मंसिर ४ गते सम्पन्न भएको चुनावबाट महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्नबाट बन्चित भएपछि सो पार्टीमा नेतृत्व परिवर्तनको चर्चा सुरु भएको छ ।
महन्थ ठाकुरले पार्टीलाई राम्रोसँग सञ्चालन गर्न सक्नुभएन । लोसपा बनेको एक वर्ष बित्दा पनि संगठन निर्माण गर्न सक्नु भएन । पार्टीभित्र जिम्मेवारी बाँडफाँट गर्न सक्नु भएन जस्ता आरोप लगाएर अब सो पार्टीको नेतृत्व नै परिवर्तन गर्ने हो कि भनि पार्टी कार्यालय र त्यसबाहिर खासखुस सुरु भएको छ ।
महन्थ ठाकुर उमेरले पनि डाँडा काटिसक्नु भएको छ । उमेरका कारण पनि उहाँ सक्रिय हुन सकिरहनु भएको छैन । चुनावको समयमा उहाँ स्वयंले पनि आफ्नो यो अन्तिम चुनाव हो भन्नुभएको थियो । यी सबै कुराले गर्दा महन्थ ठाकुरलाई पार्टीमा अभिभावकको भूमिकामा राखेर अरु कसैलाई कार्यकारी भूमिका दिएर लोसपालाई चलायमान बनाउने हो कि भनि अनौपचारिक सरसल्लाह भइरहेको छ ।
सर्लाही–२ बाट चुनाव हार्नुभएका लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले अध्यक्ष ठाकुरको विकल्प खोजि रहनु भएको छ । पार्टी क्रियाशिल नभएको, संगठित नभएको कारण आफू चुनाव हारेको नेता महतोको बुझाई रहेको छ । उहाँले आफ्ना निकट नेताहरुसँग अब लोसपा यही तरिकाले चल्न सक्दैन ।
यहीं तरिकाले पार्टी चल्यो भने आफू त्यहाँ नरहन पनि सक्छु भन्ने कुराको संकेत पनि दिइसक्नु भएको छ । बाहिर बाहिर उहाँले आफ्ना पुराना सद्भावना पार्टीका नेताहरुसँग लोसपाको विकल्पमा कुरा पनि गर्न थाल्नु भएको छ । त्यो कुराको छनक लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि पाइसक्नु भएको छ ।
अध्यक्ष ठाकुर निकट नेताहरुले बरु राजेन्द्र महतो पार्टी छाडेर जाओस् तर अहिले नै ठाकुरलाई कार्यकारीबाट हटाउन नसकिने तर्क गरिरहनु भएको छ । अध्यक्ष ठाकुर अझै पनि पाँच–दश वर्ष पार्टी चलाउने अवस्थामा रहनु भएको ती नेताहरुको दावी छ ।
तर राजेन्द्र महतो निकटका नेताहरुले अध्यक्ष ठाकुरको विकल्प खोज्ने बेला भइसकेको बताइरहनु भएको छ । महन्थ ठाकुरलाई पार्टीबाट बाहिर राख्ने होइन, उहाँलाई पनि सम्मानपूर्वक अभिभावक जस्तो पार्टीमा राख्ने तर कार्यकारी भूमिकामा अरु कसैलाई जिम्मेवारी दिन सकिने तर्क भइरहेको छ ।
त्यसका लागि राजेन्द्र महतो पनि तयार हुनुहुन्छ । नेता राजेन्द्र महतोले अध्यक्ष महन्थ ठाकुरपछिको नेता आफूलाई मानिरहनु भएको छ तर सो पाटीमा उहाँको केही चलिरहेको छैन । अध्यक्ष ठाकुरलाई राखेर नै उहाँ सो पार्टीमा कार्यकारीको भूमिकामा आउन चाहनु भएको छ तर ठाकुर निकट नेताहरुले अहिले त्यस्तो अवस्था सृजना नभएको भन्दै आउनु भएको छ ।
तपाईको प्रतिक्रिया