मधेश आन्दोलनमा उठेको एक मधेश एक समग्र प्रदेशको माग पनि त्यतिकै हराएर गएको छ । नागरिकताको समस्या जस्ताको त्यस्तै छ । भाषा, राज्यपुनःसंरचना, अधिकार तथा शक्ति बाँडफाँटलगायतका विषय पनि हराएका छन् ।
मधेश विद्रोह सुरु भएको यो माघ ६ गते ठ्याक्कै १६ वर्ष हुन्छ । २०६३ को अन्तरिम संविधान जलाउँदा मधेशका नेता तथा कार्याकर्ता गिरफ्तार भएको विरोधमा मधेशमा आन्दोलन सुरु भएको थियो । सोही आन्दोलनको क्रममा २०६३ माघ ५ गते लहानमा गोली लागेर विद्यार्थी नेता रमेश महतोको निधन भएको थियो । रमेश महतोको निधनसँगै मधेशमा सुरु भएको आन्दोलन आगो जस्तै फैलियो ।
मधेशको २२ जिल्लामै फैलिएको त्यो आन्दोलन विभिन्न चरण हुँदै २०७२ सम्म चल्यो । विश्वमा सायदै अधिकारका लागि भएको यस्ता आन्दोलनहरु यति लामो चलेको होलान् । तर मधेशी जनताले आफ्नो साहस तथा उत्साहका साथ आन्दोलनलाई निरन्तरता दिँदै २०७२ सम्म पुर्याएको थियो ।
तर मधेशी नेता तथा दलको अकर्मण्यता तथा सत्ता लोभका कारण बिना उपलब्धी मधेश आन्दोलनको अन्त्य भयो । हुन त मधेश विद्रोहको सुत्रधार उपेन्द्र यादवले मधेश आन्दोलनबाट संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिकको सुनिश्चिता भएको दाबी गर्दै आउनु भएको छ ।
तर उहाँको दाबीमा कति सत्यता छ त्यो त अनुसन्धान र तथ्यले मात्र पुष्टि गर्छ । यद्यपी मधेश आन्दोलनको क्रममा उठेका यस्ता धेरै कुराहरु अझै पुरा भएको छैन । मधेश आन्दोलनमा उठेको एक मधेश एक समग्र प्रदेशको माग पनि त्यतिकै हराएर गएको छ । नागरिकताको समस्या जस्ताको त्यस्तै छ । भाषा, राज्यपुनःसंरचना, अधिकार तथा शक्ति बाँडफाँटलगायतका विषय पनि हराएका छन् । राज्यद्वारा उत्पीडित समुदायमाथिको दमन कायमै छ ।
तराई मधेशमा नौ वर्षसम्म लगातार आन्दोलन भयो । सैयौंले सहादत दिए । हजारौं घाइते भए । अर्बौंको धनजनको क्षति भयो । थुप्रैमाथि मुद्दा लाग्यो । अहिले पनि कतिपय आन्दोलनकारी जेलमा छन् । यतिका योगदान दिँदा पनि मधेश आन्दोलन संस्थागत भएको छैन । मधेश अहिले पनि कता कता रुमलिएका छन् ।
मधेशमा अन्योल छ । मधेश आन्दोलन हाँकेका योद्धाहरु हराएका छन् । कोही बिचलित भएका छन् । मधेश आन्दोलनको नाममा नव आगन्तुकहरुको रजगज मधेशमा छ । मधेश सरकारबाट पाएका सुविधा र राजनीतिक नियुक्तिहरुको लिस्ट हेरेपछि त्यहाँ कसको रजगत छ भनि पुष्टि हुन्छ । मधेश सरकार कसले कहाँबाट सञ्चालन गरिरहेको छ, त्यो लिस्ट हेर्दा पुष्टि हुन्छ ।
मधेश आन्दोलनमा सहादत दिएका सहिद परिवारका सदस्यहरुको बिचल्ली छ । तर मधेश आन्दोलनबाट जन्मेका दलहरु सरकार बनाउने, मन्त्री बन्ने, संसद बन्नेमा रुमलिएका छन् । भन्नका लागि त मधेश सरकारले मधेशी सहिद प्रतिष्ठान खोलेको छ । सहिद परिवारका सदस्यलाई जागिर दिएको भनेको छ तर व्यवहारमा देखिएको छैन । अहिले पनि कतिपय सहिद परिवारका सदस्यसँग नियुक्तिपत्र छन् तर उसलाई जागिर दिएको छैन । कतिपयलाई जागिर दिएको छ तर नेताको घरमा भाडा माझ्ने, चियाको ग्लास धुने जागिर दिएको छ । त्यो पनि कति दिनको हो, त्यसको ठेगान छैन ।
मधेश आन्दोलन हाँकेका योद्धाहरु हराएका छन् । कोही बिचलित भएका छन् । मधेश आन्दोलनको नाममा नव आगन्तुकहरुको रजगज मधेशमा छ ।
मधेश आन्दोलन हाँकेका दल तथा त्यसका नेताहरु सत्ता र आफ्नो पोजिशनका लागि दौरधुपमा लागेका छन् तर मधेश आन्दोलन संस्थागत हुनसकेको छैन । मधेश आन्दोलन संस्थागत नभएकै कारणले मधेशको समाजिक तथा राजनीतिक अवस्था दिनदिनै खस्किदै गइरहेको छ ।
मधेश आन्दोलन हाँकेका दलहरु मधेशी जनअधिकार फोरम (अहिलेको जसपा), तमलोपा र सद्भावना पार्टी (अहिलेको लोसपा)को अवस्था मधेशमा कस्तो छ त्यो सबैले थाह नै छ । मधेश पुनः पुरानै अवस्थामा पुगेको छ । त्यहाँ पुरानै दलको दबदबा सुरु भइसकेको छ । पहिलो पटक मधेश प्रदेशमा सरकार बन्दा मधेशवादी दल जो आन्दोलन गरेर आएका थिए त्यसको नेतृत्वमा सरकार बनेको थियो । तर अब त्यो अवस्था छैन ।
मधेशको नेतृत्व अर्काको हातमा गइसकेको छ । त्यसको मुख्य कारण मधेश आन्दोलन संस्थागत नहुनु हो । अहिले पनि केही बिग्रेको छैन । मधेश आन्दोलनका शक्तिहरु मिलेर मधेशका लागि काम गरे भने मधेश आन्दोलन संस्थागत हुनसक्छ । नभए अर्काको पछुवा भएर भागबण्डाका लागि राजनीतिक गर्नेबाहेक हातमा केही हुनेछैन ।


तपाईको प्रतिक्रिया