तीन दिने भ्रमणमा भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै
२७ माघ २०७९, शुक्रबार १४:४४
काठमाडौँ माघ २७ गते । भारतका विदेश सचिव विनय मोहन क्वात्राले तीन दिने नेपाल भ्रमणमा आउन लाग्नु भएको हो ।
परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा विदेश सचिव क्वात्रा फाल्गुण १ नेपाल आउन लाग्नु भएको हो ।
नेपालस्थित भारतीय दूतावासका अनुसार विदेश सचिव क्वात्रा फागुन १ गतेदेखि ३ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुहुनेछ । विदेश सचिवको कार्यभार सम्हालेपछि क्वात्राको यो पहिलो नेपाल भ्रमण हो ।
दुई देश बीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण हुन लागेको दूतावासले जनाएको छ ।
भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपाल बीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्नुहुनेछ ।
भारत र नेपालबीच सभ्यतागत एवम् ऐतिहासिक सम्बन्ध रहेको छ ।
यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटि परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको दूतावासले जनाएको छ ।
तपाईको प्रतिक्रिया