रहे तर जनताको हितमा कुनै महत्वपूर्ण काम गरेका छैनन् । अरु उसले आफ्नो सम्पत्ती जोडे । खजनपुर गएर उनको घर एकपटक हेर्नुस् । सुन्दैछु, काठमाडौँमा दुई–दुई ठाउँमा घर खरिद गरेका छन् । यी सब कहाँबाट आए, के उनको कुनै विजनेश व्यपार छ ? जनताले यी सबका कारण उनको विकल्प खोजेका छन् र म त्यही जनताको आग्रहमा त्यसको विरुद्धमा उम्मेदवारी दिएको छु ।
तपाई यी आरोपहरु लगाउनु भयो यसको कुनै प्रमाण छ तपाईसँग ?
–प्रमाणका लागि फिल्डमा जानुपर्छ । तपाई मसँग हिड्नुस् उनले जहाँ जहाँ काम गराएका छन् । जहाँ जहाँ विकास योजना दिएका छन् ती व्यक्तिहरुलाई भेट्नुस् सबै कुरा आफै थाह पाइहाल्नु हुन्छ । उनले रकम लिइसकेका छन् तर काम भएको छैन । जसले त्यसमा लगानी गरेको छ त्यसको रकम उठेको छैन । उनी पिडित भएका छन् । त्यस्ता पिडितहरुलाई भेट्नुस् प्रमाण आफै पाइहाल्नु हुन्छ । जहाँ जहाँ पोखरी सौन्दर्यकरणमा रकम लगानी गरेका छन् ती पोखरीमा जानुस् सबै कुरा छर्लङ्ग हुन्छ । तपाई पत्रकार हुनुहुन्छ । उनको मन्त्रालयमा गएर उनले गरेको कामको रेकर्ड लिनुस् त्यसको अध्ययन गर्नुस् सबै प्रमाण त्यही पाउनु हुन्छ । त्यति मात्र होइन, जब मधेश प्रदेश उनको जिम्मा दियो प्रदेशमा जसपा कमजोर भयो । सिरहालाई उनले नै समाप्त गरेका छन् । अहिले एकजना नेता पनि जित्ने अवस्थामा छैन किन ? विजय यादवकै कारणले भएको हो । सिरहामा जसपा (फोरम) सबभन्दा बलियो थियो । मधेशका सबैभन्दा राम्रो संगठन सिरहामा थियो तर अहिले मधेश प्रदेशमा सबभन्दा कमजोरमा सिरहा परेको छ । यो पनि विजय यादवका कारणले भएको हो ।
तपाई पार्टीमा हुँदाखेरी नै यी सब काम भएका छन् भने तपाईले यो कुरा पार्टीमा किन उठाउनु भएन ?
–मैले यो कुरा पटक पटक पार्टीका अध्यक्ष उपेन्द्र यादवसमक्ष राखेको छु । एक दुई पटक त विजय यादवलाई नै राखेर कुरा राखेको छु । विजय यादवको कारण मधेश बर्बाद हुँदैछ, जे भयो भयो अब सुधार गर्नुपर्छ भनेको थिए । विजय यादवले त्यतिबेला अब सबै कुरा सुधार गर्छु भनेका थिए । तर अवस्था जस्ताको त्यस्तै रह्यो । यति मात्र होइन, मैले विजय यादवको बुवा फुलेश्वर यादव सरलाई भेटेर पनि यी कुरा राखेको छु । फुलेश्वर सरसँग भेट्दा विजय यादवलाई पनि राखेका थिए । त्यहाँ पनि उनले आफ्नो कमी कमजोरी सुधार गर्ने भनेका थिए तर अवस्था जस्तो त्यस्तै रह्यो । अहिले त्यसैको नतिजा हो चुनावमा उनको ग्राफ धेरै तल झरी सकेको छ ।
तपाई त विजय यादवमाथि यस्तो आरोप लगाउनु भयो तर तपाईले पनि मधेशी सहिदको नाममा संस्था खोलेर भ्रष्टाचार गर्नुभएको आरोप छ नि ?
–तपाईसँग यसको कुनै प्रमाण छ ? जसले यस्तो आरोप लगाएका छन् त्यसलाई म चुनौती दिन चाहन्छु कि त्यसको प्रमाणित गर्नुस् । यदि प्रमाणित गरे भने म जस्तो सुकै सजाय भोग्न तयार छु । आरोपका लागि मात्र आरोप लगाएर हुँदैन । त्यसको आधार हुनुपर्छ । मधेशी सहिदको नाममा मैले जति पनि काम गरेको छु । त्यो सबै पारदर्शी छ । किताब बनाएर नै मैले ती सबै सार्वजनिक गरेको छु । सबै हिसाब किताब सार्वजनिक गरेको छु । अर्को कुरा, भ्रष्टाचार त्यहाँ हुन्छ जहाँ रकमको कारोबार भएको होस् । मैले सहिदको नाममा वजेट नै चलाएको छैन । कहीं कतैबाट कुनै सहयोग आएको छैन । मधेश सहिदको नाममा काम गर्ने भनि मधेश प्रदेश सरकारले पटक पटक आश्वासन दिएको थियो तर कहिले केही गरेन् । त्यसैले कसैले ममाथि यस्तो आरोप लगाएका छन् त्यो सरासर गलत हो । बदनाम गराउने उद्देश्यले यस्तो गरेको हो ।
मधेशी सहिदको नाममा मैले जति पनि काम गरेको छु । त्यो सबै पारदर्शी छ । किताब बनाएर नै मैले ती सबै सार्वजनिक गरेको छु । सबै हिसाब किताब सार्वजनिक गरेको छु ।
तपाईले नै मधेशी सहिदको नाममा के के गर्नुभएको छ त ?
