सरकारबाट विदाई लिँदा लिँदै (फरकमत)

–शैलेन्द्र साह
विभिन्न कालखण्डमा भएका जनआन्दोलन र विद्रोहहरूबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाअनुरूप देशमा शासकीय स्वरूप एवम् संरचना निर्धारण भयो । जसअनुसार सातवटा प्रदेशमध्ये मधेस प्रदेश सरकारमा मन्त्रीका रूपमा पूर्ण अवधिसम्म काम गर्ने अवसर पाएँ ।

सार्वभौम जनताका प्रतिनिधिबाट लेखन भएको संविधानअन्तर्गत एउटा प्रदेशको शासन सत्तामा साझेदारी गर्ने ऐतिहासिक, अपूर्व र अतुल्य क्षण निश्चित नै मेरा लागि गौरवपूर्ण थियो । यसका लागि अघिल्लो प्रदेशसभामा मतादेश दिनुभएका सप्तरीवासी, प्रदेशवासी, राजनीतिक नेतृत्व, सहकर्मीहरू सबैप्रति आभार व्यक्त गर्दछु । मन्त्रीका रूपमा मैले फरक–फरक अवधिमा दुईटा महत्वपूर्ण मन्त्रालय सम्भाले ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रूपमा मधेस प्रदेश सरकारमा मेरो सहभागिता आरम्भ भएको थियो र कार्यकालको अन्तिम वर्षमा अर्थमन्त्रीसमेत भए । अर्थात् सरकार सञ्चालनमा मेरो भूमिकालाई थप सशक्त बनाई मेरो राजनीतिक समझ र कार्यशैलीलाई अनुमोदन गरिदिनुभएकोमा पार्टी नेतृत्व र तत्कालीन मुख्यमन्त्री लालबाबु राउतजीलाई समेत धन्यवाद दिन चाहन्छु ।

नेपालका सन्दर्भमा प्रादेशिक शासकीय व्यवस्थाको अभ्यास अत्यन्त नौलो र कष्टसाध्य रह्यो । साधनस्रोत र जनशक्ति व्यवस्थापनसँगै विभिन्न तहका निकाय, संस्था र संयन्त्र गठन गरी अघि बढ्नुपर्ने बेलामा कानुनी अस्पस्टता र जटिलता ठूलो चुनौती नै बन्न पुग्यो ।

त्यसका बाबजुद पनि हामीले मधेस प्रदेश सरकारलाई एउटा सक्षम, सुदृढ र गतिशील शासकीय निकायमा रूपान्तरित गर्न सक्षम भएका छौं । प्रादेशिक सरकारप्रति संघ सरकारको दोषपूर्ण दृष्टिको कारण अत्यावश्यक संघीय कानुन निर्माणमा अझै ढिलाइ भइरहेको छ ।

जसले गर्दा संविधानले प्रदेशका लागि सुनिश्चित गरेका अधिकार हस्तान्तरण बाधित हुँदैआएको छ भने सुरुवातमा संघ सरकारबाट हस्तान्तरण हुनुपर्ने संस्था तथा संयन्त्रमा संघको एकाधिकारले समस्या उत्पन्न भएको यहाँहरूलाई विदितै छ ।

प्रदेश सरकार संविधानको मर्म, भावना र व्यवस्थाअनुसार प्रदेशलाई दिनुपर्ने अधिकारका लागि हामी बहुपक्षीय दबाब सिर्जना गर्नुका अतिरिक्त कानुनी बाटोसमेत अवलम्बन गरेको यहाँहरूलाई भनिरहनुपर्ने अवस्था छैन ।

प्राकृतिक प्रकोपलगायतका आपतविपत्का बेला प्रदेश सरकारको उत्तरदायित्वपूर्ण भूमिका, कम जनशक्तिका बाबजुद पनि सेवाप्रवाहमा तत्परता र प्रदेशको गरिमा उच्च तुल्याउन भएका प्रयासकै प्रतिफल आज प्रदेश सरकारका लागि पूर्ण क्षमतामा काम गर्न सक्ने आधार तयार भएको छ ।