–मधेश आन्दोलनको क्रममा सहिद भएका परिवारका लागि मैले जति गरेको छु त्यति कसैले गरेका छैनन् भनि मेरो दावी हो । सहिदको नाममा मलाई धेरै काम गर्ने इच्छा छ तर मसँग साधन स्रोत नै छैन । सिरहामा जतिजना सहिद भएका छन् । सबैको नाममा मैले स्कूल बनाएको छु । तर स्कूल बनाएर मात्र हुँदैन त्यहाँ राम्रो पढाई लेखाई होस् । त्यो विद्यालयमा साधन स्रोत पुगोस् तर राज्यबाट त्यस्तो भइरहेको छैन । केन्द्रीय सरकार त अलि टाढा छ मधेश सरकारले समेत सहिदको नाममा खोलिएका स्कूलको बारेमा केही गरेको छैन । सहिदको नाममा विभिन्न ठाउँमा सहिद गेट बनाएको छु । सहिद परिवारका सदस्यलाई सम्मान गरेको छु । मसँग साधन स्रोत नभए पनि अहिले पनि सहिद परिवारका सदस्यलाई बेलाबेलामा भेट्न गइरहेको हुन्छु तर जोसँग साधन स्रोत छ उसले आफ्नो बाहेक अरु कसैका लािग केही गरेका छैनन् ।
तपाई स्वतन्त्र उम्मेदवारी दिनुभएको छ, तपाईलाई जनताले किन मत दिन्छन् त ?
–म जनताका लागि जन्मेको नेता हुँ । म ग्रासरुटमा काम गर्छु । जतिखेर पनि जनताकै बीचमा हुन्छु । जनतालाई आइपर्ने हरेक पीरमर्कामा सहयोग पुर्याई रहेको हुन्छु । दुखसुखमा साथ दिइरहेको हुन्छु । मधेश आन्दोलनमा सहिद भएका परिवार तथा घाइतेको समस्या बारे अवाज उठाई रहेको हुन्छु । नागरिकता समस्यादेखि लिएर शिक्षा, स्वास्थ्यमा देखिएको समस्याको बारेमा कुरा उठाई रहेको हुन्छु । म जनतालाई आजसम्म कुनै सपना बाँडेको छैन । काम गराए वापत कुनै कसैसँग एक रुपियाँ लिएको छैन । यदि कसैसँग लिएको छु भने भनोस् । म जति काम गरेको छु जनताको सामुनेमा गरेको छु । पारदर्शी गरेको छु । ममाथि आजसम्म कसैले औला उठाएका छैनन् । त्यसैले जनताले मलाई मतदान गर्नेमा म विश्वस्त छु ।
काम त तपाई आफ्नो क्षेत्रमा गर्नुभएको छ, तपाईको लागि यो नयाँ क्षेत्र हो अनि कसरी मत पाउनु हुन्छ ?
–होइन, म आफ्नो क्षेत्रका लागि मात्र होइन समग्र सिरहा जिल्लाका लागि काम गरेको छु । सबै सहिदका लागि काम गरेको छु । सबै मधेशीको हितमा काम गरेको छु । सिरहा २ नम्बरमा पनि काम गरेको छु । यहाँका हरेक मतदातासँग म परिचित छु । म यहाँ आइ रहने व्यक्ति हुँ । सिरहा २ (क) का मतदाता मबाट अनभिज्ञ छैनन् । राजलाल यादव को हुन् भनि सायद कसैलाई अन्योल छैन । म घरदैलोमा जाँदा मलाई कोही नयाँ लागेन । मलाई नौलो पनि महसुस भएन । सबै आफ्नै जस्तो लाग्यो । जहाँ गए सबैको माया पाए । सबैको सत्कार पाए ।
भनिन्छ, राजलाल यादवलाई विजय यादवले अन्तिम समयमा आएर जसरी पनि मिलाउनु हुन्छ र त्यो सम्भावना पनि छ तपाईले के भन्नुहुन्छ ?
–त्यो सम्भव नै छैन । जसको विरुद्धमा मैले उम्मेदवारी दिए फेरि म उसैसँग मिल्छु भनि कल्पनाबाहिरको कुरा हो । उनी (विजय यादव) हरुले नै यस्तो हल्ला फिजाईएका हुन् । राजलाल यादवलाई जसले चिनेका छन्, जसले जानेका छन् त्यसले यसको बारेमा कल्पना समेत गर्न सक्दैन । राजलाल यादव समाप्त हुन्छ तर जे ठानेका हुन्छ त्यो गरेर छाड्छन् । मतदान हुने दिन अब धेरै दिन बाँकी छैन । त्यस्तो भयो भने तपाईले पनि जानकारी पाउनु हुन्छ होला । मलाई फोन गर्नु होला । म राजनीतिमा अनुशासन, इमान्दारीता, लगनशिलताका कारण टिकेको हुँ । यदि त्यो पनि नभएको भए म पनि अरु जस्तै यतिखेरसम्म समाप्त भइसकेका हुन्थे । तर मेरो इमान्दारीता र अनुशासनलाई मलाई जोगाएको छ ।


तपाईको प्रतिक्रिया