हामीले सदैव उच्च मनोबल र कर्मठताका साथ प्रादेशिक सत्ताको महत्तालाई सबल बनाउने तथा राष्ट्रिय एवम् अन्तराष्ट्रिय मञ्चमा यसको अपरिहार्यतालाई प्रमाणिक बनाउने काम गरेका छौं । यो फगत राजनीतिकर्मीहरूको व्यवस्थापन नभएर आधुनिक राजनीतिक प्रणालीको चेतनास्वर हो भन्ने कुरा छर्लंग्याउन प्रदेश सरकार सफल भएको मेरो बुझाइ छ ।

निश्चित नै सरकारसँग जनअपेक्षा अत्यधिक हुन्छ तर तिनलाई पुरा गर्ने स्रोतको अभाव रहिरहन्छ । निकटका सरकारहरूले पुरा गर्नुपर्ने जनचाहना तुलनात्मक रूपमा बढी नै हुन्छ ।

राजस्व बाँडफाँडबाट आउने रकम र सीमित मात्रामा प्राप्त हुने आन्तरिक राजस्वबाट सञ्चालित प्रदेश सरकारले आफ्नो पूर्वप्रतिबद्धता र संकल्पनाका कारण सबै क्षेत्रमा तात्कालीक एवम् दुरगामी महत्वका काम गरेको छ । तर, ती काम पर्याप्त छन् भन्ने दाबी म गर्न चाहँदिन । हो, हामीले सक्दो बढी काम गर्ने अभियानलाई भने तीव्रता दिन सकेका छौं भनी सन्तोष गर्नुपर्ने अवस्था छ ।

प्रदेशको नामकरण, स्थायी राजधानी निर्धारण, विभिन्न विश्वविद्यालय स्थापना, स्वास्थ्य क्षेत्रको स्तरोन्नति, खेती किसानी उन्नयनका लागि अनुदान, सेवाप्रवाह र सचेतनामूलक कार्यक्रम, पूर्वाधार विकासका लागि सडकलगायतका अनेकन् सञ्जाल विकास, वन विकास, नदी तथा तटबन्ध सुरक्षा प्रबन्धन, भूसंरक्षण, उद्योग तथा पर्यटन क्षेत्रका लागि बलिया आधार आरम्भ, मिडिया विकाससँगै महिला, उत्पीडनमा परेका सीमान्तकृत वर्ग र समुदायका लागि सामाजिक सुरक्षा तथा सहभागिता अभिवृद्धिसँग जोडिएका काम गर्न सकेका छौं । यसले सशक्त एवम् समुन्नत मधेस प्रदेशको मजबुत आधारशीला तयार गरेको छ ।

मधेस प्रदेश सरकारको हिस्सा भएर मैले धेरैथरीका प्रतिकूलताका बाबजुद पनि जनहितकारी काम गर्ने कोसिस गरेँ । कति गर्न सके भन्ने कुराको मूल्यांकन समयले अवश्य पनि गर्नेछ । तर, ती काम गरिरहँदा तपाईंहरूबाट प्राप्त सहयोग, सद्भाव र सुझाव भने मेरा लागि अमूल्य रह्यो ।

प्रदेशसभा सदस्यका रूपमा पनि अनुमोदन हुन सकिनँ । तर, राजनीतिक फाँटमा म उतिकै गम्भीरता र संवेदनशीलताका साथ क्रियाशील रहनेछु । पार्टी संगठनमा गर्नुपर्ने थुप्रा काम छन्, जसलाई म हिजो पुरा गर्न सकिनँ । तिनमा अब मेरो ध्यानकेन्द्रित हुनेछ । अर्थात् म तपाईंहरूकै माझमै रहनेछु ।
(मधेश सरकारका अर्थ मन्त्रीबाट विदाई लिँदा शैलेन्द्र साहले दिनुभएको अभिव्यक्ति)

तपाईको प्रतिक्रिया